प्रज्ञा प्रतिष्ठानमा महिला

प्रज्ञा प्रतिष्ठान कुनै एक विचारधारी, पक्षको मात्र थलो होइन । न त एकल जाति वा नश्लको ।
रेनुका राई

काठमाडौँ — नेपालका भाषा र वाङ्मय क्षेत्र प्रबद्र्धनका निम्ति तीनवटा प्रज्ञा प्रतिष्ठान छन्– नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठान  । तिनले ललितकला, साहित्य, संस्कृति, इतिहास, दर्शन लगायतको सम्बद्र्धनमा काम गर्छन्  ।

नेपालका भाषा र वाङ्मय क्षेत्र प्रबद्र्धनका निम्ति तीनवटा प्रज्ञा प्रतिष्ठान छन्– नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठान । तिनले ललितकला, साहित्य, संस्कृति, इतिहास, दर्शन लगायतको सम्बद्र्धनमा काम गर्छन् ।

तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिवसहित ११–११ सदस्यीय प्राज्ञ–परिषद् र प्राज्ञ सभाको चारवर्षे कार्यावधि गत भदौमा सकियो । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा विद्यमान तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्ने उल्लेख गरेको छ । तर भर्खरै सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति र सदस्य सचिवमा नियुक्ति गरेको छ । हालै तीनवटै प्रतिष्ठानमा नियुक्तिका लागि सिफारिस गर्न समिति बनाइएको छ ।

संविधानको प्रस्तावनामै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने उल्लेख छ । गणतन्त्र नेपालको राष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष छन् । स्थानीय सरकारमा प्रमुख र उपप्रमुखमध्ये एक महिला छन् । यतिखेर प्रज्ञा प्रतिष्ठानको नेतृत्व पनि समावेशी हुन्छ कि हुन्न भन्ने चासो बढेको छ ।

२०१४ सालमा स्थापित नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा पुग्ने हरेक वाङ्मय साधकको सपना हुनसक्छ । अहिले त्यो सपना बोक्ने साधकले पार्टीको झण्डामुनि आबद्ध भएकै हुनुपर्ने विडम्बनापूर्ण अवस्था छ । यद्यपि प्रज्ञा प्रतिष्ठान कुनै एक विचारधारी, पक्षको मात्र थलो होइन । नत एकल जाति वा नश्लको । देशमा १२५ जातजाति छौं र १२३ भाषा बोलिन्छ । सबै
भाषाको साहित्य, संस्कृति, इतिहास, दर्शन इत्यादि पक्षमा प्रज्ञा प्रतिष्ठानले खोज, अनुसन्धान र प्रकाशन गर्दै आएको छ ।

पञ्चायत कालभरि महिलाको स्थान शासकले टपक्क टिपेर राखेको ठाउँमा बस्नेमात्रै भयो । राजनीतिक, नागरिक स्वतन्त्रताका आन्दोलनमा महिलाको भूमिका उत्तिकै रहे पनि शासनको बागडोरचाहिंँ पुरुषकै कब्जामा रहँदै आएको छ । समय सापेक्ष शिक्षा, चेतना, विद्रोहका कारण हरेक तह र तप्कामा महिलाले पुरुषसरह क्षमता प्रदर्शन गर्दै आएका छन् । शिक्षामा सहज पहुँच, प्रेसले स्वतन्त्रताले सबैतिर चेतनास्तर बढेको छ । हरेक घरका छोराले मात्रै होइन, छोरीले समेत अनिवार्य शिक्षा आर्जन गर्न पाएका छन् । त्यसै अनुसार वाङ्मय क्षेत्रमा पनि नेपाली महिलाको स्थान अब्बल देखिँदै आएको छ ।

प्रज्ञा प्रतिष्ठानमा एक कार्यकालमा साहित्यकार गीताकेशरी सदस्य सचिवमा नियुक्त गरिए बाहेक महिलालाई प्राज्ञ सदस्यमै सीमित गरिएको देखिन्छ । शासकीय परिवर्तनले समावेशीको नाममा दलीय कोटरीका मान्छेलाई इतिहासमा नाम लेखाउनमात्रै नियुक्त गर्नुभन्दा पनि बहुभाषिक समुदायलाई बुझेर अघि बढ्न सक्ने नेतृत्व खाँचो छ । महिला मात्रै भएर पुग्दैन ।

प्रज्ञा प्रतिष्ठानको संरचना र भूमिकालाई सात प्रदेशमा प्रभावकारी कसरी बनाउने भन्नेतर्फ सरकारको ध्यानाकर्षण हुन जरुरी छ । नत्र थोरैले बोल्ने मातृभाषाका साधकका निम्ति प्रज्ञा प्रतिष्ठान हुनु र नहुनुमा फरक पर्दैन । वर्षमा एकदिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउनुले मात्रै खासै अर्थ राख्दैन ।

प्रज्ञा प्रतिष्ठानले मातृभाषा, साहित्य, संस्कृतिको श्रीवृद्धिमा लागिपरेका प्रतिभाको खोजी गरेको छैन । लोकमानसले नेपाली भाषामात्रै सबै थोक सम्झिने गरेको छ । अधिकांश मातृभाषी समुदायले आफ्नोपन गुमाउँदै जानुपरेको छ । मैले बोलेको मातृभाषालाई लेखेर केही पाउँदिन भने किन समय खेर फाल्ने भन्ने हीन भावना राज्यसंयन्त्रले उब्जाएको हो ।

संविधानले मुलुकमा बोलिने सबै भाषालाई ‘राष्ट्रभाषा’को संज्ञा दिए पनि हामी व्यक्तिले मातृभाषाको कुरो गर्दा जातीयमात्रै सम्झिने सामाजिक मानसिकता छ । यसलाई चिर्न प्रज्ञा प्रतिष्ठानको अहम् भूमिका जरुरी छ । भन्ने बेला आमाको कोखमा रहँदै सिकेको मातृभाषा हो भन्ने, तर प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा मातृ वात्सल्य नरहने अवस्था शोभनीय होइन । सरकारले सकारात्मक विचार, राम्रो छवि र सही नेतृत्व गर्नसक्ने महिला नेतृलाई उपकुलपतिमा चयन गर्नुपर्छ, ताकि नारी स्रष्टालाई प्रतिष्ठानसम्म जोडिन र प्रतिष्ठानसँग घुलमिल गर्न सरल र सहज बनोस् ।

प्रकाशित : कार्तिक ९, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

ओ दार्जिलिङ !

आफ्नै मधेसले उठाएका आवाज नसुन्ने चेष्टा गरिरहनेका लागि दार्जिलिङ त्यस्तो इयरफोन हो, जहाँ तिनले सुन्न चाहेको पहाडे राष्ट्रवादी धुन बजिरहन्छ ।
उज्जवल प्रसाईँ

काठमाडौँ — दार्जिलिंगे साहित्यकार रामलाल अधिकारीले झापाको बाहुनडाँगीमा आयोजित साहित्यिक कार्यक्रममा भने, ‘हामीलाई पारिका लेखक नभन्नु  । हिउँदमा स्याप्पै सुकिजाने मेची खोलोले हामीलाई कसरी छुट्याउन सक्छ ? हामी सबै नेपाली लेखक हौं  ।

अधिकारी रहेनन्, मेची खोलो छँदैछ । बगरमा धमिला सीमास्तम्भ उभिएकै छन् । ती स्तम्भहरू बेलाकुबेला हाम्रा राजनीतिक विवादका अप्ठ्यारा विम्ब बनिरहेकै छन् । सिमानावारिको कञ्चनजंघा एफएममा दार्जिलिङ लक्षित कार्यक्रमको नाम ‘सिमानापारि’ छँदैछ ।

राजनीतिक सिमानाले ठूलो अर्थ राख्छ । सुदूर भविष्यमा सबै सिमाना नामेट भए अर्कै कुरा, नत्र सिमानाले मान्छेका पहिचान निर्माण गर्छन्, आपसी सम्बन्ध परिभाषित गर्छन् । सिमाना राजनीतिक हो र त्यो कृत्रिम हो । त्यसको प्रभाव भने यति गहिरो छ कि हामीलाई त्यो कुनै स्वयम्भू संरचना प्रतित हुन्छ । सिमाना बेगरको दुनियाँको परिकल्पना बरु दुरुह र अप्राकृतिक भान हुन्छ ।

साहित्यिक माहोलले निबन्धकार अधिकारीलाई भावुक बनायो । कम्तीमा नेपाली साहित्यमा कृत्रिम सिमानाको उपादेयता धेरै नखोजौं भन्न चाहे । कल्पना सुखद थियो, यथार्थका आफ्नै दु:ख छन् ।

कुनै हिन्दीभाषी विहारी साहित्यकारले जनकपुर आएर त्यस्तै भावुकता व्यक्त गरेको हुनसक्छ । उसले भनेको हुनसक्छ, ‘पटना भनौं वा जनकपुर, हामी एकै हौं । हाम्रा दु:खका साझा चौतारीहरू छन्, भाषाको छानो एकै हो ।’ यी अमूक विहारी साहित्यकारको यो काल्पनिक वाक्य काठमाडौंसम्म सम्प्रेषण हुँदो हो त, काठमाडांैको चिडचिडाहट सतहमा स्पष्ट देखिन्थ्यो । कतिले त्यहाँ विस्तारवादी षड्यन्त्रको जालो पहिल्याउँथे । रामलाल अधिकारीको भावुकताले भने सिंगो काठमाडौंलाई भावुक बनाउँछ । त्यति भनेकामा उनलाई सतत धन्यवाद दिइन्छ ।

त्यसो त यथार्थको अर्को पाटो पनि छ । यताको सत्ताले दार्जिलिङमा जन्मेर नेपाललाई कर्मथलो बनाएका पारिजात र दान खालिङहरूलाई गरेको व्यवहार उति निको थिएन । पारिबाट आएर सत्ताको इर्दगिर्द घुम्नेहरूका कथा बेग्लै छन् । यहाँ राम्रो अवसर पाएर वृत्तिविकास गरेकाले नेपाली सत्ताप्रति देखाएको बफादारीका किस्सा विचित्रका छन् । राजनीतिक सिमाना एकैसाथ आर्थिक, सांस्कृतिक एवं मनोवैज्ञानिक पहेली बन्छ ।

भोग्य दार्जिलिङ
केही वर्षअघि नेपालका प्रधानमन्त्री भारत भ्रमणमा पुग्दा दिल्लीमा रहेका दार्जिलिंगे प्रबुद्ध व्यक्तिले भेटघाटको मेसो मिलाए । छोटो समयका लागि नेपाली प्रमलाई भेट्न पुगेका उनीहरूले आफ्ना भनाइ राख्नुअघि प्रमले भनेछन्, ‘दार्जिलिङका नेपालीको समस्याबारे म जानकार छु, हामी यहाँ छलफल गर्छौं ।’ उनीहरूले प्रमसमक्ष हात जोडेर बिन्ती बिसाए, ‘हामी यही कुरा गर्न आएको । कृपया तपाईंले हाम्राबारे चिन्ता नगरिदिनुहोला । हामी नेपाली नागरिक होइनौं, भारतीय नागरिक हौं । भारतभित्र गोर्खाल्यान्ड राज्य बनाउन खोजिरहेका छौं । यो तपाईंको सरोकारको विषय नबनाइदिनुहोला । तपाईंले हाम्रोबारे केही बोल्नुले हामीलाई असहयोग हुनेछ ।’

भारतीय सत्ताले दार्जिलिङका नेपालीभाषीलाई भारतीय नागरिक ठान्दैन । उनीहरूले भारतीय सत्ताप्रति आफ्नो बफादारी पटक–पटक प्रमाणित गर्नुपर्छ । अनेक समुदायले भाषाकै आधारमा राज्यको माग गरे, त्यसका लागि संघर्ष गरे । उनीहरूले राज्य पाए । गोर्खाल्यान्डको संघर्ष जारी छ । सतहका संकेत बुझ्नेहरू भन्छन्, ‘भारतीय सत्ताले गोर्खाल्यान्ड सजिलै र छिटै दिँदैन ।’ दशकौंका संघर्ष सबै व्यर्थ भएको भानमा धेरै अभियन्ता दिक्दार छन् । इन्द्रबहादुर राईजस्तो विख्यात साहित्यकारको मृत्यु हुँदा भारतको मूलधारले कतै सुइँको नपाउनु नेपालीले भोगेको अलगावको प्रमाण हो ।

नेपालका पहाडी राजनीतिज्ञ, पत्रकार एवं बुद्धिजीवी दार्जिलिङलाई हेरेर भावुक हुन्छन् । ठाउँ पाउँदा केही न केही भनिहाल्न पछि पर्दैनन् । दार्जिलिङले बनाएका भानुभक्तका शालिक, उनीहरूले वर्षेनि गर्ने सार्वजनिक रामायण पाठ, लगाउने दौरा–सुरुवाल र ढाकाटोपी, बजाउने मादल र बाँसुरीले उद्वेलित हुन्छन् । आफ्नैले भानुभक्तमाथि उठाएका प्रश्न त्याज्य तुल्याउन उता धुमधाम मनाइने भानु जयन्तीबारे लामा निबन्ध लेख्छन् ।

दार्जिलिङले निम्ता गरे उत्पात खुसी हुन्छन् । ‘नेपाली’ पहिचान जोगाउन नेपालले भन्दा ज्यादा सिक्किम र दार्जिलिङले भूमिका खेलेको बताउँदा थामिनसक्नु फुर्केका हुन्छन् । तर दार्जिलिङले भारतीय सत्तासँग गरेको लामो संघर्षबारे बुझाइ गहिर्‍याउन खोज्दैनन् । पहिला नेपालीभाषी भएर उनीहरू भारतीय नागरिक हुन सक्छन् भन्ने बोध गर्दैनन् । भारतीय सत्ताले ‘तँ पहिला नेपालीभाषी कि भारतीय ?’ भनेर सोधेको प्रश्नको अन्तर्य खुट्याउन सक्दैनन् ।

ब्रिटिस साम्राज्यले बनाइदिएको दार्जिलिङ नामको बिक्रीयोग्य वस्तु अर्थात कमोडिटीलाई सुन्दर पहाड वा चियाबगानका नाममा बेपर्वाह भोगियो । चियाबगानका बाहिरिया व्यापारी हुन् वा केवल पर्यटकीय नजरले हेर्नेहरू हुन्, उनीहरूका लागि दार्जिलिङ भोग्य वस्तुभन्दा बढी केही होइन । नेपालका पहाडे राष्ट्रवादमा ओतप्रोत मानिसमा आत्मरतिका लागि त्यसरी नै दार्जिलिङलाई भोग्ने चलन बलियो छ ।

आफ्नै मधेसले उठाएका समता र न्यायको आवाज नसुन्ने चेष्टा गरिरहनेका लागि दार्जिलिङ स्वयं त्यस्तो इयरफोन हो, जहाँ तिनले सुन्न चाहेको पहाडे राष्ट्रवादी धुन बजिरहन्छ । आवश्यक पर्दा त्यही धुन सुनिन्छ, सुनाइन्छ । त्यहाँ गोर्खाल्यान्ड आन्दोलन चर्किन थालेपछि यता थप्पडी बजाइन्छ । नत्र दार्जिलिङवासीका दैनन्दिनका संघर्षबारे यहाँ खासै छलफल हुँदैन, न कुनै गहिरो अध्ययन गरिन्छ ।

नेपाली भाषा, दौरा–सुरुवाल, टोपी र भानुभक्त उनीहरूले आफ्नो पहिचान जताउन उभ्याएका प्रतिरोधी राजनीतिक विम्ब हुन् भन्ने बोध गरिँदैन । साथै यी सांस्कृतिक विम्बमात्र पनि सिंगो दार्जिलिङ होइन भन्ने बुझ्दैनन् । आफूभित्र रहेका विविधताबारे त्यहाँका मान्छे संवेदनशील छन् भन्ने अनुभूति गर्नेहरू छैनन् । पहिचानसँग जोडिएका ती प्रतिरोधी विम्बको सम्मानभन्दा आफ्नो आत्मरति प्यारो हुने गर्छ, यता ।

दार्जिलिङको दृष्टिदोष
नेपालमा उल्लेख्य राजनीतिक परिवर्तन भएको थियो । रामवरण यादव संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति बनेका थिए । नयाँ नेपालको परिकल्पना चलिरहेको थियो । अन्यायी सामाजिक एवं राज्य संरचना बदल्ने अभियानमा थियो, नेपाल । तिनताक केही दार्जिलिंगे साहित्यकारसँग भेटघाट गर्ने मेसो मिल्यो । अनौपचारिक गफगाफका क्रममा ती लेखकहरू नेपालको पछिल्लो परिवर्तनसँग खुसी नभएको बुझियो । गपिँmदै जाँदा नाम चलेका एक कविले मुख खोले, ‘के–के नाप्यौँ भन्थे, एउटा मधिसेलाई राजा बनाएछन् । राजा मास्यौ, अब धर्म मासिन्छ । गयो नेपालीपन, अब केही रहँदैन ।’ उनले मधेसी भन्न जानेका थिएनन् । अपमानजनक ‘मधिसे’ शब्द प्रयोग गरेर रोष व्यक्त गरे ।

मधेसीभन्दा आफू बढी बफादार नेपाली भएको आत्मरतिमा रमाउनेहरू भारतमा अझै छन् । कहिलेकाहीं उनीहरू आफू भारतीय नागरिक भएको र आफ्नो पहिचानका लागि भारतभित्रै संघर्ष गर्नुपर्ने यथार्थलाई पनि नजरअन्दाज गरिदिन्छन् । नेपालका राजालाई आफ्ना संरक्षक ठान्नेहरूले राजतन्त्र अन्त्य हुँदा बेखुसी व्यक्त गरे । भोलि भारतमा आफ्नो अवस्था राम्रो नभए फर्केर राजाको शरण पर्न सजिलो हुन्छ भन्ने भाव व्यक्त गर्नेहरू छन् । त्यसैले राजालाई गद्दीबाट विदा गरेकामा उनीहरू क्षुब्ध भए । तिनले मौका पाउनासाथ यहाँको राजनीतिक परिवर्तन विरुद्ध आगो ओकल्छन् ।

मधेसमा भएका आन्दोलनलाई कतिले आफ्ना भानुभक्त, दौरा–सुरुवाल एवं नेपाली भाषा विरोधी आन्दोलनका रूपमा बुझे । यताका मधेस विरोधीहरूले निर्माण गरेका भाष्यलाई बिनाप्रश्न विश्वास गर्नेहरू उल्लेख्य छन् । मधेसले आफ्ना अलगावबारे बताउँदा उनीहरू आक्रोशित हुन्छन् । यताको सत्तालाई चुनौती दिँदा काठमाडौंतिर हेरेर च्वच्व गर्दै सहानुभूति जनाउँछन् । आफूले गरेको संघर्ष र मधेसले अलगाव विरुद्ध बोलेको आवाजमा केही समानता हुनसक्छ भन्ने सोच्दैनन् । आफूलाई दुव्र्यवहार गर्ने कुनै बंगाली वा उत्तर भारतीय मानिसको प्रतिच्छाया रामवरण यादवको अनुहारमा देख्न खोजेका कारण ती कवि आक्रोशित भएका हुन् ।

अन्त्यमा,
नेपालबारे चासो राख्ने भारतीय नेपालीले नेपालको विविधता बुझ्न जरुरी छ । यतापट्टि भने दार्जिलिङ आत्मरितका लागि प्रयोग गरिने पहाडे राष्ट्रवादी विम्ब होइन, बरु उसको अलग अस्तित्व छ भन्ने अनुभूति गहिर्‍याउन आवश्यक छ । राजनीतिक सीमासँग जोडिने जटिलताबारे संवेदनशील नहुनु यथार्थलाई नजरअन्दाज गर्नु हो । अर्को समुदायले आफ्नो अस्तित्व एवं पहिचानका लागि गरेको संघर्षलाई अपमान गर्ने छुट कसैलाई हुँदैन ।

प्रकाशित : कार्तिक ९, २०७५ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×