१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चीन जोडिन ९ किलोमिटर बाँकी

हिल्सा–सिमकोट सडक
२ सय ९० किलोमिटर लामो यो सडक निर्माण ०५५/५६ बाट सुरु भएको थियो
जयबहादुर रोकाया

हुम्ला — कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ । ९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ र सिमकोटदेखि हेक्पा खोलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडीहरू आउजाउ गर्न थालेका छन् ।

चीन जोडिन ९ किलोमिटर बाँकी

सडकका आयोजना प्रमुख विजयकुमार थापाका अनुसार तुम्कोटस्थित कर्णाली नदीमा यो वर्ष बेलिब्रिज निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो । ओखरथलासम्म गत वर्षमै ट्रयाक खुलिसकेको थियो । यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोमिटर मात्र गाडी गुड्ने गरेका थिए । अब ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको थापाको दाबी छ ।

हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि स्थानीयका आधा दर्जन गाडी गुड्ने गरेको सडकमा काम गर्दै आएका स्थानीय ठेकेदार सुनाम लामाले बताए । ‘अहिले आधा दर्जन गाडी गुड्ने गरेका छन्,’ लामाले भने, ‘हिउँ परेर बाटो नरोकिँदासम्म तिब्बत अवातजावत गर्न सकिने अवस्थामा पुग्यो । सिमकोटदेखि दुई दिनमै तिब्बतको ताक्लाकोट बजार पुग्न सकिने भएकाले उत्तरी भेगका बासिन्दालाई तिब्बतबाट सामान ल्याउन सहज बनेको छ ।’

थापाका अनुसार सिमकोटदेखि उत्तर हेक्पा खोलाको पुलसम्म १५ किलोमिटर ट्रयाक खुलेपछि यो सडकमा पनि स्थानीयले जिप सञ्चालन गरेका छन् । यो सडकबाट सदरमुकाम पुग्न ठाडै उकालो चढ्नुपर्ने भएकाले अधिकांशले जिपमै यात्रा गर्ने गरेका छन् । सदरमुकाम सिमकोटदेखि दक्षिण खार्पुनाथसम्म ११ किलोमिटर बाटोमा पनि जिप गुड्ने गरेका छन् । यो सडक विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (डिल्प) ले चालु आर्थिक वर्षमा ट्रयाक खोलेर सम्पन्न गरेको हो । ट्रयाक्टरबाट स्थानीयले निर्माण सामग्री (ढुंगा, बालुवा, काठ) लगायत घरायसी सामान ढुवानी गर्ने गरेका छन् ।

कर्णाली करिडोरअन्तर्गत हिल्सादेखि खुलालुसम्म २ सय ९० किलोमिटरको दूरी हो । खुलालुदेखि उत्तर सलिसल्लासम्मको १ सय ५४ दशमलव १० किलोमिटर सडक सेनाले निर्माण गर्दै छ । हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले सलीसल्ला छारे र छारे खार्पुनाथ सडकको ४६ दशमलव ९० किलोमिटरका लागि टेन्डर भइसकेको छ । सडक निर्माणलाई छिटो अगाडि बढाउन सेनाको हेलिकप्टरबाट सर्केघाटमा स्काभेटर पनि पुर्‍याइसकेको ठेकेदार तेजबहादुर महतले बताए ।

२०५५/५६ बाट हिल्सा सिमकोट सडक निर्माण सुरु गरेको थियो । सुस्त गतिमा बढेको काम स्थानीयको दबाबपछि २०६५/६६ बाट सडक विभागमार्फत निर्माण भइरहेको छ । हिल्साबाट दक्षिणमा सञ्चालन गर्ने गरेका गाडी चीनको तिब्बतबाट खरिद गरेका र सदरमुकामको उत्तर दक्षिण चल्ने जिप तथा ट्रयाक्टर हेलिकप्टरबाट ढुवानी गरिएको हो । सिमकोटमा सञ्चालन हुने गाडीमा नम्बर भए पनि हिल्साबाट सञ्चालन हुने गाडीमा नम्बर छैनन् । सीमामा भन्सार र यातायातजस्ता सरकारी कार्यालय नहुँदा बिनानम्बरका गाडी सञ्चालन भइरहेका छन् ।

गत स्थानीय चुनावदेखि भर्खरै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका प्रतिस्पर्धी दलका नेता तथा उम्मेदवारले पनी जिल्लाको विकासमा हिल्सा–सिमकोट बाटोलाई नै प्रथामिकता दिने नारा दिएका थिए । एमालेबाट प्रदेश नम्बर क बाट विजयीदल रावलले विजयी भएलगत्तै आफ्नो कार्यकाल नसकिँदै प्रत्येक गाउँपालिका सडक सञ्जालमा जोडिने बताउँदै अर्काे निर्वाचनमा आफू गाडीबाटै मत माग्न आउने बचन दिए । गाडीबाट मत माग्न आउने अवस्था नभए चुनावै नलड्ने उनले घोषणासमेत गरेका छन् । सबै दलको मुख्य प्राथामिकतामा यही सडक परेकाले पनि सडक निर्माणले गति लिने भएको छ ।

प्रकाशित : पुस ११, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?