कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

लुम्बिनीबाट नेपालमा लगानीको आह्वान

मनोज पौडेल

लुम्बिनी — ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) सम्पन्न भएको छ । मणिग्रामस्थित टाइगर प्यालेसमा बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको कार्यक्रम शुक्रबार लुम्बिनीमा सम्पन्न भएको हो ।

लुम्बिनीबाट नेपालमा लगानीको आह्वान

परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन) ले संयुक्त रुपमा आयोजना गरेको कन्क्लेभ बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धि गर्ने साझा उद्देश्यसाथ समापन भएको हो ।

आउँदो वैशाखमा नेपालमा लगानी सम्मेलन हुँदै छ । त्यसको तयारीस्वरूप विदेशी प्रतिनिधिलाई नेपालमा लगानीको सम्भावना, ऐन–कानुन, उपलब्धि र फाइदाबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको एचसीसीएनका डिन विष्णु अग्रवालले बताए । ‘त्यसैले यो लगानी सम्मेलनअघिको प्रि–सम्मेलन पनि हो,’ उनले भने ।

युद्ध, सशस्त्र द्वन्द्व, भू–राजनीतिक प्रतिद्वन्द्व र ध्रुवीकरणले विश्व शान्ति र समृद्धिमा चुनौती थपिरहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा शुक्रबार समापन मन्तव्य दिने क्रममा रोस्टममै एक मिनेट विपश्यना गरेर उनले आफ्ना कुरा राखेका थिए । १९ देशका प्रतिनिधिबीच बोल्दै एउटा सानो विश्व नै यहाँ जम्मा भएको भान भइरहेको उनको भनाइ छ । कार्यक्रममा बोल्ने प्रायः वक्ताले बुद्ध जन्मस्थल लुम्बिनीबाट प्रवाहित शान्तिको सन्देशले विश्वमा भ्रातृत्व, सद्भाव, करुणा, मैत्री र सहयोग जाग्ने हुँदा यो सबैका लगि अपरिहार्य भएको र विश्वमा बढिरहेको द्वन्द्व एवं अशान्ति न्यूनीकरण गर्न विश्व शान्तिको मुहान लुम्बिनीबाट शान्तिको सन्देश लिनपर्नेमा जोड दिएका थिए । शान्तिबिना विकास असम्भव भएकाले शान्तिको सन्देश लुम्बिनीबाट ग्रहण गर्न सबैको आग्रह छ ।


कार्यक्रममा नेपालमा इन्डोनेसियाका गैरआवासीय राजदूत हेरुहरतान्तो सुवोलोले चारैतिर शान्ति र भाइचाराको आवश्यकता भइरहेका बेला लुम्बिनी कन्क्लेभ प्रभावकारी बनेको बताए । नेपालको पर्यटन प्रवर्द्धन र उद्योग व्यापार विस्तार र स्थापनाका लागि यो सम्मेलन सहयोगी सिद्ध भएको एचसीसीएनका डिन अग्रवालको भनाइ छ ।

आधुनिक विश्वलाई हिंसा, द्वन्द्व त्यागेर शान्तिको सन्देश लिन लुम्बिनी आउन लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले आग्रह गरे । सम्मेलनमा ग्रिस, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी छन् ।

विदेशी कूटनीतिक प्रतिनिधिलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वबारे वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले जानकारी दिए । विदेशी कूटनीतिज्ञले मायादेवी मन्दिर, रोयल थाई मोनास्ट्री र तारा फाउन्डेसन विहारको अवलोकन गरेका थिए । उनीहरूले साँझ मायादेवी मन्दिर नजिक बोधी वृक्षमा दीप प्रज्ज्वलन र वृक्षारोपण पनि गरे । कार्यक्रममा पर्यटन तथा संस्कृतिमन्त्री हितबहादुर तामाङ, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र पर्यटन क्षेत्रका विशेषज्ञ पनि सहभागी थिए ।

कूटनीतिक प्रतिनिधिले बुटवलदेखि केबलकारमा पाल्पाको वसन्तपुरमा रहेको कामाख्या मन्दिरको दर्शन गरेका थिए । लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन सरोकारवालाले आ–आफनो क्षेत्रबाट गर्न सक्ने सहयोगका विषयमा पनि छलफल गरिएको लुम्बिनी विकास कोष सदस्य–सचिव सानुराजा शाक्यले जनाए ।

प्रकाशित : चैत्र ९, २०८० २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?