स्वैच्छिक रूपमा सूचीकरणबाट हट्न पाइने

यज्ञ बञ्जाडे

काठमाडौं — धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी स्वैच्छिक रूपमा सूचीकरणबाट हट्न पाउने (खारेजी) व्यवस्था हुने भएको छ । विद्यमान सूचीकरण विनियमावली संशोधन गरी नेप्सेले यस्तो व्यवस्था गर्न लागेको हो ।

संशोधित विनियमावलीको मस्यौदा स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाइएको छ ।

बोर्डबाट अनुमति पाएपछि उक्त विनियमावली कार्यान्वयनमा आउने छ । ‘धितोपत्र सूचीकरण विनियमावली ०५३’ मा कम्पनीले चाहे पनि सूचीकरणबाट हट्न पाउने व्यवस्था छैन । तर, तोकिएका मापदण्ड तथा निर्देशन पालना नगरेका कम्पनीको सूचीकरण नेप्सेले खारेजी गर्न सक्छ । हालसम्म ४२ वटा त्यस्ता कम्पनीको सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।

सेयर बजारमा उत्पादनमूलक क्षेत्र (रियल सेक्टर) का कम्पनी भित्र्याउन सर्वत्र माग भइरहेको बेला नेप्सेले स्वैच्छिक रूपमा बजारबाट बाहिरिन सक्ने व्यवस्था गर्न लागेको हो ।

सेयर बजारमा बस्न नचाहने संस्थाहरूलाई निस्कन सहज होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बताए । ‘केही कम्पनीले सूचीकरण खारेजीका लागि आवेदन दिएका छन्,’ उनले भने, ‘त्यस्ता संस्थालाई कानुनी रूपमै बाहिरिने बाटो खुला गर्न लागेका हौं ।’ तर, कम्पनी सूचीकरणबाट हटदा ती कम्पनीका सेयरधनीको अधिकार सुरक्षाको भरपुर व्यवस्था गरिएको उनले दाबी गरे । उनले भने, ‘कम्पनीको सूचीकरण खारेजी भए पनि लगानीकर्ताको लगानी सुरक्षित रूपमा फिर्ता हुन्छ ।’ कमजोर कार्यक्षमता भएका, नराम्रा र बिनाकारण लामो समयसम्म कारोबारमा नआएका कम्पनी हटाएर राम्रा कम्पनी भित्र्याउने उद्देश्यले विनियमावली संशोधन गरिएको उनको दाबी छ ।

स्वैच्छिक रूपमा सूचीकरण खारेज गर्न सम्बन्धित कम्पनीले कम्तीमा ९० प्रतिशत सेयरको प्रतिनिधित्व हुने सेयरधनी उपस्थित साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्नुपर्छ । यस्तै सर्वसाधारण समूहमा कायम रहेका सेयरधनीमध्ये साधारणसभामा उपस्थित भई स्वैच्छिक सूचीकरण खारेजीमा असहमति जनाएका ९० प्रतिशत सेयर धारण गर्ने सेयरधनीको सेयर संस्था आफैंले खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

उक्त सेयरको खरिद मूल्य नेप्सेमा कायम भएको अन्तिम कारोबारको मूल्यमा २० प्रतिशत थप गरी तय गरिने छ ।

यस्तो अवस्थामा कम्पनीले सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न आवश्यक व्यवस्था गर्नुपर्छ । यस्तै सरकारको कम्तीमा ५१ प्रतिशत स्वामित्व रहेको संस्थाको सूचीकरण खारेजी गर्न तालुक (माथिल्लो) निकायको सिफारिस चाहिने व्यवस्था छ । स्वैच्छिक सूचीकरण खारेजीका लागि खारेजी हुनुभन्दा अघिको सूचीकरण शुल्कको बाँकी बक्यौता चुक्ता हुनुपर्ने छ । सबै मापदण्ड पूरा भएको अवस्थामा नेप्सेले बढीमा एक महिनाभित्र सूचीकरण खारेज गर्ने व्यवस्था छ ।

हाल नेप्सेमा विभिन्न नौ वटा समूह अन्तर्गतका २ सय ३२ वटा कम्पनी सूचीकृत छन् ।

तीमध्ये करिब १ सय ५० वटा कम्पनीको सेयर सक्रिय रूपमा कारोबार हुँदै आएको छ । सूचीकृत कम्पनीहरूमा करिब ८५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको छ । उक्त कारण राष्ट्र बैंक र बिमा समितिको सानो निर्देशन र निर्णयले पनि सेयर बजार प्रभावित हुँदै आएको छ ।

उत्पादनमूलक कम्पनीलाई प्राथमिकता संशोधित विनियमावलीको मस्यौदामा उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा सूचीकरणका लागि सहज व्यवस्था गरिएको छ । त्यो क्षेत्रका धेरै कम्पनीलाई सेयर बजारमा भित्र्याउने उद्देश्यले सूचीकरण व्यवस्था केही सरल बनाइएको नेप्सेले बताएको छ ।

‘उत्पादनमूलक क्षेत्रका कम्पनीको सेयर सूचीकरणका लागि सजिलो व्यवस्था गरेका छौं,’ नेप्से स्रोतले भन्यो, ‘हाम्रो उद्देश्य सबै क्षेत्रका कम्पनीलाई सेयर बजारमा भित्र्याउनु हो ।’ मस्यौदामा १ करोड पुँजी भएका उत्पादनमूलक क्षेत्रका कम्पनी पनि सूचीकरण हुन सक्ने व्यवस्था छ । यस्तै सरकारले पनि उत्पादनमूलक कम्पनीलाई अनिवार्य रूपमा सेयर बजारमा सूचीकरण हुने व्यवस्था गर्न लागेको छ । केही महिनाअघि राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा राजस्व सचिव राजन खनालले उक्त कुरा खुलासा गरेका हुन् । हाल नेप्सेमा सूचीकरण हुने उत्पादनमूलक क्षेत्रका कम्पनीलाई करलगायत अन्य कुरामा छुट दिँदा पनि नआएपछि उक्त व्यवस्था गर्न लागिएको उनले जनाए ।

प्रकाशित : जेष्ठ २७, २०७३ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

खर्च अभावले जहाज दुर्घटना छानबिन प्रभावित

सुरज कुँवर

काठमाडौं — कालिकोटमा दुर्घटना भएको एयर काष्ठमण्डपको कारण पत्ता लगाउन गठित जाँच आयोगको समय अवधि थप्दा पनि प्रतिवेदन आउन सकेको छैन । जाँचबुझका लागि आवश्यक खर्चको व्यवस्था हुन नसक्दा सरकारले तोकेको ६० दिनको भाका, त्यसपछि थपिएको ३५ दिनको समयसीमा सकिएको छ ।

एयर काष्ठमण्डपको प्याक ७५०–एक्सएल विमानको दुर्घटना जाँच गर्न गठन गरिएको आयोगले फेरि ४५ दिनको समय थप मागेको छ । तर, प्रतिवेदन समयमै आउनेबारे अझै विश्वस्त हुन नसकिएको अधिकारीहरू बताउँछन् ।

छानबिनमा संलग्न उच्चस्तरीय जाँच आयोगका अध्यक्ष पूर्वसचिव यज्ञ प्रसाद गौतम र सदस्यसचिव हरिबहादुर खड्का टिकट/खर्चको अभावमा काठमाडौंमै रुमलिरहेका छन् । जहाजको इन्जिन भने क्यानडा पुगिसकेको छ । एयर काष्ठमण्डपको जहाज दुर्घटना छानबिन बारेको यो पछिल्लो अवस्था हो ।

‘दुई सदस्य यसै साता क्यानडा जानुपर्ने । भिसा आइसक्यो तर टिकट खर्च अभावले उनीहरू यतै रोकिएका छन्,’ मन्त्रालय स्रोतले भन्यो । नेपालमा जहाज दुर्घटना भएपछि गठन हुने आयोगलाई आवश्यक पर्ने खर्च/भत्ता नेपाल सरकारले उपलब्ध गराउँछ । तर, जहाजका उपकरणको जाँच गर्न ‘विदेश जानुपरे कसले बेहोर्ने ?’ भन्नेबारे कानुन मौन भएकै कारण यो समिति अल्झनमा परिरहेको छ । ‘खासमा जहाजको फ्लाइट डाटा रेकर्ड र ककपिट भ्वाइस रेकर्ड रहने ब्याल्क बक्स, टिकास आदिबारे अध्ययन गर्नुपरे विदेश जाने चलन छ ।

यस्तो अवस्थामा खर्च कसले बेहोर्ने भन्नेबारे कुनै ऐन/नियम छैन तर सम्बन्धित एयरलायन्सले नै बेहोर्ने चलन कायम छ,’ उड्डयनमा संलग्न एक व्यवसायी भन्छन्, ‘नेपालमा चलेको यो गलत चलन हो यो त चोरसँग पुलिसले छानबिन गर्न पैसा मागे जस्तै हो । रोकिनुपर्छ । ’ दुर्गम उडानमा जहाज सञ्चालन गर्दै आएका ती व्यवसायीले जहाज कम्पनीकै खर्चमा विदेश जाँदा प्रतिवेदन प्रभावित हुने बताए । तर, जहाज दुर्घटनाबारे छानबिन गर्न विदेश जानैपरे सम्बन्धित एयरलाइन्सले नै खर्च बेहोर्ने चलन सरकारले नै चलाउँदै आएको छ । ‘छानबिनमा संलग्न अधिकारीहरू मन्त्रालयबाटै निर्णय गराउँदै विदेश जाने गरेका छन्, भर्खरै तारा एयरको टुइनअटर छानबिनमा संलग्न दुई जना सदस्य पनि क्यानडा पुगेर आए,’ ती व्यवसायीले भने ।

एयर काष्ठमण्डपको जहाज दुर्घटना जाँच आयोगमा संलग्न एक सदस्य उक्त एयरलाइन्सको आन्तरिक विवादका कारण जाँच प्रभावित भइरहेको बताउँछन् । ‘एयर काष्ठमण्डपको जहाजमा ब्ल्याक बक्स थिएन । यस घटनामा सत्यतथ्य पत्ता लागाउने एउटै माध्यम इन्जिन मात्रै हो । हामीले पहिलो पटक नेपालबाट इन्जिन जाँच्न पठाउनुपर्ने भयो तर कम्पनीले खर्च त के धरौटीसमेत राख्न सकेन,’ ती सदस्यले भने ।

पर्यटन मन्त्रालयका अनुसार काष्ठमण्डपले इन्जिन पठाउने खर्च बेहोर्न नसक्ने भएपछि इन्जिन उत्पादक कम्पनीले नै आफ्नै खर्चमा इन्जिन नेपालबाट झिकाएको थियो । तर, इन्जिन पठाउँदा भन्सारमा राख्नुपर्ने २ लाख रुपैयाँ धरौटी काष्ठमण्डपले बुझाउन नसक्ने भएपछि पर्यटन मन्त्रालयले भन्सारलाई ग्यारेन्टीपत्रमार्फत सहयोग गरेको थियो । काष्ठमण्डपले ३ महिनाभित्र क्यानडाबाट इन्जिन ल्याउने लिखित कागज गरेपछि भन्सारले जहाजको इन्जिन उत्पादक कम्पनीलाई पठाइदिएको थियो ।

उक्त इन्जिन क्यानडा पुगेको एक महिना बित्न लागिसक्यो तर यताबाट जानुपर्ने आयोगका सदस्य नगएकै कारण उता कम्पनीका इन्जिनियरहरूले इन्जिन खोलेर अध्ययन गर्ने कार्य सुरु गरेका छैनन् । ‘उनीहरू बोलाएको बोलाई छन्, हामी पैसा अभावका कारण जान सकिरहेका छैनौं ।’ यो जहाज गत फागुन १४ गते कालिकोटको चिल्खयामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ९ जना यात्रु बाँचेका थिए भने चालकदलका दुई सदस्य क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७३ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×