कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनताबाट टाढिँदै राजनीति

आजको नेता र नेतृत्व जनताको घर–आँगन र पिँढी–छिँडीतिर जानै मन गर्दैन । कथम् गइहाल्यो भने एकैछिन बस्छन् अनि हिँडिहाल्छन् ।
भैरव रिसाल

काठमाडौँ — केही दशकदेखि राजनीति जनताकहाँ जान छोडेको छ  । राजनीति होटल, रिसोर्ट, पार्टी प्यालेसहरूमा बन्धक हुनलागेको छ  । राजनीति जनताकहाँ पस्ने भनेको निर्वाचनका बेलामात्रै हुनथालेको छ । जनताकहाँ राजनीति एकछिन पस्छ, तर बस्दैन ।

जनताबाट टाढिँदै राजनीति

कहाँ बस्छ त राजनीति अचेल भनी विचार गर्दा होटलमा, रिसोर्टमा, पार्टी प्यालेसमा पस्छ, बस्छ, केही घन्टा, दिन वा हप्ता पनि । परिणाम राजनीति नेतासँगै जिल्ला वा सहर वा गाउँ जान्छ । नेतासँगै केन्द्रतर्फ फर्कन्छ । राजनीतिले दु:ख गर्न छोड्दैछ । सर्वसाधारण जनताले नेता र नेतृत्वको औपचारिक भाषण सुनेको भरमा आफ्नो मन, मस्तिष्क र परिवारका कनिष्ट सदस्यहरूका निम्ति राजनीति लगिदिनुपर्ने युग प्रबल हुँदैछ ।


राजनीतिमा अपराध प्रवेश गर्नलागेपछि राजनीति कायर हुनथालेपछि राजनीतिले दु:ख होइन, सुख रोजेपछि यो अवस्था आएको हो । राजनीति शौखिन हुनलाग्यो । यो गाउँमा जान रुचि राख्दैन, जनताको घरमा बास बस्न त झनै मान्दैन, मान्दै मान्दैन । राजनीतिले बास बस्न, रात बस्न सुविधा सम्पन्न होटल रोज्न थाल्यो, होटल खोज्न थाल्यो । होटलमा बस्ने चाख र शोख भएपछि जनताको घरमा किन जान्थ्यो, राजनीति ? गए पनि किन बस्थ्यो ? अनि जनताले किन माया गर्ने, किन प्रेम गर्ने ? आजको नेता र नेतृत्व जनताको घर–आँगन र पिँढी–छिँडीतिर जानै मन गर्दैन । कथं गइहाल्यो भने एकैछिन बस्छ, हिँडिहाल्छ । आम र सर्वसाधारण जनता राजनीतिमा आउने कसरी ? राजनीति जनताको अगेनोमा आगो ताप्थ्यो, भान्छामा खान्थ्यो, मूल ओछ्यानमा बस्थ्यो, अनि त जनताको हुन्थ्यो राजनीति ।

यसरी जान्थ्यो, जनताकहाँ राजनीति
नूतन थपलिया नेपाली कांग्रेसको राजनीति गर्थे, राणा शासनमै । उनी सकारै उठ्थे, बनेपा जान्थे, पैदलै प्राय: । खोपासीसम्म पनि जानुपर्ने कहिलेकाहीं राजदास, हंसराजहरूसँग भेट्थे । राजदासहरू नेवार हुँदा उनीहरूको भान्सामा भात खाने चलन थिएन, थपलियाहरूको । कहिले बनेपा खोपासीमा बास बस्नुपर्ने । भोलिपल्ट भक्तपुरमा केशवनारायण भुजुकहाँ आउँथे । उनी पनि नेवार भएकोले भात खान नहुने । तब दहीच्युरा खान्थे । कांग्रेसले पनि नेवारको भातभान्सै नचलाएको युग थियो, त्यो । भातभान्सा चल्दैनथ्यो, तर राजनीति चल्थ्यो । नूतन थपलिया काठमाडौंको–केन्द्रको राजनीति भक्तपुर, बनेपा, खोपासीतिर लान्थे । त्यताको राजनीति केन्द्रमा ल्याउँथे । यसरी परिचालन हुन्थ्यो, जनताको राजनीति ।


एकपल्ट ज्युँदा सहिद रामहरि शर्मा प्रजापरिषदको राजनीति गर्दै सिरहा गएछन् । जाने, बस्ने, खाने त जनताकै घरमा हो । बेलुकीको खाना दलित कार्यकर्ताको घरमा खाएर आएछन् । बास बस्ने त गैरदलितकहाँ नै हो । उनलाई बडो मुस्किल परेछ, बास बस्ने घरकी गृहिणीलाई दलितको घरमा खाएको कुरा चित्त बुझाउन ।


२०३५ सालमा गाउँ फर्क राष्ट्रिय अभियानका अध्यक्ष विश्वबन्धु थापा सुदूर पश्चिम बझाङ, दार्चुला, बैतडी, डडेलधुराको यात्रामा गए । म पनि मिसिएँ त्यो टोलीमा, राससको पत्रकारको हैसियतमा । स्लिपिङ ब्याग पनि बोक्ने चलन आइसकेको थिएन । हाम्रो टोलीमा ४ जना थियौं । हामीलाई बैतडी सदरमुकाम आइपुग्न ७ दिन लाग्यो । ती ६ रात हाम्रो टोली जनताको कतै चोटामा, कतै छिँडीमा, पिँढीमा, सुत्यौं । दिसापिसाब गर्ने गाउँमा शौचालयको सामान्य चेतनासम्म पनि थिएन । नुहाउने भन्ने प्रश्नै आएन । लगाएको कपडा धुन पनि अनुकूल नपर्ने । विश्वबन्धु केही जोर लुगा लाँदारहेछन्, साथमा । ४/५ दिन लगायो । मैलो भो बास बसेको घरमै त्यो लगाएको लुगा दियो । अर्को लुगा लायो । लुगा धुने झन्झटै पार । यसरी जान्थ्यो, जनताकहाँ राजनीति । अनि हुन्थ्यो, जनताको राजनीति ।

नेताहरूको मात्र बन्यो, राजनीति
अञ्चल सदरमुकाम, जिल्ला सदरमुकामहरूमा होटल बने । जहाँ सुत्ने कोठामै टाँसिएको रेष्टरुम (शौचालय स्नानागार) तातोपानी जुनै बेला रेष्टरुममा । जब राजनीतिलाई जनतामा लैजाने राजनीतिक नेतृत्व र नेता जनताको घरमा बास बस्न छाडे । हुँदाहुँदा कार्यकर्ता पनि जनताको घरमा जानै छाडे, बास बस्नै छाडे । अट्याच बाथरुमवाला होटल भो, बस्ने र खाने ठेगाना । नेता जनताकहाँ बास बस्थे, जनताको सुखदु:ख बुझ्थे, उनीहरू कुन धातुको भाँडामा खाना बनाउँछन्, केले खाना बनाउँछन् भन्ने त बुझ्नै नपर्ने । दाउरा वा गुइँठाको विकल्प नै थिएन । गाउँमा बिजुली थिएन ।


कांग्रेसी नेता बस्ने जिल्ला कांग्रेसको घरमा मैनटोल अपवादमा नत्र लालटिन । वामपन्थी नेता बास बस्ने घरमा त मट्टितेलको टुकी वा डिबिया । भोलिपल्ट नुहाउन कतै ट्युबवेल, कतै इनार तराईतिर, पहाडतिर कतै धारा, कतै कुवा, पँधेरा, कतै खोला । नेता त्यतै नुहाउँथे । बाल्टिन, लोटा, अम्खोरा प्रयोग हुन्थे । बास बसेको घरका किशोर–किशोरी, गृहिणी, गृहस्थहरू नेताका केही कुरा सुन्थे । नेताको व्यवहार देख्थे, सिक्थे । नेता पनि जनताको दैनिकी हेर्थे, देख्थे, भोग्थे । तब पुग्थ्यो, जनताकहाँ राजनीति । नेता र नेतृत्वको जीवनशैलीमा आएको परिवर्तन, बेड टिको व्यवहारले राजनीति जनताकहाँ जानै छाड्यो । यसैले राजनीति जनताको नभएर नेताहरूको मात्र हुनलाग्यो ।

कृत्रिम यत्न
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला राजनीति एकपल्ट महिनामा एकदिन केही घन्टा जनताकहाँ जान जमर्को गरेको थियो । तर आम र सर्वसाधारण जनताको घर व्यवहार र दु:ख यस्तो थियो, जहाँ नेता, नेतृत्वको जीवनशैली बिहान र बेलुकीमा कहालीलाग्दो फरक छ । स्वास्थ्य, सरसफाइ, खानपिन, बसाइ आदिका दृष्टिले । तसर्थ बाबुरामको त्यो प्रयासले कृत्रिम रूप लिन पुग्यो । भान्सा मात्र दलितको भो, गरिबको भो । परिकार र खाद्य पेयपदार्थ अपवादका एक–दुई वस्तु छोडेर दलितको भएन, गरिबको भएन । वास्तवमा बनावटी भो । त्यो पनि टुट्यो, बाबुरामपछि ।


एउटा समारोहमा गणतन्त्र नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादव भन्दै थिए– राजनीति जनतामा जान छाड्यो । जनतामा कसरी राजनीति लैजाने र क–कसले लैजाने भन्ने गम्भीर सवाल तेर्सिएको छ । यो चेत उनमा रहेछ वा कताबाट आयो भन्ने लाग्यो मलाई । यद्यपि त्यो अनुष्ठानमा हामीलाई बोलाएको भन्दा उनी डेढ घन्टापछि मात्र आए । आउँदा पनि जनता तर्सने सुरक्षा घेरामा । बोलाएकै समयमा पुगेका धेरैले डा. यादवका कुरा काटे, आलोचना गरे । म पनि मिसिएँ, यसमा ।

राजनीति ठेकेदारीकरणतिर
डा. बाबुराम भट्टराईले थालेको प्रयास र डा. रामवरण यादवले गरेको गुनासो मेरो विचारमा गम्भीर मुद्दा हो । यी दुवै गुनासोलाई व्यापक छलफलमा ल्याउन जरुरी लाग्छ । राजनीति ठेकेदारीकरण र ठेकदारी राजनीतीकरण भइरहेको आजको यथार्थमा राजनीति जनतामा जान सम्भव छ वा छैन ? मेरो मनमा प्रश्न उठ्न थालेको छ । एउटा कुरा अघिल्लो समयमा निकै व्यापक रूपमा आउँथ्यो, राजनीति अपराधीकराण भो र अझ अगाडि बढेर अपराध नै राजनीतीकरण भो भन्ने जनताको आम राय हुनआयो । राजनीति जनतामा जान छाडेपछि पैसा नै राजनीतिमा लुटपुटिने आधार हुनलाग्यो ।


नेपाली कांग्रेसको गत महाधिवेशनमा आउनेमध्ये धेरै जनाले भने चुनाव महंँगो भो । तल्लो तहको सम्मेलनदेखि नै उम्मेदवार हुने कार्यकर्ताले महाधिवेशनमा भाग लिन आउने मतदाताको यातायातदेखि होटलसम्मको खर्च बेहोर्नैपर्ने भो । तसर्थ राजनीति जनतामा जान सकेन । हुनेखानेहरूकै सेरोफेरोमा सीमित हुनलाग्यो । अब आयोजनाहरूमा हुने भ्रष्टाचार मुहानमै हुनलाग्यो । मुहान भनेको नीतिगत तह हो । नीतिगत तहमै भ्रष्टाचार हुने भएपछि भ्रष्टाचार व्यापक हुनथाल्नु त्यसको प्रतिफल हो । मेरो विचारमा अपराध राजनीतीकरण हुनुभन्दा ठेकेदारी पद्धति राजनीतीकरण हुनु भनेको भ्रष्टाचार व्यापक हुनु हो ।


किनभने अपराधको दाँजोमा ठेकेदारीको संख्या ज्यादै धेरै हुन्छ । अपराध र अपराधी धेरै कायर हुन्छ, डरपोक हुन्छ । परन्तु ठेकेदार कायर हुँदैन, बरु जोदाहा हुन्छ । सोझै अपराध गरेर कमाउनु धेरै बदनाम हुनु पनि हो । यसर्थ ठेक्कापट्टाको तुलनामा अपराधको संख्या सारै न्युन हुन्छ । ठेकेदारहरू त जनतामा जुध्ने हिसाबमा देखा परिसके । यस मामिलामा मेरो हिसाबमा ती ठेकेदारभन्दा तिनलाई प्रत्याशी गराउने पार्टीको नेतृत्व दोषी हो, भ्रष्टाचारी हो ।


हालको संघीय प्रतिनिधिसभामा ३ जना सांसद त नामुद ठेकदार रहेछन् । तिनलाई चुनावको टिकट दिने को–को हो ? कुरो छ्याङ्गै भएन र ? समष्टिमा मेरो निष्कर्षमा राजनीति गाउँमा, टोलमा, जनतामा नगएको परिणाम हो । राजनीतिलाई वास्तवमै भ्रष्ट हुन, ठेकदारको हुन नदिने हो भने राजनीति टोलमा, गाउँका घरमा जानैपर्छ । होटलको सुविधा र सहुलियत रोज्ने राजनीति कसरी चोखो हुन्छ, जनताको हुन्छ ? उत्तर चाहियो ।

प्रकाशित : आश्विन २७, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?