कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनिटरी प्याडमा भन्सार छुट दिँदा झनै मूल्यवृद्धि

आयातकर्ता कम्पनीले १.५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तिरेपछि तयारी प्याड आयात गरिरहेका छन् तर उपभोक्ताले छुट अनुभव गर्न पाएका छैनन्
सीमा तामाङ

काठमाडौँ — सेनिटरी प्याडको ह्विस्पर (सुन्तला रङको प्याकेट) ब्रान्डको मासिक खरिदकर्ता हुन्, बगलामुखीकी प्रकृति न्यौपाने । हरेक पटक महिनावारी हुँदा उनलाई दुई प्याकेट प्याड आवश्यक पर्छ । गत वैशाखसम्म १४० रुपैयाँमा दुई प्याकेट अर्थात् १२ वटा सेनिटरी प्याड किनेकी उनले अहिले सोही मूल्यमा पाइनन् ।

सेनिटरी प्याडमा भन्सार छुट दिँदा झनै मूल्यवृद्धि

‘कुनै पसलमा १५० मै दुई प्याकेट पाइन्छ, कतै १५६ रुपैयाँ तिर्नुपर्छ,’ उनले भनिन्, ‘किराना पसलमा १६० रुपैयाँभन्दा कम मूल्यमा पाइँदैन ।’ चालु आर्थिक वर्ष सरकारले तयारी सेनिटरी प्याड आयातमा ९० प्रतिशत छुट दियो ।

सरकारको उक्त नीतिअनुसार उपभोक्ताले सस्तो मूल्यमै प्याड खरिद गर्न पाउनुपर्थ्यो । तर सरकारको उक्त नीति आयात गर्दा छुट दिनेमा मात्रै सीमित हुँदा उपभोक्ताले छुट पाएनन् । चालु आर्थिक वर्षको बजेटपछि आयातकर्ता कम्पनीले १.५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तिरेपछि तयारी प्याड मुलुक भित्र्याउन पाउँछन् । तर चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि उपभोक्ताले छुटको अनुभव गर्न पाएका छैनन् ।

ह्विस्पर ७० रुपैयाँ हुँदा धेरै बिक्री हुने भए पनि मूल्य बढेपछि खरिदकर्ता घटेको शंखमूलस्थित डायमन्ड फार्मेसीकी रोजिना सुवालले बताइन् । ‘सोफीको मूल्य पहिला प्रतिप्याकेट ६० रुपैयाँ थियो, अहिले ६५ रुपैयाँ पुगेको छ,’ उनले भनिन्, ‘सोफीकै एन्टी ब्याक्टेरियल पहिला ९५ रुपैयाँमा पाइन्थ्यो, अहिले १०७ रुपैयाँ पुगेको छ ।’ बर्सेनि जस्तै यस वर्ष पनि हरेक सेनिटरी प्याडको मूल्य बढेको उनले सुनाइन् ।

‘कम्पनीकै मान्छे व्यापार के कस्तो छ भनेर बुझ्न आएको थियो, मूल्य बढ्दा व्यापार भएको छैन्, भनिदिए,’ उनले भनिन्, ‘७० रुपैयाँमा पाइने ह्विस्परको मूल्य अहिले ७८ पुगेको छ ।’ प्रतिप्याकेट १४५ रुपैयाँमा बिक्री भइरहेको स्टेफ्री अल नाइटको मूल्य १५२ रुपैयाँ पुगेको छ । स्टेफ्री नर्मल ६० रुपैयाँबाट ६५ रुपैयाँमा बिक्री गरिरहेको उनले जनाइन् । अहिले स्वदेशी उत्पादन प्याडिलक्सको कारोबार बढी हुने गरेको उनले सुनाइन् । पहिला ६५ रुपैयाँमा पाइने प्याडिलक्सको मूल्य पनि ७० रुपैयाँ पुगेको छ ।

करिब ६ महिनादेखि प्याडको मूल्य बढेर आएको काठमान्डु सर्जिकल सप्लायर्सकी सञ्चालक सीता केसी बताउँछिन् । ‘होलसेल पसललाई प्रतिप्याकेट न्यूनतम १ देखि ३ रुपैयाँसम्म मार्जिन हुन्छ,’ उनले भनिन्, ‘अहिले आयातकर्ताले नै मूल्य बढाएर ल्यााएका छन् ।’ आयातित प्याडमा ३ देखि १२ रुपैयाँसम्म वृद्धि भएको उनको भनाइ छ । आयातकर्ताले नै मूल्य बढाएकाले खुद्रामा मात्र नभई होलसेल पसलमा समेत मूल्य बढेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमै कच्चापदार्थको मूल्य बढेकाले आयातित प्याडको समेत मूल्य वृद्धि गर्नुपरेको एनिटाइम हाइजिन कम्पनीका म्यानेजिङ डाइरेक्टर कृष्णराज पौडेलले बताए । ‘कोभिडपछि धेरै कच्चा पदार्थको मूल्य बढ्यो,’ उनले भने, ‘प्याडमा प्रयोग हुने कच्चा पदार्थमा पनि त्यसको मूल्य भर पर्छ ।’ अल्ट्रा जेलमा आधारित सेनिटरी प्याड र कटनमा आधारित प्याडको मूल्य फरक पर्ने उनले जानकारी दिए ।

‘अल्ट्रा जेलमा आधारित सेनिटरी प्याडको कच्चापदार्थ नै महँगो छ,’ उनले भने, ‘त्यसैले बजार मूल्य बढेको हो, कम मूल्यमा ल्याएर एमआरपी मूल्य हामीले बढाउन्नौं ।’ सप्लायर्सले दिने मूल्यमा आधारित रही सरकारको नियमअनुसार मार्जिन सेट गरेर नै एमआरपी मूल्य तोकेर बजारमा सामान पठाउने गरिएको उनले जनाए ।

भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकालगायत मुलुकबाट मुलुकमा सेनिटरी प्याड आयात हुन्छ । स्वास्थ्यसँग जोडिएको अत्यावश्यक सामग्री भएकाले विलासिताका सामग्री मानेर लगाइएको कर खारेज गर्न माग गर्दै गत असोजमा महिलाले आन्दोलन गरेका थिए ।

‘रातो कर माफ गर’ भन्ने ब्यानरमा भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले भन्सार महसुलको ९० प्रतिशत छुट दिने व्यवस्था गरेको दाबी गरेको थियो । तर उपभोक्ताले उपभोग गर्न सकेका छैनन् । बजेटमा छुट दिए पनि उपभोक्ताका लागि कार्यान्वयन नभएको ‘रातो कर माफ गर’ अभियानकी अभियन्ता कृष्पि रमन जैसवालले बताइन् । ‘ह्विस्पर ७५ रुपैयाँमा किनहेका छौं, हामीले पनि भोगिरहेका हौं,’ उनले भनिन् ।

ह्विस्पर, स्टेफ्री र सोफी नेपालमा धेरै बिक्री हुने सेनिटरी प्याड हुन् । नाइन, कम्फी, केयरफ्रीलगायत ब्रान्डका सेनिटरी प्याड पनि नेपालमा पाइन्छन् । चालु आर्थिक वर्ष साउनदेखि वैशाखसम्म ७२ करोड ४३ लाख ४६ हजार रुपैयाँ बराबरको ७ करोड ८३ लाख ७७ हजार ८६९ वटा प्याड भित्रिएको छ ।

त्यसबापत सरकारले १० करोड ८४ लाख २८ हजार रुपैयाँ राजस्व उठाएको छ । चालु आर्थिक वर्षको १० महिनामा ४३ लाख ४ हजार रुपैयाँ बराबरको ९२ हजार १३० वटा टेम्पोन र मिन्स्ट्रुअल कप पनि आयात गरिएको छ । सरकारले ११ लाख ३८ हजार रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्षमा १ अर्ब ११ करोड १३ लाख १४ हजार रुपैयाँ बराबरको १२ करोड ९१ लाख ९४ हजार ७२१ वटा प्याड आयात भएको थियो । टेम्पोन र मिन्स्ट्रुअल कप ३८ लाख ९५ हजार रुपैयाँ बराबरको ६ हजार २०४ वटा आयात भएको थियो ।

यसबापत सरकारले ३० करोड ९० लाख २५ हजार रुपैयाँ राजस्व उठाएको थियो । सेनिटरी प्याडको मात्रै छुट्टै अनुगमन नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए । ‘मूल्य बढ्यो भन्ने खालको उजुरी पनि आएकौ छैन,’ उनले भने, ‘लागत मूल्य र त्यसमा कानुनबमोजिम लिन पाउने मूल्य राखेर मात्रै बिक्री वितरण गर्न पाइन्छ । त्यसबाहेक अन्यथा भए अनुगमन टोलीले कारबाही गर्छ ।’

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० करोड ७९ लाख २६ हजार रुपैयाँ बराबरको ३ करोड ८१ लाख ६ हजार १४१ वटा प्याड निर्यात भएको विभागको तथ्यांक छ । जब कि गत आर्थिक वर्ष ३ करोड ५१ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ३० हजार २६४ वटा प्याड निर्यात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष १ करोड ६१ लाख ४९ हजार रुपैयाँ बराबरको ८४ हजार ९७९ किलो र १ लाख ७७ हजार २ सय वटा प्याड निर्यात गरिएको थियो । भारतको बिहारलगायत क्षेत्रमा स्वदेशी प्याड निर्यात हुन थालेको सेनिटरी प्याड उत्पादक संघका अध्यक्ष विश्व थापाले बताए । नेपालको सेनिटरी प्याड उत्पादन वार्षिक ३० करोड थान छ । स्वदेशी उद्योगको उत्पादन क्षमता नै ९० करोड थान छ । नेपाल प्याडमा आत्मनिर्भर हुन सक्ने अवस्थामा भएकाले आयातितलाई निरुत्साहित गर्दै स्वदेशी उद्योगलाई प्रोत्साहनको आवश्यकता रहेको उद्यमीहरूको भनाइ छ । नेपालमा ६ अर्ब रुपैयाँ लगानीका सानाठूला गरी ४० वटा उद्योग छन् ।

प्रकाशित : जेष्ठ १३, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?