कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ दुई विमान पुसभित्रै ल्याइने

-सुरज कुँवर

काठमाडौं — नेपाल सरकारले सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेकामध्ये दुइटा विमान पुसभित्र नेपाल ल्याइने भएको छ ।

चिनियाँ दुई विमान पुसभित्रै ल्याइने

यी जहाज राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ल्याउने हो । निगमका महाप्रबन्धक सुगतरत्न कशांकारले मध्य पुसभित्रै दुइटा विमान ल्याउने प्रयास भइरहेको बताए । ‘पर्यटन मन्त्रालयको निर्णयअनुसार अहिले एउटा एमए–६० र वाई १२–ई विमान डिसेम्बर (मध्य पुस) भित्रै ल्याउने कोसिसमा छौं,’ उनले भने । यसअघि यस्तै खाले दुईवटा विमान उडानमा छन् । ती विमान चीन सरकारले अनुदानमा दिएको हो ।

अब ल्याइने विमान सहुलियतपूर्ण ऋणमा नेपाल सरकारले निगमका लागि खरिद गरेको हो । सरकारले ०७० मंसिरमा ६ वटा विमानका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ हाराहारीको चीन सरकारसँग ऋण तथा अनुदान सम्झौता गरेको थियो । यो रकममध्ये २ अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो । अनुदानअन्तर्गत ०७१ वैशाखमा चीनले नेपाललाई ५६ सिट क्षमताको एमए ६० तथा त्यसै वर्षको कात्तिकमा दुर्गम उडानका लागि १६ सिट क्षमताको वाई १२–ई विमान उपलब्ध गराएको थियो । बाँकी सहुलियत ऋणमा खरिद गर्न लागिएका चारवटा विमान त्यसपछि ल्याइनुपर्ने सम्झौता थियो ।

तर, चिनियाँ जहाज बारम्बार ग्राउन्डेड हुने, मर्मत तथा विमा शुल्क अत्यधिक चर्को तथा आम्दानी न्यून देखिँदै गएपछि निगमले पर्यटन मन्त्रालयलाई बाँकी विमान नलिने भन्दै लिखित असहमति पठाएको थियो । निगमले दुवै जहाजको परफरमेन्स चार्ट (प्राविधिक क्षमतासूची) मा उल्लेख गरिएअनुसार नभएको भन्दै मन्त्रालयमार्फत मन्त्रिपरिषद्लाई पनि प्रतिवेदन पठाएको थियो । यसबीच निगमले सरकारको रोहबरमा जहाज बिक्री गर्ने चिनियाँ सरकारी एजेन्सी चिनियाँ एभिएसन इन्ड्रस्ट्री (एभिक) सँग पनि धेरैपटक पत्र, इमेल, वार्तामार्फत जहाजका प्राविधिक कमजोरीबारे जानकारी गराएको थियो । त्यस्तै निगमले चिनियाँ पक्षलाई जहाज बिक्रीपछिका सेवाहरू सुलभ नभएको, बिमा, पाइटल/इन्जिनियर तालिम, स्पेयरपार्टलगायतको बिक्री दर अत्यधिक महँगो भएको लेखेरै पत्राचार पनि गरेको थियो ।

यिनै कारणले ढिलाइ भइरहेका बेला हालै पर्यटनमन्त्री जीवनबहादुर शाहीले चिनियाँ विमान ल्याउन निर्देशन दिएपछि बाँकी रहेका विमान ल्याउने प्रक्रिया थालिएको महाप्रबन्धक कंसाकारले कान्तिपुरलाई बताए । निगमको अपरेसन विभागका अनुसार निगमले सुधारका लागि औंल्याएका कुनै पनि विषयमा एभिकले आधिकारिक धारणा बताइसकेको छैन । ‘कुनै छुट, सहुलियत दिने सहमति भएको छैन तर मन्त्रालयको निर्देशन आएपछि हामी विमान ल्याउने तयारीमा छौं,’ निगम स्रोतले भन्यो । उनका अनुसार चिनियाँ विमान ल्याइने भएपछि निगमले चिनियाँ विमान उडाउने पाइलट सुनील श्रेष्ठ र जीवेश लामालाई चीनमा पठाइसकेको छ । यता यी विमानको अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणसँग पनि निगमले प्रक्रिया थालेको छ । 

निगमले चिनियाँ विमान ल्याउने तयारी गरिरहेका बेला सुगम रुटमा उडान भरिरहेको एमए–६० (रारा) र दुर्गम क्षेत्रका लागि उडान भर्ने वाई–१२ ई (कोइली) प्राविधिक कारणले एक साताअघिदेखि ग्राउन्डेड छन् ।

 

प्रकाशित : मंसिर १५, २०७३ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?