कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमान दुर्घटनापछि यात्रु घटेकाले छानबिन छिटो टुंग्याउन माग

हवाई यात्रा असुरक्षित छ भन्ने सन्देश गएकामा पर्यटन व्यवसायी चिन्तित
दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ सम्म उडान हुने गरेकामा घटेर २६ मा सीमित
विदेश जाने, पोखरा घुम्न आउने र कामले काठमाडौं–पोखरा आवतजावत गर्ने यात्रुले सडकमार्ग रोज्न थाले
दीपक परियार

पोखरा — नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा आन्तरिक प्रस्थान द्वारअघि उतिसारो भीड छैन । फाट्टफुट्ट विदेशी पर्यटक देखिन्छन् । विमानस्थलको पार्किङमा यात्रु कुर्ने ट्याक्सीको संख्या घटेको छ । ट्याक्सी चालक निराश देखिन्छन् । विमानस्थलका कर्मचारीको अनुहारमा उद्घाटनका बेला जस्तो चमक छैन । माघ १ मा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनापछिको परिदृश्य हो यो । यति बेला पोखराबाट हवाई यात्रा गर्नेको संख्या घटेको छ ।

विमान दुर्घटनापछि यात्रु घटेकाले छानबिन छिटो टुंग्याउन माग

विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जनाइन् । दुर्घटनापछि घटेर २६ सम्म झरेको छ । पुस २९ मा ४८ उडान हुँदा पोखरामा १ हजार ४ सय यात्रु भित्रिए भने यहाँबाट १ हजार ३ सय २९ यात्रु बाहिरिए । माघ ९ मा २६ उडान हुँदा पोखरामा ४ सय ६६ यात्रु भित्रिए भने ५ सय ६१ बाहिरिए ।

‘विमानस्थल सुरु हुँदा सबैतिर उत्साह थियो,’ सुवेदीले भनिन्, ‘दुर्घटनापछि हवाई यात्रा गर्नेको संख्या घटेको छ । तर क्रमिक रूपमा बढ्दै जानेमा हामी विश्वस्त छौं ।’ गत वर्षको जनवरीमा दैनिक औसत ५० वटासम्म उडान भएको विमानस्थलको तथ्यांक छ । अघिल्लो वर्ष यही समयको तुलनामा अहिले आधा कटौती भएको हो । पोखराबाट हाल काठमाडौं, भैरहवा, भरतपुर, नेपालगन्ज र जोमसोम उडान हुँदै आएको छ । पोखरा–जोमसोम उडान पुरानै विमानस्थलबाट हुन्छ ।

पुस–माघ विदेशी पर्यटक कमै मात्रामा आउने समय हो । पछिल्लो समय आन्तरिक पर्यटकले यो मौसममा पोखराको पर्यटनलाई चलायमान बनाउँदै आएका छन् । विमानस्थल सुरु भएपछि वायुसेवा कम्पनीले काठमाडौं–पोखरामा उडान थपे । नयाँ वायुसेवा कम्पनीले उडान भर्न सुरु गरे । हवाई यात्रुको संख्या वृद्धि भयो । तर विमान दुर्घटनापछि प्रत्यक्ष मार पोखराको पर्यटनले खेपेको पर्यटन व्यवसायी बताउँछन् । बिस्तारै नेपालको आकाश सुरक्षित रहेको सन्देश गइरहेका बेला माघ १ को जहाज दुर्घटनाले थप अप्ठ्यारो बनाएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको भनाइ छ । ‘अहिले यसै पनि अफसिजन हो । पहिला यो बेला लेकसाइड सुनसानै हुन्थ्यो । पछि बिस्तारै आन्तरिक पर्यटकले भरथेग गरे,’ उनले भने, ‘अहिले जहाज दुर्घटनापछि केही मात्रामा होटलका बुकिङ रद्द हुन थालेका छन् ।’ बाहिरबाट हेर्दा सामान्य अवस्थामा जहाज दुर्घटना भएकाले पोखराको आकाशलाई असुरक्षित भन्न नमिल्ने उनको तर्क छ ।

पोखराको सराङकोटमा दृश्यावलोकनका लागि पुगेका आन्तरिक पर्यटक ।

ट्याक्सी चालक रणबहादुर हितान पुस १७ देखि नै विमानस्थलबाट यात्रु ओसारपसार गरिरहेका छन् । पुस ३० सम्म यात्रुको चापले उनी उत्साहित थिए । ‘८० भन्दा बढी ट्याक्सी क्युमा हुन्थे,’ उनले भने, ‘एउटा ट्याक्सीले दुई/तीनपल्टसम्म पालो पाउँथे । दिनमा हजार, पन्ध्र सय बचत हुन्थ्यो । अहिले त्यस्तो छैन ।’ पार्किङमा अहिले ६० हाराहारीमा मात्रै ट्याक्सी छन् । हवाईजहाजबाट आउने यात्रुको संख्या घटेपछि ती ट्याक्सीले दिनमा मुस्किलले एकपल्ट पालो पाउने गरेका छन् । ‘अहिले दुर्घटनापछि जनमानसमा त्रास भएर होला, यात्रु कम छन्,’ उनले भने, ‘समय र परिस्थितिसँग चल्नुपर्छ । अहिले नभए पनि बिस्तारै बढ्छन् भन्ने आशामा छौं ।’

दुर्घटनापछि पर्यटक बस, जिप, कारमा यात्रुको चाप बढी रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले जनाए । ‘विदेश जाने, पोखरा घुम्न आउने र कामले काठमाडौं–पोखरा आवतजावत गर्ने यात्रुको संख्यामा वृद्धि हुँदै गएको थियो,’ उनले भने, ‘अहिले ती यात्रुले सडकमार्ग रोजेका छन् ।’ नेपाली यात्रुले हवाईजहाज चढ्न अलि बढी डराए पनि विदेशीले भने सामान्य रूपमा लिएको उनले बताए ।

‘अहिले विदेशी नै कम हुने सिजन हो । आउन खोज्नेले पनि दुर्घटना भइहाल्छ नि भन्ने हिसाबले लिएका छन्,’ उनले भने, ‘बरु हामीलाई दुर्घटनाको कारण के हो भनेर बारम्बार इन्क्वायरी आउँछ । हामीले यही कारण भने भन्न सकिरहेका छैनौं ।’ छानबिन समितिले छिटो प्रतिवेदन सार्वजनिक गरे नेपाल आउन चाहने विदेशी पर्यटकलाई त्यसैबमोजिम ब्रिफिङ गर्न सहज हुने उनको भनाइ छ ।

‘त्यस दिन मौसम पनि राम्रै थियो । भूगोलको कारण पनि भन्न मिल्ने अवस्था थिएन,’ उनले भने, ‘प्राविधिक त्रुटि हो कि मानवीय कमजोरी, छानबिनबाट स्पष्ट होस् भन्ने हाम्रो माग छ ।’ दुर्घटनालाई भवितव्यका रूपमा लिनुपर्नेमा पोखराको आकाश नै सुरक्षित नरहेको सन्देश प्रवाह हुनु विडम्बनापूर्ण रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । ‘अन्यत्र पनि जहाज दुर्घटना भइरहेकै हुन्छन् । सडक दुर्घटनाबाट हुने जनधनको क्षति त्योभन्दा विकराल छ,’ उनी भन्छन्, ‘त्यसको अर्थ जहाज नै नचढ्ने, गाडी नै नचढ्ने भन्ने हुँदैन । बरु, यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्छ ।’

दुर्घटनालगत्तै माघ १ मै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको छ ।

आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलबाट आवश्यक पार्टपुर्जा र वायुयानका रेकर्डसहित कागजात संकलन गरेको जानकारी दिएको छ । दुर्घटनास्थलको पुनः विस्तृत निरीक्षण गरी आवश्यक पार्टपुर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलन गरिसकेको विज्ञप्तिमा उल्लेख छ । ‘नियामक निकायलगायतबाट थप कागजात संकलनको काम भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटना जाँचका सन्दर्भमा महत्त्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण एवं विश्लेषण गर्न लैजाने तयारी भइरहेको छ ।’

अन्तर्राष्ट्रिय मापदण्डबमोजिम आयोगद्वारा अनुसन्धान जारी रहेको र सबै प्रक्रिया पूरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरिने विज्ञप्तिमा जनाइएको छ । जहाज दुर्घटनाको अनुसन्धानमा सघाउन विदेशी विज्ञ टोली पोखरा आएर फर्किएको छ । माघ ४ मा दुर्घटनास्थल आइपुगेको टोलीमा फ्रान्स सरकार मातहतको नागरिक उड्डयन सुरक्षाका लागि अनुसन्धान तथा विश्लेषण ब्युरो (बीईए) का चार, एटीआर जहाज निर्माता कम्पनीका ६ र युरोपेली युनियन उड्डयन सुरक्षा एजेन्सीका एक प्रतिनिधि सहभागी थिए । विदेशी विज्ञले छानबिनमा आयोगलाई सघाउनेछन् ।

छानबिन ४५ दिनअगावै टुंगिनेमा प्राधिकरणका पोखरा प्रमुख एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रमराज गौतम आशावादी छन् । आयोगको प्रतिवेदन आएपछि जहाज चढ्नेको संख्या बढ्न सक्ने उनी बताउँछन् । ‘अहिले सामाजिक सञ्जालमा जहाज दुर्घटनाका संवेदनशील फोटो, भिडियो बग्रेल्ती छन् । यसले सर्वसाधारण जहाजबाट यात्रा गर्न डराइरहेको अवस्था छ,’ उनले भने, ‘जहाज दुर्घटनाको कारण सार्वजनिक भएपछि त्यस्तो मनोविज्ञानमा परिवर्तन आउने हामीले ठानेका छौं ।’ सर्वसाधारणमा जनचेनताको अभाव हुँदा संवेदनशील विषयवस्तु छरपष्ट भएको गौतमको तर्क छ । कुन संवेदनशील विषय हो, कुन होइन भन्ने चेतना सर्वसाधारणमा नहुँदा त्रास पैदा भएको उनले बताए । ‘अहिले सबैको हातहातमा मोबाइल छ । फोटो, भिडियो कसले पहिला खिच्ने र लाइभ गर्ने भन्ने प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘घरको छतछतबाट खिचिरहेको अवस्था थियो । निश्चित दूरीसम्म सर्वसाधारणलाई रोक लगाए पनि फोटो–भिडियो खिच्नबाट रोक्न सक्ने स्थिति नै भएन ।’

घटनास्थलमा उद्धारकर्ता पुग्नुअगावै जम्मा भएका सर्वसाधारणको भीड, त्यहाँसम्म पुग्ने बाटोमा गाडी, मोटरसाइकलको पार्किङ र अव्यवस्थित पूर्वाधारले उद्धारमै कठिनाइ भएको गौतमले सुनाए । जहाज दुर्घटना भएको १२–१३ मिनेटमै दुई विमानस्थलमा भएका दमकल घटनास्थल पुगेका थिए । दुर्घटनास्थसम्म पुग्ने सडकमा भीड नभएको भए अझै छिटो पुग्न सकिन्थ्यो । नयाँ विमानस्थलमा भएका दुई ठूला दमकल भने पोखरा–१५ नयाँगाउँतर्फबाट दुर्घटनास्थल पुग्न एक घण्टाभन्दा बढी लाग्यो । दुर्घटनास्थलबाट एक किमि वरै साँघुरो घुम्तीमा दमकल अड्किएको थियो । व्यक्तिको पर्खाल फोडेर दमकल लैजानुपरेको थियो ।

‘प्रायः जहाज दुर्घटना उडान वा अवतरणको अन्तिम अवस्थामा हुन्छन् । विमानस्थल क्षेत्रभित्र हुने दुर्घटनामा उद्धारका लागि हरबखत तम्तयार हुन्छौं,’ उनले भने, ‘विमानस्थल बाहिर आपत्कालीन अवस्थामा उद्धारका लागि सहरले पनि आफ्ना पूर्वाधारमा ध्यान पुर्‍याउनुपर्छ ।’

प्रकाशित : माघ १५, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?