कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कर्णालीको घुरमिच चिया

कमल मादेन

गत जेठ अन्तिम साता केही अध्ययनकर्मी मित्रहरूसँग हुम्ला पुगेका थियौं । हामी सिमकोट र खार्पुनाथ गाउँपालिकाको दोसाँधमा रहेको चुवा खोलाको किनारैकिनार दोजाम गाउँतिर जाँदै थियौं । अघि गएका शंकर बस्याललगायतका साथीहरूले स्थानीय पसलमा पर्खिरहेका रहेछन् । पसलकी साहुनीले ‘घुरमिच चिया बनाऊँ ?’ भनेर सोधिन् । त्यो कस्तो हुन्छ भनेर प्रश्न गरियो ।

कर्णालीको घुरमिच चिया

‘स्वाद ठीकै हुन्छ । यो चियाबाट पेटको गानुगोला सन्च हुन्छ,’ उनले भनिन् ।

सबैले घुरमिचको कालो चिया पियौं । बास्ना अलिअलि तुलसीको जस्तो तर अलिक फरक थियो । यो वनस्पति भदौ–असोज महिनामा जंगलबाट संकलन गरिँदो रहेछ । यसको बोट आधा फिटजतिको हुने रहेछ । दोजाममा त्यही चिया केही पटक पियौं । फर्किंदा ताराबहादुर लामाले मलाई आधी मानाजति घुरमिच कोसेलीका रूपमा दिए । घुरमिचको चिया पहिलो पटक पिएको पसलबाट ४ सय रुपैयाँमा थप १ मानाजति ल्याएँ । घरमा केही दिन नियमित रूपमा पियौं ।

बोट तथा त्यसको फूल नदेखेका कारण घुरमिचको वैज्ञानिक नाम थाहा पाउने हुटहुटी हुँदाहुँदै मेसो पाउन सकिरहेको थिइनँ । विरलै पाइने वा ठाउँविशेषमा मात्र पाइने वनस्पतिको वैज्ञानिक नाम थाहा पाउन गाह्रो हुन्छ । नेपालमा फूल फुल्ने वनस्पतिका मात्र करिब ६ हजार प्रजाति छन् । ती सबैको नालीबेली विवरण प्रकाशित भइसकेको छैन । फूलसहित बोटको तस्बिर हात परेपछि त्यस वनस्पतिको वैज्ञानिक नाम र उपयोगिता थाहा पाउन म कम्मर कसेर लागें ।

हिमालयन थाइम

घुरमिचको वैज्ञानिक नाम थाइमस लिनारिज रहेछ । यसलाई अंग्रेजीमा क्रिपिङ थाइम, हिमालयन थाइम, मदर अफ थाइम, वाइल्ड थाइम र संस्कृत आयुर्वेदमा वनज्मोडा भनिँदो रहेछ । यसको एक अर्को स्थानीय नामचाहिँ ‘प्लान्ट्स अफ नेपाल’ शीर्षक पुस्तकमा घोडा मर्चा लेखिएको छ (सन् २०२२, पृष्ठ ६९९) । उक्त वनस्पति जुम्लाबाट संकलन गरिएको पुस्तकमा जनाइएको छ । जुम्लामा सायद उक्त वनस्पतिलाई घोडा मर्चा भनिन्छ । यो वनस्पति समुद्री सतहबाट २२००–४५०० मिटर उचाइमा पाइन्छ ।

वनस्पतिसम्बन्धी अभिलेखहरू अनुसार, थाइमस लिनारिज इरान, ताजिकिस्तान, चीनको दक्षिणपश्चिमी प्रान्त सिनज्याङसहित पश्चिमी हिमालय क्षेत्रमा पाइन्छ । नेपालमा महाकालीदेखि कालीगण्डकीसम्ममा पाइँदो रहेछ । अफगानिस्तानदेखि कालीगण्डकीसम्मको हिमालय क्षेत्रलाई ‘वेस्टर्न हिमालय’ भनिन्छ । वनस्पतिको जैविक भूगोलमा पश्चिमी हिमालय क्षेत्रमा रहेका वनस्पतिलाई वेस्टर्न हिमालयन इलेमेन्ट भनिन्छ । कतिपय पश्चिम हिमालय क्षेत्रमा उद्विकास भएका वनस्पति कालीगण्डकीसम्म र त्यसभन्दा केही पूर्वसम्म आइपुगेका छन् । कालीगण्डकीभन्दा पूर्वतर्फको हिमालय क्षेत्रका वनस्पतिलाई इस्टर्न हिमालयन इलेमेन्ट भनिन्छ । कालीगण्डकी हिमालय क्षेत्रलाई पूर्वपश्चिम विभाजन गर्ने मानक मानिन्छ । पूर्वी हिमालयमा उद्विकास भएका कतिपय वनस्पति कालीगण्डकीभन्दा पश्चिममा पाइँदैनन् ।

घुरमिचको आयु १ वर्षभन्दा बढी हुँदो रहेछ । ढुंगे भिरालो जमिन छपक्कै ढाक्ने रहेछ । काण्डमा स–साना ग्रन्थी तथा रौं हुँदा रहेछन् । ‘फ्लोरा अफ पाकिस्तान’ मा लेखिएको विवरणअनुसार यसको फुलेको काण्ड २–६ सेन्टिमिटर लामो, पात ५–११ बाई २–५ मिलिमिटरसम्मको हुन्छ । पातका मुनि स–साना खैरा गानाहरू हुन्छन्, जहाँ सुगन्धित बास्ना उत्पन्न हुने ग्रन्थी हुन्छ । पुष्पदल ३.५–४ मिलिमिटर र पुष्पपत्र करिब ६ मिलिमिटर लामो हुन्छ । फूल हल्का प्याजी रंगको हुँदो रहेछ । ललितपुरको गोदावरीमा नेसनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोरेटरीमा दैलेख, बझाङ, मुस्ताङ, जाजरकोट, मनाङ, जुम्ला, डडेलधुरा, डोल्पा, हुम्लाबाट संकलन गरिएका यसका करिब २ दर्जन नमुना संगृहीत छन् ।

औषधिजन्य वनस्पति

थाइमस लिनारिजका बारेमा प्रशस्त अध्ययन–अनुसन्धान भएको रहेछ । ती अध्ययन अनुसार, यो औषधिजन्य वनस्पति नै हो । थाइमस लिनारिजमा केही ब्याक्टेरिया जस्तो स्टेफिलोकोकस ओरियस र स्युडोमोनास एरुगिनोसाविरुद्ध लड्ने शक्तिशाली एन्टिब्याक्टेरियल गुणहरू हुन्छन् (माइक्रोबियल प्याथोजेनेसिस जर्नल, भोलम १८३, अक्टोबर २०२३)। यी दुईमध्ये अघिल्लोलाई मानिसमा रोग निम्त्याउने सबैभन्दा महत्त्वपूर्ण ब्याक्टेरियाका रूपमा चिनिन्छ । यसलाई छाला र नरम तन्तुजन्य संक्रमणका निम्ति एउटा प्रमुख कारण मानिँदो रहेछ । यसले रक्तसञ्चार, निमोनिया वा हड्डी तथा जोर्नी आदिमा संक्रमण निम्त्याउँछ । यस्तै, पछिल्लो ब्याक्टेरियाले पनि छाला, रगत, फोक्सो, पाचन प्रणाली आदिमा असर पुर्‍याउँछ । घुरमिच खाँदा सम्भवत: उल्लिखित यी दुई जीवाणु (ब्याक्टेरिया प्रजाति) को संक्रमण रोक्न सकिन्छ ।

‘जर्नल अफ ड्रग रिसर्च इन आयुर्वेदिक साइन्स’ (भोलम ८, अंक १, जनवरी–मार्च २०२३) मा औषधिजन्य वनस्पतिसँग सम्बन्धित एउटा अनुसन्धानमूलक लेख छ । ‘मेडिको–इथ्नोबोटानिकल इक्स्प्लोरेसन अफ अल्मोडा फरेस्ट डिभिजन, उत्तराखण्ड, इन्डिया : निड फर द कन्जरभेसन अफ मेडिसिनल प्लान्ट्स’ शीर्षक लेखमा थाइमस लिनारिज संस्कृत नामसहित औषधिजन्य वनस्पतिका रूपमा सूचीकृत छ । त्यहाँ यो वनस्पति कोशी नदीको पूर्वतर्फ रहेको धौलछिन्नाबाट संकलन गरिएको विवरण छ ।

नारायणप्रसाद मानन्धरले नेपालमा पाइने वनस्पतिलाई स्थानीय बासिन्दाले केका लागि केकसरी उपयोग गर्छन् भनेर ‘प्लान्ट्स एन्ड पिपल अफ नेपाल’ (सन् २००२) मा लेखेका छन् । उनले प्राय: औषधिजन्य वनस्पति पिँधेर कपडछान गरेको घोल दिनमा ३ पटक ३ चम्चाका दरले खाँदा उपयोगी हुन्छ भनेका छन् । तर, केकति मात्रा पिँधेर कपडछान गर्ने र कति दिन खाने भन्ने चाही छैन । घोडा मोर्चाको रस खाँदा पेट र कलेजोको समस्या निको हुने, यसलाई तातो पानीमा मिसाएर नुहाउँदा शरीरको दुखाइ कम हुने, यो बिरुवालाई पानीमा करिब १० मिनेट उमालेर छानेको रस दैनिक ३ चम्चा खाँदा पेटको जुका मर्नेसमेत उक्त पुस्तकमा उल्लेख छ ।

कर्णालीको परम्परागत ज्ञान

थाइमस लिनारिज अर्थात् घुरमिचबारे भिन्नाभिन्नै अनुसन्धानात्मक लेखहरूमा भिन्नभिन्नै प्रयोजन उल्लेख छ, तर कुनै पनि लेखमा चियाका रूपमा उपयोग गर्नेबारे जानकारी फेला पार्न सकिएन । हुम्लाको दोजाम गाउँका बासिन्दाले ‘यो पेटमा हुने गोलागानुका लागि अत्यन्त उपयोगी हुन्छ’ भने पनि केलाई गोलागानु भनेका हुन्, थाहा भएन । मैलेचाहिँ यसको सेवनबाट पेटमा केही असजिलो हुने समस्यामा उपयोगी हुन्छ भन्ने अनुभूति गरेको छु । पेटमा असजिलो धेरै कारणबाट हुन्छ । तीमध्ये केहीमा घुरमिच सेवनबाट आराम पक्कै हुदो हो । तर, यसको साइड इफेक्ट पनि हुन सक्छ । के ख्याल गर्नुपर्छ भने, जुनसुकै वनस्पतिमा फलदायीसहित हानिकारक रसायन पनि हुन्छन् ।

मैले गत असार महिनाभरि घुरमिचको चिया खाएँ । त्यसपछि कतै साइड इफेक्ट पो होला कि भनेर अचेल कहिलेकाहीँ मात्र खाने गरेको छु । यसलाई चियाका रूपमा नियमित सेवन गर्नु केकति उपयुक्त छ भन्नेबारे थाहा पाउनुपर्छ । यसबारे विस्तृत अध्ययनको खाँचो छ । हानिकारक रहेनछ भने यसलाई कर्णालीको चिया भनेर ब्रान्डिङ गरिनुपर्छ । नेपालबाहेक अन्य देशमा यसलाई चियाका रूपमा सेवन नगरिएको हुन सक्छ । अत: कर्णाली प्रदेशले घुरमिचलाई त्यहाँको परम्परागत ज्ञानका रूपमा स्थापित गर्न पहल गर्नुपर्छ ।

प्रकाशित : पुस २, २०८० ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?