कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

नेपालमा केराको नयाँ प्रजाति

संसारभर केरा परिवार अन्तर्गत जम्मा तीन जाति छन् । त्यसमध्ये नेपालमा मुसा र इन्सेट जातिका क्रमशः मुसा बाल्बिसियना र इन्सेट ग्लाउकम रहेको जानकारी ‘प्लान्ट्स अफ नेपाल’ पुस्तकमा छ ।
कमल मादेन

विश्वका लागि नेपालबाट जंगली केराको नयाँ प्रजाति थपिएको छ । गौरव परमार, दीपक लामिछाने, हेमराज पौडेल र एना ट्रायस–ब्लासीले उक्त केराको वैज्ञानिक नाम ‘इन्सेट नेपालेन्स’ राखेका छन् । यसबारे वनस्पति अध्ययन–अनुसन्धान क्षेत्रमा संसारकै प्रतिष्ठित संस्था रोयल बोटानिकल गार्डेन क्यु लन्डनको क्यु बुलेटिन, मे २०२३ अनलाइन संस्करणमा प्रकाशित छ । यसको प्रिन्ट संस्करण आगामी सेप्टेम्बरमा प्रकाशित हुनेछ ।

नेपालमा केराको नयाँ प्रजाति

केराको काण्ड जमिनभित्र हुन्छ । बाहिर देखिने थामचाहिँ नक्कली काण्ड हो । इन्सेट नेपालेन्सको नक्कली काण्ड तराईमा हुने जहाजी केराको बोटजत्रो हुँदो रहेछ । थामको मध्यभागभन्दा फेदको भागचाहिँ दोब्बरजति मोटो र पात बोटको उचाइका तुलनामा निकै लामो हुँदो रहेछ । फलको घरी पनि निकै लामै हुन्छ । बुङ्गाचाहिँ झलक्क हेर्दा तराईतिर हुने अठिया केराजस्तो हुँदो रहेछ । अठिया केरामा जस्तै कोसाभित्र बीउ हुँदो रहेछ । यसको केही बोट हिजोआज राष्ट्रिय वनस्पति उद्यान, गोदावरी र आसपासका क्षेत्रमा प्राकृतिक अवस्थामै भेटिन्छ । यो असार चौथो हप्तासम्म फुलेको थियो ।

नेपालमा वनस्पतिका नमुना संकलन गर्न सन् १८२० मा रोयल बोटानिकल गार्डेन कलकत्ताको दोस्रो सुपरिटेन्डेन्ट नाथानियल वालिच काठमाडौं आएका थिए । उनले काठमाडौं उपत्यकामा केराको एक प्रजाति पहिले दक्षिण तथा दक्षिणपूर्व एसियामा कतै नदेखेको/नभेटेको फेला पारे । त्यो केराको वैज्ञानिक नाम ‘मुसा नेपालेन्सिस’ राखे । त्यो जानकारी रोयल बोटानिकल गार्डेन कलकत्ताको पहिलो सुपरिटेन्डेन्ट विलियम रक्सबर्घलिखित सन् १८२४ मा प्रकाशित फ्लोरा इन्डिका भोलम २ शीर्षक पुस्तकको पुष्ठ ४९२–४९४ मा छ । यो पुस्तक विलियम रक्सबर्घ निधन भइसकेपछि जम्मा दुई भोलममा प्रकाशित भएको थियो । रक्सबर्घले वालिचलाई प्रकाशित गरिदिन पुस्तकको पाण्डुलिपि जिम्मा लगाएका थिए । वालिचको व्यस्तताका कारण उक्त पुस्तक विलियम क्यारीको सम्पादनमा प्रकाशित छ । पुस्तकको बाहिरी पृष्ठमा सम्पादन गर्नेको नामपछि नेपालबाट भर्खरै नाथानियल वालिचले पत्ता लगाएको वनस्पति पनि थप गरिएको लेखिएको छ ।

विलियम रक्सबर्घका तीन छोरा तत्कालिन बेलायतको इस्ट इन्डिया कम्पनीको हर्ताकर्ता थिए । उनीहरूलाई बुबाको पुस्तकमा वालिचको नाम जोडिएको मन पर्दैन र वालिचको नाम हटाएर सोही पुस्तक पुनः तीन भोलममा सन् १८३२ मा प्रकाशन गर्छन् । यसरी पुनः प्रकाशित पुस्तकमा मुसा नेपालेन्सिस समावेश छैन । नाथानियल वालिच अहिलेसम्म दक्षिण र दक्षिण एसियामा सबैभन्दा बढी वनस्पति खोज अनुसन्धान गर्नेमा दर्ज भएका छन् । वालिचपछि कसैले, कतै पनि मुसा नेपालेन्सिस फेला पारेनन् । यसकारण, वालिचले नेपाल सम्बन्धी लेखेका पुस्तकमा यो प्रजाति समावेश गरेनन् । यसबारे सन् १९७८ मा प्रकाशित एन एनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल (भोलम १) शीर्षक पुस्तकमा ‘नेपालमा जेलाई मुसा नेपालेन्सिस भनियो, त्यो त केराको एक अर्को प्रजाति इन्सेट ग्लाउकम पो हो’ भन्ने लेखिएको छ (पृष्ठ ६२) । उसबेला मुसा जातिमा थप अर्को जाति पनि मान्न सकिने प्रजाति समावेश थिए । त्यसैले सन् १८६२ मा मुसा जातिबाटै इन्सेट जाति अलग गरियो ।

जापानका हिरोसी हाराले इन्सेट ग्लाउकमको नमुना सन् १९६३ पछि पूर्वी नेपालबाट संकलन गर्छन् । इन्सेट ग्लाउकम सन् १८२० मा भारतबाट विश्वका निम्ति नयाँ पत्तो लाग्दा यसको नाम पनि मुसा ग्लाउका राखिएको थियो । इन्सेट जाति सन् १८६२ मा नामकरण भएपछि स्वतः मुसा ग्लाउकाको वैज्ञानिक नाम इन्सेट ग्लाउकामा रूपान्तरित गरिनुपर्थ्यो । तर, यसप्रति कसैको ध्यानाकृष्ट भएन । औपचारिक रूपमा मुसा ग्लाउकालाई सन् १९४७ मा मात्र इन्सेट ग्लाउकममा रूपान्तर गरिएको जानकारी प्रकाशित भयो । हिरोसी हाराले नेपालमा मुसा नेपालेन्सिस छ भन्ने कुराको अध्याय समाप्त गरेका कारण सन् २०२२ मा प्रकाशित प्लान्ट्स अफ नेपाल शीर्षक पुस्तकमा वालिचले संकलन त्यो जंगली केरालाई इन्सेट ग्लाउकम हो भनिएको छ ।

संसारभर केरा परिवार अन्तर्गत जम्मा तीन जाति छन् । त्यसमध्ये नेपालमा मुसा र इन्सेट जातिका क्रमशः मुसा बाल्बिसियना र इन्सेट ग्लाउकम रहेको जानकारी ‘प्लान्ट्स अफ नेपाल’ पुस्तकमा छ । राष्ट्रिय वनस्पति उद्यान, गोदावरीका वनस्पति विज्ञ गौरव परमार सन् २०१६ यता नेपालको केरा परिवारका वनस्पतिमा अभिरुचि राख्दै आएका थिए । उनले काठमाडौं उपत्यकाभित्र विशेष गरेर गोदावरी आसपासका क्षेत्रमा जंगली केराको बोट देखेका थिए । त्यसको विवरण अध्ययन गर्दै लगे । उनलाई हेमराज पौडेल र दीपक लामिछानेले सरसहयोग गरे ।

विशेषतः परमारले अध्ययन गर्दै लैजाँदा त्यो जंगली केराको विवरण इन्सेट जातिसँग मिल्दोजुल्दो भएको थाहा पाए । तर, इन्सेट ग्लाउकमसँग फरक थाहा पाउन सकिरहेका थिएनन् । यसबारे नेपालको जानेमानेका वनस्पतिविज्ञसँग छलफल गरे । उनीहरूले केरा परिवारमा काम गरेर खासै केही पनि हात नलाग्ने बताए । त्यसकारण, यसको पछि नलाग्न सुझाए । तर, उनले यसको वास्तविकता के हो भन्ने कुरा पत्ता लगाएरै छाड्ने निधो गरे ।

उनले यो प्रजाति गोदावरीका अतिरिक्त थानकोटमा पनि रहेको जानकारी पाए । यसको पात त दसैंताका बजारमा पूजामा प्रयोग गरिने भएकाले काठमाडौंस्थित कालीमाटीमा बेचिँदो रहेछ । परमारले यसका सूक्ष्म विवरणको टिपोट बनाए । छलफल नेपाल हुँदै बेलायतका वनस्पति विज्ञसँग पनि भयो । एक पटक यो पंक्तिकारसँग पनि भएको थियो । यसबारे रोयल बोटानिकल गार्डेन इडिनबर्गस्थित भास्कर अधिकारीसँग छलफल पनि भयो । जब यसको विवरण फ्लोरा अफ नेपाल भाग ३ का प्रधानसम्पादक मार्क वाट्सनबाट हेरियो, यो नमुना बिश्वको निम्ति नयाँ हुन सक्ने अनुमान गरियो ।

वाट्सनले एना ट्रायस–ब्लासीलाई नाथानियल वालिचबाट स्केच गराइएको सामग्री पढ्न अनुरोध गरे । त्यो स्केच रोयल बोटानिकल गार्डेन क्युको वालिच हर्बेरियम सेक्सनमा अलपत्र अवस्थामा फेला पारियो । ट्रायस–ब्लासी एसियाको वनस्पति पहिचान र नामकरण टिममा संलग्न छिन् । ट्रायस–ब्लासीले गरेको अध्ययनमा परमारको टिपोट विवरण तथा तस्बिर नाथानियल वालिचबाट तयार गरिएको स्केच र लेखिएका विवरणसँग हुबहु मिल्यो । तर, भइदियो के भने वालिचले यसलाई मुसा जातिमा राखेका थिए । माथि उल्लेख गरियो कि परमारले तयार गरेको विवरण र खिचेका तस्बिर इन्सेट जातिसँग मिलेको थियो । यसकारण, त्यसको नाम त फरक हुने नै भयो । अन्तमा, अध्येयताहरूले यसको नामकरण इन्सेट नेपालेन्स गरे । पहिले र अहिलेमा जाति नै फरक परेका कारण यसलाई नेपालबाट विश्वका निम्ति एक नयाँ प्रजाति पत्तो लागेसरह भयो । यसैले यो सामग्री समावेश लेखको शीर्षक ‘इन्सेट नेपालेन्स, अ न्यु कम्बिनेसन, लेक्टोटाइपिफिकेसन एन्ड रिकोग्निसन एज अ डिटिस्ङ्ट स्पेसिस इन्डेमिक टु नेपाल’ लेखिएको छ ।

नेपालमा जंगली केरा दुई जातिका छन् भनेर माथि भनियो । दुईमध्ये बारीमा रोपिने केराको जातिचाहिँ मुसा हो । जुन केराको एउटा मात्र बोट वा थाम हुन्छ र त्यो थाम वरिपरि त्यसको टुसा वा झाँग हुँदैन, त्यो इन्सेट जाति अन्तर्गतको केरा हो । यसको बिरुवा बीउबाट उम्रन्छ । फलिसकेपछि त्यसको जमिनमुनिको भाग पनि मर्छ । यसअघि दक्षिण र दक्षिणपूर्व एसिया, अफ्रिका र मादागास्कर गरी इन्सेट जातिका ७ प्रजाति थिए । नेपालबाट नयाँ प्रजाति थपिएपछि यसको प्रजाति संख्या आठ पुगेको छ ।

गाउँघरमा रोपिने वा खानका लागि खेती गरिने केरा मुसा जातिको हो । यो केरा सामान्यत बीउबाट उमारिँदैन । यसको बोटमुनि गानो हुन्छ । गानोबाट टुसा वरिपरि पलाउँछ । रोप्नलाई नयाँ बिरुवा खनेर गानोबाट छुटाइन्छ । टुसा पलाउने भएकाले यसको झाङ हुन्छ, अर्थात् एकै ठाउँ छिप्पिएका, कलिला बोट हुन्छन् । संसारभर यो केरा जाति अन्तर्गत जम्मा ८३ प्रजाति छ । यो जाति दक्षिण, दक्षिणपूर्व एसिया र अस्ट्रेलियाका जंगलमा पाइन्छ । तर, हिजोआज अधिकतर रूपमा संसारभर रोपिन्छ । घर पालुवाकरण संस्करण भएपछि विविधता त हुने नै भयो ।

इन्सेट ग्लाउकम बुंगाभित्र अचार बनाएर खाने फूलको भाग हरियो रङको हुन्छ जककि इन्सेट नेपालेन्समा हल्का पहेंलो वा पर्पल कलरमा हुन्छ । यस्तै, इन्सेट ग्लाउकमको बीउको आकार ११.५–१५× ११–१३ एमएम र इन्सेट नेपालेन्सको बीउको आकार ४–८× ३–८ एमएमसम्मको हुन्छ । इन्सेट ग्लाउकमको बोट ५ मिटरसम्म अग्लो हुन्छ भने इन्सेट नेपालेन्सको डेढ मिटरसम्म हुन्छ ।

वालिचले नेपालबाट सन् १८२४ मा पत्ता लगाएको जंगली केरा वास्तवमै छ, छैन भनेर विवास्पद रहँदै आएको थियो । यसमा रहेका अन्योललाई परमार र अरूले २ सय वर्षपछि किनारा लगाइदिन सफल भए । अब यसप्रति संसारभरका वनस्पति अध्येताको टाउको दुखाइ अन्त भएको छ ।

प्रकाशित : श्रावण ५, २०८० ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?