आठ खर्बको आयात हुँदा ८० अर्बको निर्यात- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठ खर्बको आयात हुँदा ८० अर्बको निर्यात

६ महिनामा आयात व्यापार २०.६८, निर्यात व्यापार ३२ र व्यापार घाटा १९.१५ प्रतिशतले घट्यो
राजु चौधरी

काठमाडौँ — आठ खर्बको वस्तु आयात हुँदा जम्मा ८० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको समेत आयात बढ्दा आयात–निर्यातको खाडल बढेको हो ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको छ । जब कि यही अवधिमा जम्मा ८० अर्ब ८० करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

६ महिनामा आयात र निर्यात दुवै घटेको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७८/७९ मा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएकामा ०७९/८० को ६ महिनामा २०.६८ प्रतिशतले घटेको छ । ०७८/७९ मा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएकामा ०७९/८० को पहिलो ६ महिनामा ३२.०१ प्रतिशतले घटेको छ । ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो ।

गत वर्षको पहिलो ६ महिनाको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । विलासिताको वस्तुसँगै कृषिजन्य वस्तुको समेत आयात बढ्दा व्यापार घाटा उच्च देखिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात बन्देज गरेको थियो । मुद्रा सञ्चितिमा झिनो सुधार आएपछि गत मंसिर मसान्तदेखि भने आयात खुला गरेको थियो ।

विलासिताका वस्तुको आयात बन्देज हुँदा आयातमा केही सुधार आएको हो । यद्यपि निर्यात पनि घट्नु चिन्ताजनक रहेको सरोकारवाला बताउँछन् । स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको उत्पादन बढाउन नसक्दा कृषि उपजको आयात बढेको छ । फलस्वरूप घाटा बढ्दै गएको हो । सरकारले घोषणा गरेको तुलनात्मक लाभका वस्तुबाट पनि देशले पर्याप्त फाइदा लिन सकेको छैन । गुणस्तरीय उत्पादन हुन सकेको छैन । फलस्वरूप व्यापार घाटा बढ्दै गएको छ । करिब १ सय ४१ मुलुकसँग वैदेशिक व्यापार हुन्छ । तर साढे २ दर्जन मुलुकसँग मात्रै व्यापार नाफा छ । त्यो पनि नगण्य रूपमा रहेको विभागको तथ्यांक छ ।

व्यापार घाटा बढ्नुको प्रमुख कारण उत्पादन र उत्पादकत्व बढाउन नसक्नु हो । तुलनात्मक लाभका वस्तुलाई रणनीतिक रूपमा अघि बढाउन नसक्दा पनि घाटा बढेको हो । यीबाहेक दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्यका नाताले बहुपक्षीय व्यापार सुविधालाई सदुपयोग गर्न नसक्दा पनि घाटा बढेको हो ।

आयात हुने वस्तुमध्ये सबैभन्दा अगाडि डिजेल रहेको विभागको तथ्यांक छ । ६ महिनामा ७० अर्ब १० करोडको डिजेल आयात भएको छ । दोस्रोमा पेट्रोल ३३ अर्ब ५३ करोडको आएको छ । इन्धन तथा विलासिताका वस्तुको आयात पनि अस्वाभाविक रूपमा बढेको छ । विलासिताकै वस्तुको सूचीमा रहेको सुन पनि अस्वाभाविक रूपमा आयात भएको देखिन्छ ।

६ महिनामा २९ अर्ब २० करोडको सुन आयात भएको विभागको तथ्यांक छ । व्यवसायीहरूले भने मूल्य बढेका कारण आयात बढी देखिएको दाबी गर्छन् । सुन प्रतितोला मूल्य १ लाख रुपैयाँभन्दा बढी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । परिमाणमा आयात वृद्धि नभए रकम भने अस्वाभाविक रूपमा बढेको देखिएको छ । चौथो नम्बरमा खाना पकाउने एलपी ग्यास २८ अर्ब २० करोड रुपैयाँको आयात भएको छ । भटमासको तेल कच्चा आयातमा २३ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ ।

आयातित भटमासको कच्चा तेल व्यवसायीले रिफाइन गरेर पुनः भारत पठाउँदै आएका छन् । शुद्ध फलाम आयातमा १९ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको छ । ६ महिनामा १६ अर्ब २२ करोडको कच्चा पाम तेल र १४ अर्ब ३२ करोडको मोबाइल टेलिफोन आयात भएको छ । निर्यातको हकमा सबैभन्दा अगाडि प्रशोधित पाम तेल नै छ । ६ महिनामा १३ अर्ब ८ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रो नम्बरमा भटमासको प्रशोधित तेल ८ अर्बको निर्यात भएको विभागको तथ्यांक छ । मुलुकको समग्र व्यापार खाने तेल (भटमास, सनफ्लावर, पाम) ले धानेको जानकारहरू बताउँछन् । कच्चा पदार्थको आयातमा छुट र निर्यातमा प्रोत्साहन पाएको यी वस्तुले समग्र निर्यात–आयात व्यापारलाई बढाइदिएको उनीहरूको भनाइ छ ।

प्रकाशित : माघ १०, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

१४१ मुलुकसँग व्यापार, ११३ सँग घाटा

सार्क मुलुकमा अफगानिस्तानबाहेक सबैसँग घाटा
सेवा क्षेत्रमा ३ खर्ब रूपैयाँ बराबरको घाटा
राजु चौधरी

काठमाडौँ — नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय १३ मुलुकसँग व्यापार घाटा हुने गरेको छ । निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा व्यापार घाटा चुलिँदै गएको छ । सबैभन्दा बढी घाटा दुई छिमेकी मुलुक भारत र चीनसँगै छ । यससँगै सार्क मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ ।

विश्वमा १ सय ४१ मुलुकसँग द्विपक्षीय व्यापार हुने गरेको भन्सार विभागको तथ्यांक छ । यसमध्ये १ सय १३ मुलुकसँग घाटा देखिएको हो । यसले मुलुकको आयात–निर्यातको खाडल बढेको देखाउँछ । चालु आर्थिक वर्षको ५ महिनामा भारतसँग मात्रै ३ खर्ब ५२ अर्ब ८० करोड २९ लाख रुपैयाँको व्यापार घाटा छ । भारतबाट ४ खर्ब १७ करोड ९० लाखको वस्तु आयात हुँदा ४७ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।

छिमेकी मुलुक चीनसँगको व्यापारको खाडल पनि उस्तै छ । ९४ अर्ब ५८ करोड ११ लाख रुपैयाँको वस्तु आयात हुँदा २४ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । व्यापार घाटा बढ्नुको प्रमुख कारण उत्पादन र उत्पादकत्व वृद्धि नहुनु, नयाँ बजार नखोज्नु, व्यापारका लागि चाहिने आवश्यक पूर्वाधार नहुनु, सन्धिहरू पुनरावलोकन नगर्नुलाई मानिएको छ । भारत र चीनले स्वदेशी उत्पादन बढाउन अनेक सेवासुविधा दिएका छन् । सार्क मुलुकले पनि रणनीतिक रूपमा विभिन्न वस्तुलाई अगाडि बढाएका छन् । तर, नेपालको हकमा यस्तो सुविधा छैन ।

कृषि क्षेत्रमा उपलब्ध गराएको सेवासुविधामा सम्बद्ध निकायभन्दा बिचौलिया नै हाबी हुँदासमेत उत्पादन बढ्न सकेन, जसले गर्दा पनि उत्पादन र निर्यात नबढेको हो । ‘चिया र कफीबाहेक अन्य सबै उत्पादनमा घाटामै छौं । एकातिर उत्पादन बढाउन सकेका छैनौं, उत्पादित वस्तु पनि गुणस्तरीय बनाउन सकेनौं,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘फलस्वरूप नेपालमै उत्पादन हुन सक्ने वस्तुको आयात पनि बढेको बढ्यै छ ।’

उत्पादन बढाउनकै लागि सरकारले तुलनात्मक लाभका वस्तु पहिचान गरेको छ । वाणिज्य नीति पनि तयार पारेको छ । तर उत्पादन बढाउनेभन्दा नीतिमा मात्रै सीमित छ । जसले गर्दा पनि घाटा बढेको ओझाको भनाइ छ । विभागका अनुसार सार्क मुलुकमध्ये अफगानिस्तानसँग मात्रै नाफा छ । त्यो पनि लाख रुपैयाँमा छ । चालु आर्थिक वर्षको ५ महिनामा अफगानिस्तानबाट ४८ हजार रुपैयाँको आयात हुँदा ३८ लाख ९९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

अफगानिस्तान युद्धमा जर्जर भएर नेपाल अगाडि भएको पूर्वउद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेको दाबी छ । सार्कका अन्य मुलुकसँगको तुलनामा नेपाल धेरै पछाडि रहेको उनले बताए । घिमिरेको भनाइलाई भन्सार विभागको तथ्यांकले पनि पुष्टि गर्छ । अफगानिस्तानबाहेक सार्कका सबै मुलुकसँग व्यापार घाटा छ । सबैभन्दा बढी घाटा भारतसँगै छ । त्यसपछि बंगलदेशसँग ३ अर्ब ११ करोड ६७ लाख रुपैयाँको व्यापार घाटा रहेको जनाएको छ ।

पाँच महिनामा बंगलादेशबाट ३ अर्ब २७ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । तर निर्यात भने १५ करोड ९५ लाख रुपैयाँको मात्रै भएको छ । भुटानसँग पनि २४ करोड ९५ लाख रुपैयाँ घाटा छ । पाँच महिनामा ४६ करोड ९० लाखको आयात भएकामा २१ करोड ९५ लाखको मात्रै निर्यात भएको छ । पाकिस्तानसँग १७ करोड ४ लाख व्यापार घाटा छ । श्रीलंकासँग १० करोड ७ लाख घाटा रहेको तथ्यांक छ । माल्दिभ्ससँग पनि ६ लाखको व्यापार घाटा छ । आयात भए पनि निर्यात शून्य छ ।

व्यापार घाटा बढ्नुका अनेक कारण रहेको घिमिरेको भनाइ छ । ‘दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सुविधा छ । भारतसँग पनि व्यापार सम्झौता छ । विश्व व्यापार संगठन (डब्लूटीओ) का सदस्यका नाताले बहुपक्षीय व्यापार सम्झौता पनि छ,’ पूर्वसचिव घिमिरेले भने, ‘त्यसका बाबजुत पनि घाटा बेहोर्नुपरेको छ । सार्ककै अन्य मुलुकभन्दा धेरै पछाडि परेका छौं ।’

घाटा हुनुको पहिलो कारण व्यापार अभिमुखीकरणमै प्रश्न रहेको घिमिरेको भनाइ छ । अन्तर्राष्ट्रिय व्यापारमा निर्यात अभिमुखीकरण गर्ने किसिमका कार्यक्रम आएनन् । नीति निर्माता र उत्पादकबीच निर्यात बढाउन अन्तर्क्रिया नै गरिएन । नेपालबाट बिक्री गर्ने वस्तु नै कम भए । ‘निर्यातमा भन्सार छुटसहितको बजार पहुँचको सुविधा हुँदाहुँदै हामीसँग पर्याप्त वस्तु नै भएन । त्यो सुविधा उपभोग हुनै सकेन,’ घिमिरेले भने, ‘जसकारण मुलुक आयातमुखी भयो ।’ विज्ञका अनुसार उत्पादनको क्षेत्र नै कमजोरको अवस्थामा छ, जसले गर्दा पछिल्लो दुई वर्षदेखि आयातमा निर्भर हुनुपरेको घिमिरेको बुझाइ छ ।

आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको पनि आयात बढ्दो क्रममा छ । पछिल्लो ५ महिनामा सबैभन्दा बढी ५५ अर्ब ४८ करोडको डिजेल, २८ अर्ब ५९ करोडको पेट्रोल, २६ अर्ब ५९ करोडको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । इन्धन तथा विलासिताका वस्तुको आयात पनि अस्वाभाविक बढेको छ । त्यसलाई निरुत्साहित गर्न विद्युतीय सवारीमा जोड दिनुपर्ने जानकारहरू बताउँछन् ।

२३ अर्ब ७५ करोडको ग्यास, २० अर्ब ६८ करोडको भटमासको तेल (कच्चा), १४ अर्ब ३३ करोडको कच्चा पाम तेल, १२ अर्ब ३७ करोड मोबाइल, ११ अर्ब ८९ करोडको तयारी कपडालगायत आयात भएका छन् । ‘वस्तुगत व्यापार हेर्दा कृषि अर्थतन्त्रमा कमजोर अवस्थामा छौं । चुलोदेखि पकाउने वस्तुसमेत आयात गर्नुपरेको छ,’ घिमिरेले भने, ‘अर्थतन्त्रको संरचना नै आयातमुखी हुँदा समस्या भयो ।’ सरकारी तथ्यांकले पनि मुलुक कृषि वस्तुमा पनि परनिर्भरता हुँदै गएको देखाउँछ । मासिक अर्बौं रुपैयाँको चामल तथा खानेतेल आयात भइरहेको छ ।

भूपरिवेष्टित राष्ट्र भएकै कारण पनि तुलनात्मक रूपमा अन्य मुलुकभन्दा लागत खर्च बढी छ । कच्चा पदार्थ आयात गर्दा महँगो पर्छ । ‘भूपरिवेष्टित र व्यापारका लागि सुक्खा बन्दरगाह, पूर्वाधार नहुँदा गन्तव्य बजार पुग्दा बंगलादेश र भारतभन्दा पारवाहन लागत नै करिब १५/२० प्रतिशत बढी हुन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गोदाम हुनुपर्‍यो, त्यो नहुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिन्न,’ घिमिरेले भने ।

अन्तर्राष्ट्रियस्तरमा व्यापार वार्ता, कूटनीतिक वार्ता हुन नसक्दा पनि व्यापारमा समस्या भएको हो । कूटनीतिक नियोग र वाणिज्य मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिका प्रभावकारी हुन नसकेको जानकारहरू बताउँछन् । ‘भारत मात्रै होइन, अन्य मुलुकसँग पनि व्यापार सन्धि गर्नुपर्छ । नयाँनयाँ बजार खोज्नुपर्नेमा त्यो पनि भएन,’ घिमिरेले भने, ‘सेवा क्षेत्रको अवस्था पनि उस्तै छ । सेवामा ३ खर्बको घाटा छ । तर यस विषयमा बहस नै हुँदैन ।’ २८ मुलुकसँगको व्यापार भने नाफामा छ । त्यो पनि नगण्य मात्रामा छ । २८ मुलुकसँग ७४ करोड ५८ लाख रुपैयाँ नाफा रहेको भन्सार विभागको तथ्यांक छ ।

प्रकाशित : माघ ९, २०७९ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×