कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

करिब ३५ अर्ब लागतको दक्षिण एसिया जोड्ने सडक आयोजना सुरु

काठमाडौँ — विश्व बैंकको २७ करोड ५० लाख डलर (करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैयाँ) सहयोगमा बन्ने पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) नेपालमा शुभारम्भ गरिएको छ  । यस आयोजनाले  नेपालमा छनोट गरिएका व्यापारिक करिडोरहरूमा यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न मद्दत पुग्नेछ ।

करिब ३५ अर्ब लागतको दक्षिण एसिया जोड्ने सडक आयोजना सुरु

आयोजनाअन्तर्गत पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । आयोजनाले उक्त सडकमा यात्रा समय ३० प्रतिशतले घटाउने दाबी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले संयूक्तरुपमा पानस बालेर आयोजनाको शुभारम्भ गरे ।

‘आयोजनाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने छ’ ज्वालाले भने ‘नेपालका विभिन्न प्रदेशबीच तथा छिमेकी मुलुकसँग यातायात र व्यापार आवद्धता थप सुदृढ गराई आर्थिक सम्भाव्यताको ढोका खुल्नेछ ।’

विशेष गरी महिला उद्यमी र व्यापारीहरूका लागि आर्थिक अवसरहरू वृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहित कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्ने लक्ष्य छ । बंगलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रहरूमा मालसामान र यात्रुबाहक सवारी साधनको सहज आवतजावत गर्नका लागि हस्ताक्षर गरेको यातायात सम्झौता सम्बन्धमा नेपालको पूर्वतयारी तथा कार्यान्वयनमा लागि पनि यस आयोजनाले सहयोग गर्ने बताइएको छ ।

यस आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् । नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यस आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रकाशित : जेष्ठ २८, २०८० १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?