२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

घृणाविरुद्ध प्रेमको प्रतिरोध

सुशीला शर्मा

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार संसारमा तीन जनामा एक जना महिला शारीरिक हिंसा, कुटपिट तथा बलात्कारमा पर्ने गरेका छन् । हिंसाको सधैं प्रतिरोध नै गरिन्छ, जबसम्म यसबारे सोचिन्न या यसको विरुद्ध कदम चालिन्न । महिला, ट्रान्सजेन्डर, सिसजेन्डरलगायतमाथि हुने हिंसा र दमनको विरोधस्वरूप नयाँ ढंगको आन्दोलन चलिरहेको छ ।

घृणाविरुद्ध प्रेमको प्रतिरोध

सन् २०१२ मा यो कार्यक्रम ‘भ्यालेन्टाइन्स डे’ का दिन सुरुआत गरिएको थियो । विशेष गरेर पीडितले सामना गरेको हिंसालाई प्रतिरोधस्वरूप गीत, नृत्य, कलामार्फत हामी अझै सक्षम छौं र खुलेर जिउन चाहन्छौं भन्ने आशय राख्दै ‘उर्लंदो सय करोड’ (वन बिलियन राइजिङ) कार्यक्रम विश्वभर मनाउने गरिन्छ । इभ एन्सलर यस अभियानकी पहलकर्ता हुन् । उनी अमेरिकी नारीवादी, अभियानकर्मी, नाटक लेखक तथा प्रस्तोता हुन् ।

विश्वको जनसंख्या ८ बिलियन छ । महिला हिंसाको रेसियोलाई मध्यनजर गर्दै उर्लंदो सय करोड नामकरणसहित यो सामुदायिक चेतनामूलक कार्यक्रम विश्वका दुई सयभन्दा बढी देशमा मनाइन्छ ।

सन् २०१३ मा यो अभियानमा विश्वभरिका मानिस एकै ठाउँमा आए । ‘प्रहार, नृत्य र अगाडि बढ’ भन्ने नाराका साथ यो कार्यक्रम मनाइएको थियो । २०१४ मा ‘न्यायका लागि उर्लंदो सय करोड’ नारासहित कार्यक्रम मनाइयो । गरिबी, जातिवाद, पुँजीवाद, साम्राज्यवाद, पितृसत्ता, युद्ध तथा वातावरण विनाशका विरुद्ध न्यायको आवाज त्यस वर्षको नारा बनेको थियो ।

अभियानको तेस्रो वर्ष २०१४ मा क्रान्तिको विषय समातेर न्यायको मागसहित कार्यक्रम सम्पन्न भएको थियो । त्यस वर्ष विश्वव्यापी हिंसाको जड र कारण पत्ता लगाई न्यायका लागि पहल गर्ने आवाज बुलन्द पारिएको थियो । २०१५ मा दुई सयभन्दा बढी मुलुकले ‘क्रान्तिका लागि उदय’ नाराका साथ अभियानलाई निरन्तरता दिए । जवाफदेहिताको माग, न्याय र व्यवस्थित परिवर्तन नै त्यो वर्षको विषय थियो । महिलाका स्वरहरू यस्ता थिए— हामी उदाइरहेछौं, हामीले नयाँ प्रकारको सचेतना सिर्जना गर्ने प्रतिबद्धता गर्‍यौं । हामी प्रतिरोध गरिरहन्छौं जबसम्म यसबारे सोचिँदैन ।

२०१६ मा क्रान्ति विषयको निरन्तरता र सीमान्तीकृत महिलाका समस्यामा जोड दिइएको थियो । महिला र बालिका हिंसाको अन्त्य हुनुपर्ने भन्दै व्यवस्था परिवर्तनको आह्वानसमेत गरिएको थियो ।

२०१७ को नारा थियो— ऐक्यबद्धतामा उठौं । विश्वका धेरै क्षेत्रमा महिलामाथि विभिन्न तरिकाले शोषण, दमन भइराखेका छन् । यी दमनका पनि तहतह छन् । एउटा तह भनेको पितृसत्तात्मक संरचनाको समाज हो । यस संरचनाले महिलालाई आज्ञाकारी बनाउँछ र अधीनमा बाँधिराख्छ । अर्को तह भनेको पुँजीवादी व्यवस्थाले गरिब तथा विपन्न महिला शरीरको बिक्रीवितरण गर्नु । विश्वव्यापी पुँजीवादी र औपनिवेशिक राज्यहरूले मानिसप्रति अझ विशेष गरेर महिला शरीरलाई पनि नाफाको दृष्टिकोणले हेर्ने गर्छ । जसरी महिला शरीरको वस्तुकरण गरिँदै छ, त्यसरी नै यस पृथ्वीलाई पनि उस्तै गरी जथाभावी रूपले नष्ट गरिँदै छ । महिला र वातावरणका कुरा पनि सँगसँगै उठाउनुपर्ने विषय यस अभियानले समेटेको थियो । त्यस वर्ष आदिवासी महिला, ट्रान्सजेन्डर, माइग्रेन्ट, घरेलु कामदार, सहरी गरिबी र दास महिलामाथि हुने सबै प्रकारका हिंसा तथा दमनको अन्त्यको बहस पनि चलाइएको थियो ।

२०१८ मा ‘उठौं, प्रतिरोध गरौं र एकताबद्ध होऔं’ भन्ने नाराका साथ अभियान चलाइयो । सीमान्तीकृत र मजदुर वर्गको आवाजलाई बुलन्द पार्नुपर्ने उद्देश्य अभियानले राखेको थियो । विभेद, रंगभेद, आर्थिक हिंसा, गरिबी, सैन्यवाद, युद्ध, कर्पोरेट ग्रिडका विरुद्ध अभियानमा आवाज मुखरित पारिएको थियो ।

२०१९ मा ‘अभियानदेखि जीवनको मार्गसम्म’ भन्ने नारालाई अगाडि ल्याउँदै महिला दमनको बुझाइ फराकिलो बनाउने गरी विश्व मानवताको अवधारणाबारे चर्चा गरिएको थियो । जसले विश्वका सबै मानिसलाई एकै सूत्रमा बाँध्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको थियो । यो अवधारणा जीवनको अवधारणाभन्दा कम छैन । नारालाई अझ प्रस्ट पार्न हामी एक दिन मात्र उदाउने होइन, प्रत्येक दिन जे गर्छौं त्यसमा सचेत हुनुपर्ने भनिएको थियो । अगाडि बढ्नु, उदाउनु, उठ्नु अभियान मात्रै होइन, जीवन जिउने मार्ग पनि हो भन्ने नाराको सन्देश थियो ।

२०२० मा आइपुग्दा अभियानले ‘कम्पन उत्पन्न गराऔं, क्रान्तिका लागि उठौं’ भन्ने नारा तय गर्‍यो । अभियानकर्मीहरू भन्छन् कि हामी दक्षिणपन्थी राष्ट्रवादको बढ्दो लहरको बीचमा छौं । श्वेत सर्वोच्चताको कुरूपता, फेमिसाइड, होमोफोबिया, ट्रान्सफोबिया, कर्पोरेट लोभ, जलवायु विनाशको बढ्दो ज्वारको बीचमा छौं । हामी फाँसीवादी, बलात्कारी, जलवायु विनाशकहरूलाई हराउन सक्दैनौं । र, तिनीहरूको अवधि पनि लुट्न सक्दैनौं । हामी त्यस्तो क्रूर, लोभी वा हत्यारा कहिल्यै हुने पनि छैनौं । हामी आफू परिवर्तन हुनका लागि तिनीहरूको निन्दा, घृणा, विभाजन र विनाशमा डुब्न दिन पनि सक्दैनौं । तर हामी यति गर्न सक्छौं कि हामी विशाल छौं । हामीले आफ्नो कार्य कला, समन्वय, कल्पना र प्रेममार्फत कम्पन बढाउन भनेे सक्छौं ।

२०२१ मा महिला हिंसा र वातावरणलाई पनि सँगसँगै अभियानको मुद्दामा जोडियो । त्यस वर्षको नारा नै ‘बगैँचा बढाऊ’ राखिएको थियो । यो एक किसिमको सिर्जनात्मक आह्वान थियो । रूपान्तरणमा विभिन्न बाटामध्ये यो अवधारणा पनि एक थियो । यो न्यायका लागि आह्वान हो । सबैभन्दा ठूलो अन्याय हाम्रो पृथ्वीमाथि भएको छ । निरन्तर र समानान्तर रूपमा भइरहेको दमन महिला र पृथ्वीमाथि नै हो भन्ने निष्कर्षमा अभियान पुगेको देखिन्छ । महिला श्रमको उचित मूल्यांकन नहुनु र पृथ्वीको उत्पादनमाथि विनाश सिर्जना गर्नु महिला र वातावरणप्रति गरिएको अवहेलना हो । हामीले यी कुरामा अपनत्व लिनुपर्दछ । पृथ्वी र महिलाको संरक्षण गर्नुपर्दछ । यो संरक्षण भनेको भविष्यको कुनै पनि जीवको अस्तित्वका लागि हो भन्ने त्यस वर्षको अभियानको सन्देश थियो ।

२०२२ मा अभियानको नारा ‘महिला, बालिका र पृथ्वीका लागि उठौं’ भन्ने आशयको थियो । हरेक वर्षका नारा र उद्देश्यलाई अझ मजबुद गराउनुपर्ने पक्षलाई त्यस वर्ष जोड दिइएको थियो । ज्यादा उद्देश्यमूलक हुनुपर्ने, ज्यादा गहिराइमा गएर सोच्नुपर्ने । राजनीतिक, रूपान्तरित र आशातित बाटोबाट सशक्तीकरण गर्ने । आउँदा वर्षलाई साँच्चै आमूल, शक्तिशाली, भयरहित र कलात्मक अभियानले नै भयानक परिणाम ल्याउने अपेक्षा गरिएको थियो ।

बितेका अढाइ वर्ष कोरोना महामारीले ल्याएको संकट, लकडाउन, स्वास्थ्य समस्या, सरकारका हेलचेक््रयाइँ, गरिबी र बहिष्करणको चपेटामा तुलनात्मक रूपमा महिला नै बढी मारमा परेका छन् । महिला न्यायका लागि एउटा भिन्न खालको आन्दोलन उर्लंदो सय करोडले साँच्चै हिंसारहित तरिकाले महिलामाथि हुने हिंसाको विरोध र न्यायको माग गरेको छ । यो माग संसारभरिका पीडित महिलाको हकका खातिर हो भन्ने बुझ्न सकिन्छ ।

११ वर्षदेखि प्रत्येक फेब्रुअरी १४ का दिनलाई अवसर पारेर मनाउँदै आइएको यो अभियानले साँच्चै नै पीडित महिलाको आवाज बुलन्द पार्ने उद्देश्य बोकेकामा दुईमत छैन । यस वर्ष अभियानको नारा ‘स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनौं’ भन्ने रहेको छ । र, अभियानले यस वर्ष आवाज बुलन्द पार्नेछ— समाजमा भइरहेका बलात्कार, घृणा, बहिष्कार, हत्या, भेदभाव, शोषण, दुर्व्यवहार, युद्ध, विभाजन, शरीरमाथिको नियन्त्रण, मस्तिष्क र स्रोतमाथिको नियन्त्रणलगायत सबै स्वतन्त्रता नष्ट गर्ने फाँसीवादी सरकारहरू ! अब हामी रोकिँदैनौं ।

नेपालमा पनि यस अभियानलाई विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । विशेष गरेर गीत कविता, नाटक, नृत्यमार्फत महिला हिंसाका सवाल उठाउने गरिएको छ । यस अवधारणामा विविध कार्यक्रम र बहस भइरहे पनि गाउँगाउँका पीडितसम्म पुग्न सकेको छैन । महिला दिवसका बारेमा कैयौं मजदुर र किसान महिला अनभिज्ञ भएजस्तै उर्लंदो सय करोड अभियानबारे त झन् धेरैलाई जानकारी छैन । अभियानको नारा र मुद्दा पीडित, आदिवासी, गरिब, थिचोमिचोमा परेका महिलासँग सम्बन्धित छन् । तसर्थ यसमा सम्बन्धित व्यक्ति र समुदायलाई सचेत गराउँदै समेट्नु जरुरी छ, तब मात्र अभियानले सार्थकता पाउनेछ । के तपाईं घृणाको बदलामा प्रेम र कलामार्फत दमनको प्रतिरोध गर्न तयार हुनुहुन्छ ?

प्रकाशित : फाल्गुन २, २०८० ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?