कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठ महिनामै राष्ट्रिय प्रसारणमा ३५१ मेगावाट बिजुली थपियो

५ कम्पनीको १२० मेगावाट परीक्षण उत्पादन
यस वर्षमा अझै २ सय मेगावाट जोडिन्छ : कार्यकारी निर्देशक घिसिङ
कमल धिताल

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा गत साउनदेखि फागुनसम्म ३५१ मेगावाट विद्युत् थप भएको छ । प्रसारण लाइनमा जोडिएका १५ जलविद्युत् आयोजनाको २३१.०७ मेगावाट व्यावसायिक उत्पादन र कारोबारसमेत सुरु भइसकेको छ ।

आठ महिनामै राष्ट्रिय प्रसारणमा ३५१ मेगावाट बिजुली थपियो

यसबाहेक ५ कम्पनीको १२० मेगावाट पनि जोडिएको हो । तर व्यावसायिक कारोबार भने थालेका छैनन् । परीक्षण अवधिको विद्युत् प्राधिकरणले निःशुल्क लिइरहेको छ । यससँगै हाल मुलुकमा २ हजार ५ सय ४४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

जलविद्युत्, सोलार र बगास (उखुको बोक्रा) को उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार प्राधिकरणको सोलार परियोजनाबाट २५ र निजी क्षेत्रको ४३ मेगावाट तथा बगास (उखुको बोक्रा) बाट ६ मेगावाटसहित कुल २५ सय ४४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । राष्ट्रिय प्रसारण लाइनमा व्यावसायिक उत्पादन सुरु गर्नेमा सबैभन्दा ठूलो ३८ दशमलव ४६ मेगावाट क्षमताको माथिल्लो कलंगागाड जलविद्युत् आयोजना छ । यस आवमा व्यावसायिक उत्पादन गर्ने कम्पनीमा आवको सुरुवातमा अपी पावर कम्पनीको सिमरा सोलार आयोजनाको १ मेगावाट छ । पछिल्लोमा यसै महिना मथिल्लो कलंगागाड पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएका पाँच आयोजनाले १२०.१७ मेगावाट परीक्षण उत्पादन गरिरहेका छन्, जसमा सबैभन्दा धेरै हाइड्रो भेन्चर प्रालिको सोलुखोला आयोजनाको ८६ मेगावाट छ । यस्तै, विकास हाइड्रोपावर कम्पनीको ४ दशमलव ५५ मेगावाट, मायाखोला हाइड्रोपावर कम्पनीको १४.९ मेगावाट, मेन्छियम हाइड्रोपावर कम्पनीको अपर पिलुवा खोला–२ आयोजनाको ४ दशमलव ७२ मेगावाट तथा माकरीगाड हाइड्रोपावर प्रालिको माकरीगाड १ मेगावाट परीक्षण उत्पादनमा छ । अबको एक सातामा यी आयोजनाले पनि व्यावसायिक उत्पादन सुरु गर्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा हाल उत्पादनको अन्तिम तयारीमा रहेका आयोजनाको गरी थप २०० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ५५ मेगावाटको लिखु ए, ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् यसै आवमा थप हुनेछ । यस्तै उत्पादनको अन्तिम तयारीमा रहेका रुकुमगार्ड आयोजनाको ५ मेगावाट, कास्कीको सुपरमादी ४४ मेगावाट तथा लमजुङमा रहेको सुपरदोर्दी आयोजनाको ५४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ती आयोजनाको उत्पादन अबको करिब ३ देखि ४ महिनामा सुरु हुने प्राधिकरणको भनाइ छ ।

यस आर्थिक वर्षमा सोलारबाट राष्ट्रिय प्रसारण लाइनमा १० मेगावाट बिजुली थपिएको छ । व्यावसायिक उत्पादनतर्फ सिमरा सोलारको १ मेगावाट, ग्रिड कनेक्टेड सोलार आयोजनाको ५ मेगावाट तथा सोम राधाकृष्ण सोलारको ४ मेगावाट जोडिएको हो । त्यसैगरी नवलपरासीमा २ मेगावाट सौय ऊर्जाले परीक्षण उत्पादन सुरु गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?