स्मार्ट सुजको जमाना- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फुटवेयर प्रदर्शनी विशेष

स्मार्ट सुजको जमाना

केही वर्षयता जुत्ताको रुप, रङमा ध्यान दिनेभन्दा पनि कसरी ‘हाई–टेक ब्रेन’ का रुपमा विकास गर्नेमा डिजाइनर र प्रविधि विज्ञहरुको ध्यान
सजना बराल

काठमाडौँ — पछिल्ला वर्षहरूमा नवीनतम प्रविधि प्रयोग गरी जुत्ता बनाउने र जुत्तालाई ‘स्मार्ट’ बनाउन अनेक रोचक अभ्यासहरू भइरहेका छन् । कम्प्युटर एडेड डिजाइन सफ्टवेयरहरूको प्रयोग गरी जुत्ताका पृथक डिजाइन तयार पार्नेदेखि थ्रीडी प्रिन्टिङमार्फत व्यक्तिको खुट्टाअनुसारको जुत्ता तयार गर्न थालिएको छ ।

उदाउँदो प्रविधिले अबका केही वर्षमा जुत्ता उद्योगलाई पूरै कायापलट गर्ने र थप आरामदायक, उपयोगी र व्यक्तिको चाहनाअनुरुपको बनाउन मद्दत गर्ने देखिन्छ । चोटपटक वा ठेस लाग्नबाट जोगाउनेदेखि स्वस्थ अवस्थाबारे जानकारी दिने स्मार्ट जुत्ता अबका केही वर्षमा उपलब्ध हुने अनुमान गरिएको छ ।

थ्रीडी प्रिन्टिङमार्फत बनेका जुत्ता चित्तबुझ्दा हुनुका साथै तिनले व्यक्तिको पर्फरमेन्स (प्रस्तुति) सुधार्न मद्दत गर्ने यो क्षेत्रमा काम गरिरहेका कम्पनीहरूले दाबी गर्दै आएका छन् । जुत्तामै फिटनेस ट्र्याकर जडान गर्नेदेखि हिँडाइ र दौडबारे सूचना दिने सेन्सर राखेर जुत्ता बनाउन थालिएको छ । चिप्लो ठाउँमा बलियो ग्रिप बनाउने र खस्रो भुँइमा नरम अनुभूति दिने स्मार्ट सोलसहितका जुत्ता बनिरहेका छन् । पसिना सोस्ने, दुर्गन्ध रोक्ने त छँदै छ, अबका स्मार्ट जुत्ताहरूले हिँडडुल, दौड र व्यायामबारे प्रतिक्रिया दिनुका साथै चोटपटक लाग्नुभन्दा अगाडि नै चेतावनीसमेत दिने बताइन्छ ।

जुत्ता खरिद गर्दा पसलमै पुग्नुपर्ने झन्झट पनि हटिसकेको छ । अमेजनजस्ता इकमर्स साइटको भर्चुअल ट्राइ–अन फर सुज सुविधामार्फत् आफूले किन्न चाहेको जुत्ता कस्तो देखिन्छ भनेर ग्राहकले मोबाइल फोनको क्यामेराबाटै आफ्नो खुट्टामा लगाएर हेर्न सक्छन् । अगमेन्टेड रियालिटीको यस्तो प्रयोग आगामी दिनमा अझै बढ्ने पक्का छ । नाकइी, अन्डर आर्मर, डिजिटसोल, साओमी, अल्ट्रा टोरिन आईक्यूजस्ता ब्रान्डले विभिन्न किसिमका स्मार्ट जुत्ताहरू बनाइसकेका छन् । नाइकीको ‘सेल्फ लेसिङ हाइपर एडप्ट’ जुत्ताले कतिबेला खुट्टा छिराउने भनेर सूचना दिन्छ र खुट्टा छिराएपछि आफैं तुना बाँधिदिन्छ ।

स्मर्ट जुत्ता त नयाँ अवधारणा हो, तर विश्वमा जुत्ताचप्पल बजार एक बृहत् र असाध्यै प्रतिश्पर्धी उद्योगका रूपमा स्थापित छ । यहाँ साना, स्वतन्त्र ब्रान्डदेखि ठूला, अन्तर्राष्ट्रिय कम्पनी तथा डिजाइनरहरू जुत्ताको कारोबारमा संलग्न छन् । विभिन्न रङ, उचाइ, आकार/प्रकार र मूल्यमा एथलेटिक, क्याजुअल र ड्रेस सुजहरू उपलब्ध हुने भएकाले विश्वभरका ग्राहकलाई जुत्ताका विकल्प रोज्ने सुविधा छ । आफ्ना प्रिमियम फुटवेयरहरूमा महँगा धातु र पत्थर जडान गर्नेदेखि चित्रकला र ऐतिहासिक सामग्री मिसाएर त्यसलाई अद्वितीय रूप दिन डिजाइनरहरू सधैं प्रयत्नरत हुने गरेका छन् ।

अधिकांश जुत्ताचप्पल छाला, कपडा, रबर वा सिन्थेटिक पदार्थले बनाउने गरिएको छ । बजार र उपभोक्तासम्बन्धी तथ्यांक प्रस्तुत गर्ने स्टाटिस्टा डटकमका अनुसार सन् २०२२ मा विश्व फुटवेयर बजारको आकार ३८२ बिलियन डलर रहेको अुनमान छ । सन् २०२३ मा जुत्ता, बुट, स्निकरर्स, लक्जरी फुटवेयर, एथलेटिक फुटवेयर, स्पोर्टिङ सुज र अन्य जुत्ताचप्पलहरूको कुल आय ४४५ बिलियन डलर हुने प्रक्षेपण गरिएको छ । फुटवेयर बजार वार्षिक ३.३८ प्रतिशतले वृद्धि हुने गरेको बताइन्छ ।

जुत्ताको इतिहास केलाउने हो भने १५५० बीसीमा इजिप्टमा बनेको बेतको डुंगा आकारको जुत्ता बेलायतको भिक्टोरिया एन्ड अल्बर्ट म्युजियममा सबैभन्दा पुरानो जुत्ताका रूपमा राखिएको पाइन्छ । यस संग्रहालयमा ३ हजार वर्षभन्दा लामो इतिहास भएका विश्वका विभिन्न भेगका करिब २ हजार जोर जुत्ता जोगाएर राखिएको छ । कुन जमानामा कस्ता डिजाइनका जुत्ता प्रचलनमा थिए भन्नेबारे संग्रहालयकै वेबसाइटमा आकर्षक टाइमलाइन बनाएर पनि राखिएको छ । १०० बीसीमा चीनमा भाङ (हेम्प) ले बनाउने प्राचिन सिल्क रोड सुजदेखि २० औं शताब्दीको कन्भर्स अल स्टार्सबारे उक्त टाइमलाइनमा छोटो व्याख्यासमेत राखिएको छ ।

खस्रो भुँइ र चिसो मौसममा खुट्टा जोगाउन हजारौं वर्षअघि जुत्ता बनाउने गरिएको कतिपय अध्ययनमा भनिएको छ । हिन्दु धर्मग्रन्थहरूमा त खराउ (जुत्ताकै स्वरुप) को मनग्गे उल्लेख भएको पाइन्छ । यद्यपि, सन् १७६० मा संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्समा पहिलो जुत्ता कारखाना स्थापना भएको ब्रिटानिकाका सम्पादक रोबर्ट लिवाइसले एक लेखमा जनाएका छन् । जुत्ता सिलाउने मेसिनहरू भने १९ औं शताब्दीमा मात्रै विकास भएको र त्यसपश्चात् जुत्ताहरूको उत्पादन बढ्नुका साथै मूल्य घटेको उनको दाबी छ । मेसिनहरू बनेपछि अनेक संस्कृति र व्यक्तिका आवश्यकता र रुचिअनुसार जुत्ताहरू बनाउन थालियो । फेसन ट्रेन्ड, ग्राहकको माग, उत्पादन प्रविधिलगायत अनेक तत्त्वले जुत्ताको बजार हेरफेर गर्ने गरेको छ । जुत्ता बजारमा हाल नाइकी, एडिडास, पुमाजस्ता ब्रान्ड स्थापित छन् । पछिल्ला वर्षहरूमा स्निकर्स, एंकल बुट, फ्ल्याट, स्यान्डलहरू ट्रेन्डमा छन् ।

प्रकाशित : पुस २१, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

पटक–पटकको पोल भाडा विवादले इन्टरनेट उपभोक्ता मर्कामा

इन्टरनेट सेवा प्रदायकहरुले बिजुलीको पोल प्रयोग गरेबापत तिर्नुपर्ने महसुल कति भन्नेसम्बन्धी ५ वर्षदेखिको विवादले बेलाबेला सेवा अवरूद्ध हुने समस्या बल्झिँदै
सजना बराल

काठमाडौँ — इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले सोमबार पत्रकार सम्मेलन नै आयोजना गरी पोल भाडासम्बन्धी विवाद समाधान नभए कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएपछि आइस्पान र नेपाल विद्युत् प्राधिकरणबीचको विवाद थप बल्झिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले बिजुलीको पोल प्रयोग गरेबापत तिर्नुपर्ने महसुल कति हुनेसम्बन्धी झन्डै ५ वर्षदेखिको निरन्तरको विवादले बेलाबेला सेवा अवरुद्ध हुने जस्ता समस्या निम्त्याइरहेको छ । बारम्बार हुने यो विवादले इन्टरनेट सेवा उपभोक्ताहरूलाई मार पर्दै आएको छ ।

अघिल्लो साता मात्रै विद्युत् प्राधिकरणले पोल भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल प्वाइन्ट र कार्यालयहरूमा विद्युत् महसुल भुक्तानी गर्दागर्दै इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काटेको आइस्पानको आरोप छ । यस्ता गतिविधि काठमाडौं, विराटनगर, पोखरा, धरान, बुटवल, धनकुटा, काँकडभिट्टा, सुर्खेतलगायत स्थानमा भएको उनीहरूको दाबी छ । यसरी इन्टरनेट अवरुद्ध गरेका ठाउँमा उचित क्षतिपूर्ति नदिएसम्म र इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण सिर्जना नगरेसम्म आफूहरूले सेवा दिने अवस्था नरहेको उनीहरूले जनाएका छन् ।

प्राधिकरणले भने आफूहरूले पटक–पटक नियमपूर्वक सूचना जारी गर्दासमेत अटेरी गरेकाले इन्टरनेटको लाइन काट्न बाध्य भएको प्रतिक्रिया दिएको छ । प्राधिकरण स्रोतले यो प्रक्रिया महिनौंअघि सुरु भइसक्नुपर्नेमा दुई वटा चुनाव र एसईई परीक्षालगायतलाई दृष्टिगत गरी केही समय स्थगन गरेर अहिले कार्यान्वयनमा लगिएको जनाएको छ । प्राधिकरणले सूचना तथा सञ्चार मन्त्रालयको सहसचिवसहितको समितिले निर्धारण गरेबमोजिमकै भाडादर उठाउन बारम्बारको ताकेतापछि केही सेवा प्रदायकले उक्त शुल्क तिरेको र अटेरी गर्नेहरूको लाइन काट्न सुरु गरिएको उल्लेख गरेको छ ।

यसमा आइस्पानको भने फरक मत छ । ‘राज्यले डिजिटल नेपाल निर्माणका लागि आफ्नो सम्पूर्ण स्रोत लगानी गरिरहेका बेला राज्यकै एक अंग (विद्युत् प्राधिकरण)ले डिजिटल नेपालको मेरुदण्ड मानिने इन्टरनेट कनेक्सनको प्रवाहलाई रोक्न सक्ने क्षमता राख्छु भनेर दम्भ देखाइरहेको छ,’ आइस्पानका अध्यक्ष सुधीर पराजुलीले भने, ‘प्राधिकरणलाई तिर्नुपर्ने भाडा हामीले तिरिरहेका थियौं । तर प्राधिकरणले ७ सय प्रतिशतसम्म भाडा बढाएपछि विवाद सुरु भएको हो ।’ उक्त भाडादर दूरसञ्चार प्राधिकरणसँग अनुमति लिएर मात्रै तोक्नुपर्ने उनीहरूको माग छ ।

यो पूरै प्रकरणमा प्रत्यक्ष मारमा पर्ने उपभोक्ताहरूको धारणा भने बहसको अंग बनेको देखिँदैन । गत मंसिरमा ‘इन्टरनेट सेवा अवरुद्ध हुँदा उपभोक्तामा गम्भीर अपूरणीय क्षति पुग्न जाने भएकाले सुविधा र सन्तुलनका दृष्टिले समेत दूरसञ्चार ऐन ०५३ बमोजिम अप्टिकल फाइबर जडान सम्बन्धमा दूरसञ्चार प्राधिकरणबाट तत्काल अनुमति लिनू र महसुल दरको विवाद लगायतका कुनै पनि विवादको बहानामा अप्टिल फाइबरको प्रयोगमा कुनै बाधा अवरोध नगराउनू’ भन्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिसकेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले बताए ।

रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले त्यस सम्बन्धमा मंसिर ११ मा कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र जवाफ पेस गर्न भनेको थियो । विद्युत् प्राधिकरणले पनि तिमिल्सिनाको यो भनाइमा सहमति जनाउँदै यो विषय अदालतमा विचाराधीन रहेको र आफूहरूले अदालतको आदेश पालना गर्ने जनाएको छ । ‘इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताबाट पोल भाडाबापतको रकम उठाइसकेको भए पनि उक्त रकम प्राधिकरणसम्म नपुगेकाले यो विवाद भएको हो,’ तिमिल्सिना भन्छन्, ‘यो सानो रकमको कुरा होइन, अर्बौंको कुरा हो । प्राधिकरणले पनि अप्रत्याशित रूपमा सात गुणासम्म भाडा बढाउँदै उपभोक्ताबाट उक्त रकम उठाउन सेवा प्रदायकहरूलाई दबाब दिएको देखिन्छ । यसमा दुवै पक्षको आ–आफ्नो स्वार्थ छ ।’

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने भाडादर आफूहरूले तोकेको नभई राज्यको सम्बन्धित निकायले सुझाएअनुसार भएको र आफूहरूले त्यसको कार्यान्वयन मात्रै गरेको दाबी गरे । ‘राज्यले गरेको निर्णय लागू गर्ने हाम्रो पहलमा इन्टरनेट सेवा प्रदायकहरूले बाधा पुर्‍याएका छन्,’ उनले भने, ‘सायद उनीहरूले त्यसलाई नमान्न खोजेका हुन् । सबै सम्बन्धित निकायको सहमतिमा कायम उक्त शुल्क कार्यान्वयन गराउन हामी प्रतिबद्ध छौं ।’ इन्टरनेट सेवा प्रदायकहरूका कारण सहर कुरूप भएको र प्राधिकरणका संरचनाहरूमा समेत क्षति पुग्ने गरेको उनको आरोप छ ।

विद्युत् प्राधिकरणले आफूखुसी भाडादर वृद्धि गरेको र सर्वोच्च अदालतको प्राथमिकतामा परी विचाराधीन विषयउपर आफ्नो मनोमानी ढंगले गैरकानुनी क्रियाकलाप अघि बढाएको आइस्पानको निष्कर्ष छ । भाडादर वृद्धि महानगर र उपमहानगरमा ४ गुणा, नगरपालिकाहरूमा साढे ४ गुणा र गाउँपालिकामा ७ गुणासम्म वृद्धि गरिएको र उच्चस्तरीय समितिको आफैंले सही गरेको प्रतिवेदनसमेत मान्न प्राधिकरणले आनाकानी गरेको आइस्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिवक्ता तिमिल्सिना भने यस विषयमा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पनि कमजोरी रहेको औंल्याउँछन् । यो सबै प्रकरणमा दूरसञ्चार प्राधिकरणले वैज्ञानिक भाडादर तोक्ने, सेवा प्रदायकहरूको कामको अनुगमन गर्नेलगायत भूमिका निर्वाह गरेर सहजीकरण गर्नुपर्ने उनको सुझाव छ । ‘दूरसञ्चार प्राधिकरणले अहिलेको भाडादर उचित छ कि छैन भनेर दूरसञ्चार ऐनबमोजिम समिति बनाएर कानुनबमोजिम अधिकार अविलम्ब प्रयोग गर्नुपर्नेमा किन चुप बसेको हो ?’ उनको प्रश्न छ । प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूले आफ्नै ढिपी गरिरहँदा उपभोक्ता सधैं मारमा परेको उनको निष्कर्ष छ ।

प्राधिकरण स्रोतका अनुसार नेपाल टेलिकम, एनसेल, डिसहोम, सीजीलगायत इन्टरनेट सेवा प्रदायकसँग कुनै विवाद नरहेको र उनीहरूले पोल भाडाबापतको रकम भुक्तानी गरिसकेका छन् । अन्य कम्पनीको कति रकम बक्यौता छ त ? प्राधिकरणले उक्त रकम दुई पक्षबीचको संयुक्त अनुगमनले तय हुने र अहिले कतिपय कम्पनीले बिनाअनुमति र जथाभावी तार टाँगेकाले ठ्याक्कै यति रकम बाँकी छ भन्ने अवस्था नरहेको बतायो । ‘विद्युत् प्राधिकरण पारदर्शी संस्था हो र यो भाडा दर हाम्रो बोर्डबाट कानुनबमोजिम स्वीकृत भई बारम्बार सूचना दिएर प्रक्रिया पुर्‍याएपछि मात्र कार्यान्वयनमा लगिएको हो,’ प्राधिकरणका प्रवक्ता भट्टराईले भने, ‘यो प्राधिकरणको सम्पत्तिको कुरा भएकाले हामीले नै कानुनबमोजिम निर्णय गरेका हौं ।’

प्रकाशित : पुस १९, २०७९ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×