कमलविनायक - नगरकोट सडकको ठेक्का तोड्ने तयारी

८ पटकसम्म म्याद थप्दा पनि काम भएन
कान्तिपुर संवाददाता

काठमाडौँ — आठ पटक म्याद थप गर्दा पनि काममा प्रगति नभएपछि कमलविनायक–नगरकोट ठेक्का तोड्ने तयारी अघि बढाइएको छ । भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले सोमबार १४ दिने सूचना निकाल्दै यो अवधिमा प्रगति नभए ठेक्का तोडिने उल्लेख गरेको छ ।

यसको ठेक्का प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीका रुपमा चिनिएका शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भारतीय कम्पनी आरामाली इन्फ्रा पावर (एआईपीएल)सँग संयूक्त रुपमा लिएको हो । १५.६६ किलोमिटर लामो कमलविनायक–नगरकोट सडकखण्ड मध्ये करिब १ किलोमिटर कालोपत्र गर्न बाँकी छ । सडक स्तरोन्नति सुरु भएको आठ वर्ष भइसकेको छ । २०७१ जेठ २२ मा पहिलो सम्झौता भएकामा आठ पटक म्याद थप भइसकेको छ । सम्झौताअनुसार काम गरिएको भए २०७३ असार ३ मा नगरकोट सडक पूरा भइसक्थ्यो । दुई वर्षमा सक्ने भनिएको सडकको काम आठ वर्षमा ९२ प्रतिशत मात्र भएको छ ।

निर्माण ढिलाइ भएसँगै ठेक्काको बजेट बढिरहेको छ । सुरुमा ३१ करोड ५२ लाख रुपैयाँमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिले संशोधन गरेर ३५ करोड ८७ लाख रुपैयाँ पुर्‍याइएको छ । ठेकेदार कम्पनीले २९ करोड ७७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । ठेकेदारले सडक अलपत्र पारेपछि भक्तपुर–नगरकोटका सर्वसाधारण धेरै पटक मन्त्रालय धाए, पटक–पटक सडकमै उत्रिएर आन्दोलन गरे । स्थानीय जनप्रतिनिधिदेखि आफ्नो क्षेत्रका सांसद भेटे , मन्त्रीको बाटो पनि छेके । विरोधस्वरूप सडकमै वडा कार्यालय चलाए । ठेकेदारको फोटोसहितको ब्यानर बनाएर सार्वजनिक यातायातदेखि चोकचौतारासम्म टाँसे । तर ठेकेदार टसको मस भएनन्, बरु ‘काम गर्छु’ भन्दै ढाँटिरहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनासाथ प्रायले यही सडकको निरीक्षण गर्छन् । तर काम सकाउनमा ठेकेदारलाई ताकेता गर्न सक्दैनन् । केही समय अघि यो सडकको अनुगमन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक चाँडो सक्न ठेकेदारलाई निर्देशन दिएका थिए । ‘काममा अझै प्रगति देखिएन,’ आयोजना प्रमुख गौतम श्रेष्ठले भने, ‘त्यसैले ठेक्का अन्त्य किन नगर्ने भनेर निर्माण व्यवसायीका नाममा जरुरी सूचना निकालेका हौं, यो अवधिमा काम नसकिए ठेक्का तोडिने छ ।’

प्रकाशित : चैत्र १३, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

पक्राउ परेकाको रिहाइको मागसहित भूमिहीन प्रदर्शनमा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सुकुम्बासीहरुलाई संविधान र कानुन विपरीत उठिबास लगाइएको भन्दै भूमिहीनहरूले सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म र्‍यालीसहित विरोध प्रर्दशन गरिएको छ ।

आफूहरुलाई उठिबास लगाउने काममा काठमाडौं महानगरपालिका लागेपछि त्यसको विरोधमा प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए । उनले संविधान, कानुन विपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेय बालेन्द्र साहले गरिरहे थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितका नारा लगाएका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×