कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदाममै थन्कियो जीटूजीको युरिया

शंकर आचार्य

पर्सा — सरकारले भारतसँग सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट किनेको युरिया मल धमाधम भित्रिइरहेको छ । कृषि सामग्री कम्पनीले भने उक्त मल परिचालन गर्न सकेको छैन ।

गोदाममै थन्कियो जीटूजीको युरिया

एक सातायता मात्र वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेलवे स्टेसनमा दुई रेलवे र्‍याकमा ५ हजार १० टन युरिया मल आइसकेको छ । पहिलो र्‍याकको २ हजार ५ सय १० टन युरिया मल कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले आफ्नो गोदाममा भण्डारण गरिसकेको छ । प्रायः सबै जिल्लाबाट युरिया मलको माग आए कार्यालयले परिचालन गर्न सकेको छैन ।

कार्यालय मातहत प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशको समेत गरी डेढ दर्जन जिल्ला कार्यालय छन् । अहिले किसानलाई गहुँ बालीमा छर्न युरिया मलको आवश्यकता छ । मल आइसक्दा पनि किसानको पहुँचमा नपुग्नु दुःखद भएको किसान संघ पर्साका अध्यक्ष असर्फी साहले बताए । ‘अहिले किसानलाई युरिया मलको चरम आवश्यकता छ, यस्तो बेला मल सहज आपूर्ति हुनुपर्ने हो,’ उनले भने, ‘प्राविधिक तथा प्रशासनिक झमेलाले किसानले मल नपाउनु दुःखद हो ।’

जीटूजीबाट आएको २ हजार ५ सय १० र त्यसअघि मौज्दात ९ सय ९५ गरी ३ हजार ५ सय ५ टन युरिया मल मौज्दात रहेको कृषि सामग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जनाए । शुक्रबार रक्सौल आइपुगेको २ हजार ५ सय टन युरिया जोड्दा मौज्दात बढेर ६ हजार ५ टन पुग्नेछ । कम्पनीको केन्द्रीय कार्यालयबाट मल परिचालनको पत्र नपाएकाले समस्या भइरहेको उनको भनाइ छ । मल ढुवानीको ठेक्का लिएका व्यवसायीले नवीकरण नगरेकाले पनि समस्या भएको उनले बताए ।

किसानलाई गहुँबालीका लागि युरिया र उखुबालीका लागि डीएपी मलको आवश्यकता रहेको आलोक कुमारले जनाए । कार्यालयसँग डीएपी मल ५ सय ६५ टन मौज्दात छ ।

नेपाल सरकारले भारतसँग जीटूजी प्रक्रियाबाट ३० हजार टन मल खरिद गरेकामा त्यसमध्ये २५ हजार ५ सय टन वीरगन्ज नाका हुँदै भित्रिँदै छ । यो नाका भएर भित्रिनेमध्ये ११ हजार ५ सय टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ । भैरहवा प्रादेशिक कार्यालयलाई १० हजार र विराटनगर प्रादेशिक कार्यालयलाई ४ हजार ५ सय टन पठाइने बताइएको छ । बाँकी मल कोलकाताबाट सोझै विराटनगर जानेछ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ) ले तेस्रो मुलुकबाट खरिद गरी कोलकाता बन्दरगाह हुँदै उक्त मल नेपाल ल्याउँदै छ । ढुवानीकर्ताले ३५ दिनभित्र सबै मल नेपाललाई बुझाउने तालिका छ ।

प्रकाशित : माघ १, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?