अब युरोपमा पनि वाइवाई

कान्तिपुर संवाददाता

काठमाडौं — चौधरी समूहले युरोपेली मुलुकलाई लक्षित गर्दै सर्बियामा वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । समूहले सर्बियाको रुमा सहरमा वाइवाईको प्लान्ट स्थापना कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

रुमाको रुम्स्का इन्डस्ट्रियल लुपमा वाइवाईको प्लान्ट स्थापना कार्य अघि बढाइएको समूहले जनाएको छ । युरोपेली बजारमा यहाँबाट उत्पादित चाउचाउको बिक्री वितरण हुनेछ । चौधरी समूहको युरोपमा यो पहिलो उद्योग हुने समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उद्योगले पहिलो चरणमा करीब चार सय तथा उत्पादन र वितरण सुरु हुँदासम्म १ हजार २ सयभन्दा बढीलाई रोजगारी दिनेछ । चौधरी समूह युरोपमा तयारी चाउचाउ उत्पादन सुरु गर्ने पहिलो नेपाली व्यावसायिक घराना हो । यसअघि नै विश्वका ३० मुलुकमा वाइवाई चाउचाउको उपस्थिति रहिसकेको छ ।

विश्वभर वार्षिक २ अर्ब २० करोड प्याकेटभन्दा बढी बिक्री हुने वाइवाईले विश्व तयारी चाउचाउ बजारको २ दशमलव २ प्रतिशत हिस्सा ओगटेको दाबी कम्पनीको छ । हाल नेपालमा ६ र भारतमा ८ वटा प्लान्टबाट वाइवाई चाउचाउ उत्पादन भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय बजारमा वाइवाई चाउचाउको हिस्सा २७ प्रतिशत रहेको समूहले जनाएको छ ।

प्रकाशित : पुस १५, २०७३ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्

‘एमालेलाई विधेयक रोक्ने अधिकार छैन’

कान्तिपुर संवाददाता

गोरखा — उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले संसद अवरोध गरेर संसदीय, संवैधानिक र लोकतान्त्रिक प्रक्रिया उल्लंघन गरेको आरोप लगाएका छन् ।

 

प्रेस युनियनले शुक्रबार सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले प्रतिपक्षलाई संंविधान संशोधन विधेयक रोक्ने अधिकार नभएको दाबी गरे । 

‘हिजो आफू सरकारमा हुँदा आन्दोलन गरेका मधेसीलाई संसद् बोलाउने एमाले प्रतिपक्षमा हुँदा संसद् चल्न नदिएर रिङ बाहिर गयो,’ उनले भने, ‘संशोधनका बेला एमालेले बखेडा झिकेको छ, यो प्रस्ताव थाती रहँदैन, अघि बढ्छ ।’ 

संविधानको सफल कार्यान्वयनका लागि संशोधन अनिवार्य रहेको उनको भनाइ थियो । देशका लागि चार पक्ष एक हुनुपर्ने उनले बताए । ‘कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा मुख्य राजनीतिक शक्ति हुन्,’ उनले भने, ‘यी चारै पक्षको शक्ति सन्तुलन मिले मात्र देशले परिणाम पाउँछ ।’ 

संविधान संशोधन गरेर स्थानीय तह, प्रादेशिक र संघीय चुनाव गरे मात्र सरकार सफल हुने उनको भनाइ थियो । गोरखामा जारी नवौं गोरखा महोत्सवको शनिबार समापन गर्न गृहमन्त्री शुक्रबार नै गोरखा आइपुगेका हुन् ।  

प्रकाशित : पुस १५, २०७३ २०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×