कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम बन्द हुँदै रौतहटका इँटाभट्टा

शिव पुरी

रौतहट — इँटा बिक्री हुन छाडेपछि रौतहटका धेरैजसो उद्योग बन्द हुन थालेका छन् । महँगिदै गएको कोइलाले इँटाको लागत नै बढ्न गएको र उत्पादित इँटा समेत बिक्री हुन छाडेपछि धेरैले यो सिजनमा भट्टा संचालन गरेनन् । लागत मूल्यभन्दा कम दरमा इँटा बेच्न खोज्दा समेत ग्राहक पाउन छाडेपछि उद्योग संकटमा परेको व्यवसायी बताउँछन् । 

धमाधम बन्द हुँदै रौतहटका इँटाभट्टा

राजपुर नगरपालिकास्थित भगवान चोकमा रहेको बेस्ट इँटा उद्योग यसपालिबाट बन्द नै भएको छ । जिल्लाको सबैभन्दा ठूलो यो भट्टा आर्थिक समस्याका कारण बन्द भएको हो । उद्योग संचालक शेख अमिरुल्लाहले आर्थिक संकट गहिरिँदै गएपछि बाध्य भएर भट्टा बन्द गर्नुपरेको बताए ।

‘समयमा इँटा बिक्री हुँदैन । कोइलाको मूल्य आकासिएर खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘भट्टा संचालन गर्न नसक्ने अवस्थाकै कारण बन्द गर्नुपरेको हो ।’ अमिरुल्लाह मात्र होइन जिल्लामा रहेको १ सय ६३ वटा भट्टामध्ये यो पटकको सिजनमा झण्डै आधाजसो बन्द भए । कोइलाकै मूल्य प्रतिकेजी ४१ देखि ४६ रुपैयाँसम्म पर्ने गरेको छ । हाल कोइलाको मूल्य हृवात्तै बढेको इट्टा उद्योग संघ रौतहटका सचिव मोहन साहले बताए । ‘उद्योग संचालन गर्नेहरु तनावमा छन् । ऋण लिएर भट्टा संचालन गरे पनि भनेको बेला इँटा बिक्री हुँदैन’ उनले भने, ‘कोइलाको मूल्य बढे पनि इँटाको मूल्य उत्ति नै छ । यस्तो अवस्थामा उद्योग बन्द गर्नुको विकल्प छैन ।’

सचिव साहका अनुसार आर्थिक समस्याका कारण धेरैजसो संचालकहरुले केही दिन मात्रै चलाएर उद्योग बन्द गरेका छन् । कोइलाको मूल्य बढ्नु, त्यो पनि बेलामा उपलब्ध नहुनु, माग घट्नु, लागतभन्दा कम मूल्यमा इँटा बिक्री गर्नुपर्ने स्थिति आउनु र उधारोमा बिक्री गर्नुपर्ने लगायतका समस्या यो क्षेत्रमा रहेको उनले बताए । संघका अनुसार देशभर १ हजार २ सय ३० वटा इँटाभट्टा छन् । तीमध्ये यस पटक ६ सयले मात्र आंशिक रुपमा चलाए । मधेश प्रदेशमा मात्रै ५ सयको हाराहारीमा भट्टा छन् । आर्थिक समस्याका कारण भट्टा संचालकहरु मारमा परेको भन्दै उनले यतिबेला सरकारले सहजता प्रदान गर्नुपर्ने बताए ।

मूल्य अभिवृद्धिकर (भ्याट) र आयकरको हर्जाना सरकारले मिनाहा गर्नुपर्ने माग संघले अघि सारेको छ । भट्टा संचालक समेत रहेका साहका अनुसार एउटा स्तरीय इँटा उत्पादन गर्न १३ रुपैयाँ लागत लाग्छ । तर बजारमा ११/१२ रुपैयाँभन्दा बढीमा बिक्री हुँदैन । तीन वर्ष अघिसम्म जिल्लाबाट दैनिक २ सय बढी ट्रकमा लोड भएर काठमाडौं, पोखरा, चितवन लगायतको शहरमा इँटा जान्थ्यो । अहिले मुस्किलले २०/२५ ट्रक लोड हुने गरेको संघले जनाएको छ । जिल्लामा संचालनमा रहेका भट्टामा ५ हजार बढी मजदुर कार्यरत थिए । भट्टा बन्द भएपछि मजदूर समेत प्रभावित भएका छन् । उनीहरु अहिले धमाधम घर फर्कन बाध्य भएका छन् ।

गुजरा– ६ बक्तौरास्थित गिरी इँटा उद्योगका संचालक पवन गिरीले भट्टा संचालन गर्दा घाटा ब्यहोर्न परेकोले आफू ऋणमा डुबेको कथा सुनाए । ‘पहिला नगदमै इँटा बिक्री हुन्थ्यो, अहिले उधारोमा खोज्छन्, त्यो पनि सस्तोमा,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने अर्को वर्ष जिल्लामा ५/७ वटा मात्र भट्टा संचालनमा रहन्छ ।’ बर्खाको बेला पानीले काँचो इँटा भिजेर क्षति झेल्दै आएका भट्टा संचालकहरु यस पटक आर्थिक समस्यामा परेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?