कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजिटल बजारीकरण खोज्दै मुस्ताङका महिला उद्यमी

फेसबुक र टिकटकमा अपलोड गर्नेबाहेक डिजिटल बजारीकरणको ज्ञान नहुँदा आफ्ना उत्पादन पुर्‍याउन नसकेकामा चिन्ता
दीपक परियार

मुस्ताङ — स्याउ वा खुर्पानीको जुस होस् वा सुकुटी । फापरको पिठो वा सिस्नुको धूलो । आफूले उत्पादन गरेका सामग्रीको तस्बिर मुस्ताङकी कमला लालचन फेसबुकमा अपलोड गरिरहन्छिन् । घरपझोङ गाउँपालिकाको मार्फामा रहेको भुग्मोर साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष उनले आफ्ना सदस्यलाई पनि सामाजिक सञ्जालमार्फत उत्पादनको बजारीकरणमा हौस्याउँछिन् । उनले मार्फामा स्याउ र खुर्पानीको जुस उत्पादन गर्ने कारखाना चलाएकी छन् ।

डिजिटल बजारीकरण खोज्दै मुस्ताङका महिला उद्यमी

सहकारीमा खेती किसानी, पशुपालन गर्ने किसान सदस्य छन् । धेरैजसो महिला छन् । पाँचदेखि १० जनाको समूह बनाएर स्याउ र खुर्पानीको सुकुटी, जुस, क्यान्डी, ब्रान्डी उत्पादन गरिरहेका छन् । केही महिलाले एक्लाएक्लै पनि उत्पादन गर्छन् ।

फेसबुक र टिकटकमा अपलोड गर्नेबाहेक डिजिटल बजारीकरणको ज्ञान नहुँदा मुस्ताङबाहेक अन्यत्र आफ्ना उत्पादन पुर्‍याउन नसकेकामा महिला उद्यमी चिन्तित छन् । ‘हाम्रो समूहका दिदीबहिनीले जुसको फोटो खिच्ने, फेसबुकमा अपलोड गरेर सेयर गर्नेसम्मका पहिलो चरणका काम जानेका छन्,’ उनले भनिन्, ‘डिजिटल माध्यमबाट देश विदेशसम्म आफ्नो उत्पादन कसरी पुर्‍याउने भन्ने ज्ञान अझै छैन ।’

गाउँपालिकाकै ठिनी गाउँमा रहेको थकाली सामुदायिक होमस्टेको आफ्नै वेबसाइट छ । ‘पहिला भिजिटिङ कार्ड र ब्रोसर मात्रै थियो,’ होमस्टे सञ्चालक जुमा थकालीले भनिन्, ‘अहिले वेबसाइट र फेसबुक पेज हेरेर पाहुना आउँछन् ।’ गाउँ वरपरका सुन्दर दृश्य, परिकार र संस्कृति चिनाउने फोटो/भिडियो फेसबुक पेज र टिकटकमा अपलोड हुन्छ । ठिनीमा कुछब तेरङा महिला लघु उद्यम समूहले फापरको पिठोको झिलिंगा उत्पादन गर्छ ।


मुस्ताङका लागि यो उत्पादन नयाँ हो । समूहमा १४ जना छन् । गाउँपालिकाले ९० प्रतिशत अनुदानमा चारवटा झिलिंगा बनाउने मेसिन दिएको छ । यसअघि गाउँपालिकाले असारमा महिलालाई झिलिंगा बनाउने तालिम दिएको थियो । गाउँकै फलफूल संकलन केन्द्रको भवन भाडामा लिएर झिलिंगा बनाउने मेसिन राखिएको छ । एक पाथी फापरको पिठोबाट १ सय २० वटा झिलिंगा बन्ने समूहकी सचिव स्यामु थकालीले बताइन् । अहिले मुस्ताङको जोमसोम र मार्फा वरिपरिका पसलबाट झिलिंगा बिक्रीवितरण हुन्छ । चाडबाडमा अलि धेरै मात्रामा बिक्री हुने उनले जनाइन् । ‘जतिले चाख्नुभएको छ, अर्ग्यानिक भएकाले मिठो मान्नुभएको छ,’ उनले भनिन्, ‘तर हामीले अहिले बजारीकरणमा ध्यान दिन सकेका छैनौं । उत्पादन बढाएर बाहिर पनि पुर्‍याउने सोच छ ।’

अहिले लगानीकै क्रममा भएकाले बचत थोरै मात्रै भएको समूहकी सदस्य मीना थकाली बताउँछिन् । जोमसोममा भएको डिजिटल मार्केटिङ तालिममा बिहीबार उनले पसल–पसलमा गएर आफ्नो उत्पादन बिक्री गर्दा समयसमेत धेरै खर्च भएको अनुभव उनले सुनाइन् । गण्डकीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घरपझोङ गाउँपालिकाको सहयोगमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेबान) ले गरेको तालिममा मुस्ताङका उद्यमीले डिजिटल बजारीकरणमा चासो दिए ।


मुस्ताङका महिला उद्यमीले उत्पादन गरेको स्याउ र खुर्पानीको जुस । तस्बिर : दीपक परियार/कान्तिपुर

गाउँपालिका उपाध्यक्ष जमुना थापा, ठिनीका स्थानीय वित्ती थकाली र लक्ष्मी थकालीको समूहले स्याउको माडा उत्पादन गर्छ । गत मंसिरबाट उत्पादन थालेको उक्त समूहले सबै स्टक बिक्री गरिसकेको छ । ‘पहिला परीक्षण गरौं कस्तो हुन्छ भनेर थोरै उत्पादन गरियो, भएजति सबै बिक्री भयो,’ समूहकी सदस्य वित्ती थकालीले भनिन्, ‘अब स्याउको अर्को सिजनमा धेरै उत्पादन गर्ने र पोखरा, काठमाडौंसम्म पुर्‍याउने योजना छ ।’

स्याउको माडा जोमसोममै खोसाखोस भएपछि आफूहरू उत्साहित भएको उनले सुनाइन् । गाउँमै बसेर आफ्नो उत्पादन बजारसम्म पुर्‍याउने उपायबारे उनले तालिममा राय मागिन् । पोखरास्थित आँखीझ्याल टेक्नोलोजिजका इन्जिनियर उज्ज्वल पौडेलले सामाजिक सञ्जालमा फोटो/भिडियो अपलोड गरेर मात्रै डिजिटल बजारीकरण नहुने बताए । बजारको माग र सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रवृत्ति हेरेर आफ्नो उत्पादनबारे सिर्जनात्मक सामग्री तयार गर्न उनले सुझाए । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पर्यटन प्रवर्द्धन र उत्पादनको बजारीकरण, सर्च इन्जिन, इमेलको माध्यमबाट डिजिटल बजारीकरण, अनलाइनमार्फत उत्पादनको बिक्रीवितरणलगायत प्राविधिक विषयमा उनले तालिमका सहभागीलाई जानकारी गराए ।

मुस्ताङका महिला उद्यमीको उत्पादनको ‘ब्रान्डिङ’ र बजारीकरणमा डिजिटल मार्केटिङ तालिम सहयोगी हुने टेबानकी अध्यक्ष कमला गिरीको भनाइ छ । ‘यहाँ धेरैजसो व्यवसायी र उद्यमी महिला नै छन्,’ उनले भनिन्, ‘मुस्ताङ घुम्न आउने पर्यटकले मात्रै यहाँको उत्पादन खरिद गर्ने परिपाटी छ । यसले बजारलाई सानो बनाउँछ । डिजिटल मार्केटिङ अपनाउन सक्दा थप बजार विस्तार हुन्छ ।’

मुस्ताङका होटल प्रायः महिलाले नै सञ्चालन गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । बेरोजगार महिलालाई लघु उद्यमसँग जोड्न विभिन्न तालिम गाउँपालिकाले प्रदान गरिरहेको उनले सुनाए ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?