वैदेशिक रोजगार : लैङ्गिक हिंसाको कारण कि हिंसाबाट पन्छिने उपाय?- विविधा - कान्तिपुर समाचार

वैदेशिक रोजगार : लैङ्गिक हिंसाको कारण कि हिंसाबाट पन्छिने उपाय?

स्वर्णकुमार झा

काठमाडौँ — २०७५ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म सञ्चालन गरिने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्रीले लैङ्गिक हिंसाको मुख्य कारण मध्ये वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिटेन्स भएको औंल्याएको समाचार आएको छ ।

साथै लैङ्गिक हिंसा अन्त्यका लागि वैदेशिक रोजगारीमा जाने परिपाटीको अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएको बताइएको छ । तर, हाम्रो अध्ययनमा वैदेशिक रोजगारबाट फर्केर आएका कतिपय महिला कामदारले लैङ्गिक हिंसा र विभेदबाट छुट्कारा पाउनकै लागि वैदेशिक रोजगारीमा गएको अनुभव पनि सुनाएका छन् । यही सन्दर्मा केही अनुभव साटौँ भन्ने विचारले दुईचार शब्द लेख्ने प्रयास गर्दैछु ।


राष्ट्रिय जनगणना—२०६८ अनुसार नेपालको कूल जनसंख्या लगभग २ करोड ६५ लाख छ । जसमा महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ छ । त्यस संख्यामा पनि २ लाख ३७ हजार ४ सय जना महिला नेपालमा अनुपस्थित देखिन्छन् । जसमध्ये अधिकांश महिला वैदेशिक रोजगारी गर्ने उद्देश्यले नेपाल बाहिर गएका हुन् भन्ने विश्वास गरिएको छ । पछिल्ला दुई आर्थिक वर्ष (२०७३/७४ र २०७४/७५) को तथ्यांक हेर्ने हो भने कामको खोजीमा हजारौं महिलाहरू विदेशिएका छन् । वैदेशिक रोजगार विभागबाट उक्त दुवै आवमा महिलाहरूको लागि २०–२० हजार भन्दा बढी श्रम स्वीकृति जारी गरिएको छ । अवैधानिक हैसियतमा विदेशिने महिलाहरूको त कुनै तथ्यांक नै छैन ।


वैदेशिक रोजगारबाट आर्जन गरी पठाईने रेमिटेन्सले रोजगारीमा गएका घरपरिवारलगायत नेपालको अर्थतन्त्रमा ठूलो महत्व बोकेको छ । महिलाले पठाउने रेमिटेन्सले उनीहरूको घरपरिवार चलाउन पुर्याएको योगदान पनि कम छैन । यो कुरा विभिन्न अध्ययनले पनि देखाएका छन् ।


यति हुँदाहुँदै पनि महिलाहरूबाट हुने वैदेशिक रोजगारलाई घरपरिवार तथा समाजले सजिलै स्वीकार्न सक्ने स्थिति रहेको देखिँदैन । जसका कारण रोजगारीबाट फर्केपछि उनीहरूलाई परिवार र समाजमा पुनर्स्थापित हुन विभिन्न समस्या र चुनौतीहरूको सामना गर्नुपर्ने स्थिति रहेको छ । तथापि महिलाहरूबाट हुने वैदेशिक रोजगारको सकारात्मक पक्षको चर्चा गर्दा यसबाट महिलाहरूको आत्म सम्मान, आत्म विश्वास र व्यक्तिगत स्वतन्त्रता जस्ता कुरा रोजगारीमा नजाँदाको तुलनामा बढेको देखिन्छ । तरपनि सबै घरपरिवारमा वैदेशिक रोजगारमा गएका महिलाहरूको स्थिति यस्तै छ भनेर भन्न भने सकिन्न ।


रोजगारीमा जाने सन्दर्भमै केही महिलाहरू आत्म सम्मान र व्यक्तिगत स्वतन्त्रताकै लागि गाउँ समाज, परिवार वा श्रीमान्बाट टाढा भएर वैदेशिक रोजगारमा जाने गरेको पनि देखिएको छ । गाउँ समाज, परिवार अनि श्रीमान्बाट टाढिएर वैदेशिक रोजगारमा जाने कसलाई पो रहर हुन्छ र? आखिर किन आत्म सम्मान र स्वतन्त्रताका लागि महिलाहरू गाउँ समाज, परिवार वा श्रीमान्बाट टाढिएर बस्ने वा भनौं (पुनः) वैदेशिक रोजगारमा जाने परिस्थिति सिर्जना हुन्छ त? त्यस बारेमा पनि सार्वजनिक बहस हुनु आवश्यक छ ।


यस सन्दर्भमा थप चर्चा गर्दा विगत ५ वर्षमा हामीले सामाजिक अध्ययनका क्रममा नेपालको हिमाल, पहाड, तराईका विभिन्न जिल्लाहरूको भ्रमण तथा वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरूसँग कुराकानी गर्दा— श्रीमानले श्रीमतीलाई कुटपिट गर्ने, मादक पदार्थको नशामा जथाभावी गालीगलौज गर्ने, परिवारको लागि आम्दानी नजुटाउने बरु उल्टै श्रीमतीको कमाइ पनि मादक पदार्थ खाएर सक्ने । त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएकी महिलालाई परिवार तथा समाजले शंकास्पद दृष्टिले हेर्ने, लान्छना लगाउने आदि जस्ता कारणले पनि गाउँ समाज, परिवार वा श्रीमानबाट टाढिएर महिलाहरू (पुनः) विदेश जाने गरेको विभिन्न अध्ययनबाट देखिएको छ । अर्थात् समाज र घर परिवारबाट लान्छना लगाइनुका साथै श्रीमानबाट शारीरिक तथा मानसिक यातना दिइँदा अनि पीडाबाट आहत बनेका महिला आफ्नो आत्म सम्मानका लागि, व्यक्तिगत स्वतन्त्रताका लागि वा सो पीडाबाट छुट्कारा पाउनकै लागि पनि परिवार र गाउँ समाजबाट टाढिन्छन् । यसै सिलसिलामा वैदेशिक रोजगारीबाट फर्किएर आएकी एकजना महिलाले आफ्नो अनुभव साट्दै भनेकी थिईन्, “घरमा न लोग्ने न सासू ससुरा, कसैको आडआधार केही थिएन । विदेश जानुभन्दा अघि बुढाले कति पिटे कति, अति भएर विदेश गएँ ।”


त्यस्तै अर्की एकजना महिलासँगको कुराकानीमा उनको पनि उस्तै अनुभव रहेको थियो, “श्रीमानले झुक्याएर बिहे गरे, कमाइ पनि नगर्ने अनि मेरो कमाइ पनि रक्सीमा उडाएर कुट्ने पिट्ने गर्थे । त्यसैले उनीबाट टाढिएर विदेश गएँ ।” त्यस्तै अर्की एकजना महिलाले भनिन्, “श्रीमान विदेश छँदा ममाथि शंका गर्थे । मैले घर बाहिर हिँड्डुल गरेको, काम गरेको अनि अरूसँग बोलचाल गरेको उनलाई मन पर्दैन थियो । फोनमा जहिले पनि त्यस्तो नगर भन्ने कुरा मात्रै गर्थे । यी सबैबाट दिक्क भएर म विदेश गएँ ।” ती सबै महिला पात्रहरूले व्यक्त गरेका अनुभवले सिंगो नेपाली समाजको प्रतिनिधित्व गर्दै महिलाहरूमाथि हुने गरेका दुर्ब्यवहार तथा शारीरिक अनि मानसिक यातनालाई प्रष्ट्याउने प्रयास गरेको छ ।


नेपालको संविधानले आफ्ना नागरिकलाई वाक स्वतन्त्रताका साथै जीविकोपार्जन गर्ने स्वतन्त्रता प्रदान गरेको छ । महिलाको हकमा पनि यो कुरा उत्तिकै लागू हुन्छ । महिलालाई पनि घरबाहिर हिँड्डुल गर्न, काम गर्न अनि अरूसँग बोलचाल गर्न पुरुष जत्तिकै अधिकार छ । तर त्यसको विपरित महिलाहरूबाट माथि अभिव्यक्त भएका अनुभवहरूले हाम्रो समाजमा पितृ सत्तात्मक सोच कति हावी छ भन्ने झल्काउँछ । हामी पितृ सत्तात्मक सोच भएको समाजमा हुर्केका छौँ । हाम्रो सामाजिकीकरण पनि त्यस्तै नै भएको छ । एउटी महिलाले बुवा, दाजुभाई, श्रीमान जस्ता विभिन्न रुपमा पुरुष सदस्यबाट सहयोग नलिई कुनै कामका निम्ति अग्रसर हुन सक्दिनन् भन्ने मान्यता समाजमा व्याप्त छ । लैङ्गिक असमानताका कारण पुरुषको इच्छा, आकांक्षालाई समाजमा जति सरल रूपमा ग्रहण गरिन्छ, महिलाका तिनै इच्छा, आकांक्षालाई अझ पनि सजिलै स्वीकार्न सकिने अवस्था छैन । तथापि महिलाले गरेको तथा गर्न चाहेको आय आर्जनलाई पुरुषले सम्मानजनक तरिकाले नलिनु जायज हुँदैन ।


सम्मानपूर्वक बाँच्न पाउनु सबैको हक हो । चाहे त्यो पुरुष होस् वा महिला । संविधानको धारा १६ ले पनि सबैलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रदान गरेको छ । त्यसमा कसैलाई विभेद गरेको छैन । अनि पुरुषबाट ती कुरामा महिलालाई विभेद किन? मादक पदार्थ सेवन गरेर श्रीमती कुट्नु र गालीगलौज गर्नुमा पुरुष र श्रीमान हुनुको कुनै सकारात्मक अर्थ बोध हुँदैन । बरू महिलाले गरेको आयआर्जन तथा उनलाई पनि सम्मान दिन सक्नुमा असल श्रीमान तथा पुरुषको परिचय झल्किन्छ । महिलाले गाउँ समाज, घरपरिवारमा बस्न सक्ने, काम गर्न सक्ने वातावरण पाएको भए उनी ती सबै कुरा त्यागेर टाढा अथवा विदेश जाँदिन थिईन् होला । यसको अर्थ यो पनि होइन कि महिलाहरूलाई वैदेशिक रोजगारमा जाने इच्छा हुँदैन । उनको इच्छालाई पनि हामीले सम्मान गर्नुपर्छ । साथै वैदेशिक रोजगारीबाट फर्किएपछि महिलाहरूलाई नकारात्मक दृष्टिकोणले हेर्ने, व्यवहार गर्ने र लान्छना लगाउनुभन्दा पनि गाउँसमाज, घर परिवारलगायत श्रम बजारमा उनीहरूलाई पुनर्स्थापित हुने अवसर दिईनुपर्छ । समग्रमा महिलाहरूले पनि घरपरिवार र समाजमा सम्मानजनक जीवनयापन गर्न पाउनुपर्छ । जसका लागि घरपरिवार र समाजमा त्यस अनुरुपको परिवेश तयार गर्नु आवश्यक छ । साथै वैदेशिक रोजगारलाई फरक दृष्टिकोणबाट हेर्न पनि जरुरी छ |

प्रकाशित : मंसिर १६, २०७५ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

पुन हिल पुग्ने पानोरामा ट्रेक

दीपक परियार

अन्नपूर्ण (कास्की) — हरियो वन छिचोलेर आँखै अघि हिमाल हेर्दै हिड्न म्याग्दीको पुन हिल पुग्नुपर्छ । कास्कीबाट म्याग्दी जोड्ने अन्नपूर्ण पानोरामा ट्रेक चल्तीको गन्तब्य हो । पदमार्ग आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।

घोरेपानी–पुन हिल पदमार्गको रुपमा परिचित मार्गमा यतिखेर पर्यटकको चाप छ । पदमार्गमा पर्ने होटल पर्यटकले भरिभराउँ छन् ।   कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका जोडिएका छन् । दुई जिल्लाको सिमामा पर्ने घोरेपानी पुग्ने पर्यटकको संख्या वर्षेनी बढ्दो छ । पानोरामा पदयात्रा मार्ग कास्कीको वीरेठाँटीबाट सुरु हुन्छ । वीरेठाँटीबाट तीखेढुंगा, उल्लेरी, घोरेपानी, टाडापानी, घान्द्रुक हुँदै पुन: वीरेठाँटी फर्किन मिल्छ । वीरेठाँटीबाट घान्द्रुक, टाडापानी, घोरेपानी, उल्लेरी, तीखेढुंगा हुँदै पुन: वीरेठाँटी फर्किन पनि मिल्छ । म्याग्दीको भुरुङ तातोपानीबाट शिख, घारा, मोहोरेडाँडा हुँदै पनि घोरेपानी पुगिन्छ । 

उक्त पदयात्रा मार्ग विदेशी पर्यटकले पाँच दिनमा पुरा गर्छन् । आन्तरिक पर्यटकले भने तीन दिनमै पदयात्रा सक्छन् । पहिलो दिन पोखराबाट नयाँ पुलहुँदै वीरेठाँटीसम्म मोटरमा पुगिन्छ । पोखराबाट जीपमा सिधैं उल्लेरी पुग्ने सुविधा पनि छ । विदेशी पर्यटकले भने वीरेठाँटीबाटै पदयात्रा गर्न रुचाउँछन् । वीरेठाँटीबाट साढे चार घण्टा हिडेपछि उल्लेरी पुगिन्छ । पहिलो दिन उल्लेरीमा बास बस्ने पर्यटकले भोलिपल्ट म्याग्दीको घोरेपानी–पुन हिलको यात्रा तय गर्छन् । उल्लेरीबाट वनठाँटी, नांगेठाँटीहुँदै घोरेपानी (२८६० मिटर) पुग्न तीन घण्टा लाग्छ । 

घोरेपानीबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ पुन हिल । ३२ सय १० मिटरको उचाइमा रहेको पुन हिलबाट एकाविहानै सूर्योदयको अवलोकन गर्न पर्यटक पुग्छन् । हिमालै हिमालले घेरिएको अग्लो डाँडाबाट विहानको सुनौलो किरणको स्पर्शमा पर्यटक रमाउँछन् । आठ हजार मिटरभन्दा अग्ला हिमाल अन्नपूर्ण पहिलो, धौलागिरी र मनास्लु यहींबाट देखिन्छन् । माछापुच्छ्रे, निलगिरी, गुर्जा, अन्नपूर्ण साउथ, हिउँचुलीलगायत २० भन्दा बढी सुन्दर हिमालले मनै लोभ्याउँछन् । घामको पहिलो किरण अन्नपूर्ण साउथको टुप्पोमा पर्दा सुनजस्तै टल्किन्छ । चैत वैशाखमा गुराँसले डाँडाकाँडा ढपक्कै ढाकिँदा पुन हिलबाट झनै मनमोहक दृश्यको अवलोकन गर्ने मौका पाइन्छ । पुस–माघमा हिउँ पर्दा रमाउने पर्यटकको संख्या पनि उत्तिकै हुन्छ ।  

स्थानीय होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनका अनुसार पर्यटकीय सिजनमा दैनिक ५ सय विदेशी र २ हजारसम्म आन्तरिक पर्यटक पुन हिल पुग्छन् । घारेपानीका होटलमा ५० करोड रुपैयाँ भन्दा बढी लगानी । २२ वटा सुविधा सम्पन्न होटल छन् । तीन होटल निर्माणाधीन छन् । व्यवसायीले ५० लाखदेखि तीन करोड रुपैयाँसम्म लगानी गरेका छन् । पर्यटकको माग र सुविधालाई ध्यानमा राखेर व्यवसायीले होटलको स्तरबृद्धि गर्न थालेका छन् । मेनु भने आन्तरिक पर्यटकलाई केही महँगो लाग्न सक्छ ।

पुन हिलबाट घोरेपानी झरेपछि यात्रा टाडापानीतर्फ सोझिन्छ । घोरेपानीबाट हरियो जंगल, अग्ला डाँडैडाँडाको हिंडेर टाडापानी (२६५० मि.) पुग्न साढे चार घण्टा लाग्छ । घोरेपानीमा विहानको नास्ता गरेपछि बीचमा पर्ने देउराली वा वनठाँटीमा खाना खान सकिन्छ । देउरालीबाट आधा घण्टाको उकालो चढे गुरुङ हिल पुगिन्छ । पुन हिलजस्तै गुरुङ हिलबाट पनि विहानको सूर्योदय र नजिकबाट हिमशृंखलाको अवलोकन गर्न मिल्छ । 

आठ होटल रहेको टाडापानीमा २ सय पर्यटक अटाउँछन् । सूर्योदय र हिमशृंखला हेर्न टाडापानी पनि उत्कृष्ट गन्तब्य हो । अर्को दिन टाडापानीबाट विहान नास्ता गरेपछि घान्द्रुक पुग्न चार घण्टा हिड्नुपर्छ । भैंसीखर्क हुँदै ओरालो झरेपछि घान्द्रुकमा बास बस्न पुगिन्छ । घान्द्रुकको पुरानो ढुंगेनी गाउँ डाँडागाउँ, गुरुङ संग्रहालयको अवलोकन, स्थानीय रहनसहन, भेषभुसा र परिकारको स्वाद लिन सकिन्छ । अन्तिम दिन घान्द्रुकबाट वीरेठाँटी हुँदै पोखरा फर्किन सकिन्छ । वीरेठाँटीबाट घान्द्रुक, टाडापानी हुँदै घोरेपानी पुगेर फर्किन पनि उत्तिकै दिन लाग्छ । 

गाउँगाउँमा मोटरबाटो पुगेकोले पदयात्रा मार्ग छोटिएको छ । वीरेठाँटीबाट घान्द्रुक र उल्लेरीसम्म मोटरबाटो पुगेको छ । धेरैजसो आन्तरिक पर्यटकले तीन दिनको छोटो प्याकेज रोज्छन् । पहिलो दिन पोखराबाट उल्लेरीसम्म जीपमा पुगेर तीन घण्टा हिडे घोरेपानी पुगिन्छ । दोस्रो दिन पुन हिलको अवलोकन गरी टाडापानी बास बस्ने र तेस्रो दिन टाडापानीबाट घान्द्रुकसम्म पदयात्रा गरी त्यहाँबाट जीप वा बसमा पोखरा फर्किन सकिन्छ । 

पर्यटन बोर्ड पोखरा कार्यालयका अधिकृत प्रदीप गैरे चल्तिमा रहेका गन्तव्यलाई विदेशमा थप प्रवद्र्धन गर्नुपर्ने खाँचो देख्छन् । ‘अहिले धेरैजसो पर्यटक साथीसँगीको सिफारिसको आधारमा पदयात्रामा आइरहेका छन्,’ उनी भन्छन्, ‘पदयात्रा मार्गलाई जोगाउने र अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्ने हो भने सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन गाह्रो हुँदैन ।’ सबै तस्बिरहरु : दीपक परियार/कान्तिपुर ।

प्रकाशित : मंसिर १६, २०७५ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×