कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनस्पतिको व्यवसायीकरण

नारायण घिमिरे

काठमाडौँ — स्याङ्जा खयर निर्यातमा कहलिएको छ । स्याङजाको सामथ्र्यको प्रमुख आधार खयर हो । खयरको बोक्राबाट निकालिने खैरो धुलोमा ‘क्याटेचिन’ र ‘इपिक्याटेचिन’ हुन्छ ।

वनस्पतिको व्यवसायीकरण

खयरको बोक्रा र जराबाट निकालिने खैरो र टर्राे ठोस एन्टी–माइक्रोबियल गुणकै कारण आयुर्वेद र अन्य औषधिमा प्रयोग हुँदै आएको छ । उहिले झाडापखाला लाग्दा र घाउखटिरा हुँदा ब्याक्टेरियाको संक्रमण नहोस् भनी खयरको पात र हरियो डाँठ घोटेर लेप लगाउने चलन थियो । खयर प्राकृतिक स्वास्थ्य उत्पादनको पूरकका रूपमा प्रयोग भएको वर्षौं भयो ।


खयरको दानाबाट निकालिएको ‘इथानोल एक्स्ट्रयाक्ट’मा हुने इपिक्याटेचिन, रुटिन र क्रुएरसिटिन मानिसमा क्यान्सर सेल मार्न उपयोगी हुँदै आएका छन् । बिउको झोल एन्टी–ब्याक्टेरियल गुणका लागि प्रख्यात छ । चुरो काठमा हुने ‘मिथानोलिक सोलिड एक्सट्रयाक्ट’ पनि उपयोगी छ । यसबाट निकालिएको गाढा खैरो रङको काटेचु र पेगु काटेचु कच्चा छालालाई चम्किलो बनाउन, कपास, सिल्क, कागज, टेन्ट आदिमा रङ गाढा बनाउन र मानिसकै कपाल खैरो पार्न प्रयोग हुन्छ । चुरो काठलाई पानीमा धेरै बेर उमालेपछि चिस्याउँदा आउने ‘सोलिड एक्सट्रयाक्ट’ पान–सुर्ती आदिसँग लगाएर खाने अचुक कत्था हो । कत्था आयुर्वेदिक लगायत धेरै औषधिमा प्रयोग हुने गरेको छ ।


खयर काट्दा बिग्रिएको चुरो काठको धोद्रो परेको भागमा क्रिस्टलजस्तो जमेको भेटिन्छ । त्यसलाई खेर्सल भनिन्छ । खेर्सल कफ हुँदा र घाँटी दुख्दा औषधिका रूपमा प्रयोग हुन्छ । खयर क्रोनिक अल्सर, ग्यास्ट्रिक, झाडापखाला, आउँ, रक्तचाप, दम, कफ आदि रोग निदानका लागि बनाइने औषधि र आयुर्वेदिक पूरकमा उपयोग हुन्छ । दाँत, मुख र घाँटीमा परजीवी संक्रमण हुँदा औषधिकरू रुपमा र संक्रमण नभएका बेला सरसफाइका लागि खयर प्रयोग गर्न सकिन्छ ।


खयरबाट निकालिएका तत्त्व दन्तमन्जन, साबुन, स्याम्पु आदिमा प्रयोग गरिएका छन् । यसलाई पछिल्लो समय अमेरिकन फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले मानव खाद्य प्रयोजन र कस्मेटिक प्रयोजनका लागि सुरक्षित पदार्थका रूपमा राखेको छ ।


खानामा आयुर्वेदिक, औषधिजन्य गुण र फ्लेवर दिने प्रयोजनका लागि खयरको सोलिड एक्सट्रयाक्टको उपयोग बढिरहेको छ । यसले खाना र कस्मेटिकमा म्याद गुज्रने मिति बढाउन मद्दत गर्छ । एफडीएका अनुसार बेकरीमा १४०, ननअल्कोहोलिक पेय पदार्थमा १६, फ्रोजन डेरी र आइसमा २१, हार्डक्यान्डीमा १४० पीपीएमसम्म सोलिड एक्सट्रयाक्ट हाल्नु सुरक्षित मानिन्छ । कस्मेटिकका हकमा खयरको सोलिड एक्सट्रयाक्टलाई मुखमा दल्ने पाउडर र कपालमा लगाइने मेहेन्दीमा प्रयोग गर्न सिफारिस गरिएको छ ।


खयरको चुरो काठलाई सेतो कमिला र धुलियाले खाँदैन । घरगोठको खाँबो, कृषिको पोस्ट, काठको पांग्रा आदि बनाउन खयर प्रयोग हुन्छ । खयर राम्रो दाउरा पनि हो । खयर बाख्राका लागि डाले घाँसका रूपमा प्रयोग हुन्छ । रुखमा प्रशस्त मात्रामा लक्छेकिरा लाग्छ । त्यसले काठका रेजिन छपक्कै निकालिदिन्छ । रेजिन अर्थात् लाक बिजुलीबाट चल्ने उपकरणलाई पानीको संक्रमणबाट जोगाउन प्रयोग हुन्छ । लक्छेकिराका लागि भारत र चीनमा व्यावसायिक रूपमै खयर खेती भइरहेको छ । खयरको सम्पूर्ण भाग मानव कल्याणमा उपयोगी हुन्छ ।


नेपालमा पाइने लगभग ७ हजार प्रजातिका वनस्पतिमा लगभग १ हजार ५ सयको मेडिसिनल (औषधीय) र एरोमेटिक (सुगन्धित) मूल्यबारे धेरथोर जानकारी भइसकेको छ । १ सय ४० भन्दा बढी एरोमेटिक र मेडिसिनल वनस्पतिको कारोबार भइरहेको छ । तत्काल उपयोग गर्न सकिने र नयाँ पुस्ताले पछि आविष्कार गर्नसक्ने सम्भावनाका आधारमा नेपालका सम्पूर्ण वनस्पति खयरजस्तै महत्त्वपूर्ण हुन सक्छन् । समयक्रममा मेडिसिनल र एरोमेटिक बिरुवाको व्यावसायिक मुकाम हुनेछ । जतिसक्दो चाँडो प्रतिफल लिन मेडिसिनल र एरोमेटिक मूल्य पहिचान गर्नुपर्छ ।


सन् २०१४ को भूमि सम्बन्धी तथ्यांक अनुसार १६ प्रतिशत खेती गरिएको जमिन छ । हामीले पुस्तौंदेखि मात्र १६ प्रतिशत जमिनमा कृषिको ८० प्रतिशत लगानी घोप्टाए पनि किसानको जीवनस्तर उँभो लागेन । त्यसको विकल्प खुट्याउनसमेत सकिएन ।


नेपालको जंगल भनिएको २४ प्रतिशत र अन्य ४४.०८ प्रतिशत गरी ६८.०८ प्रतिशत भूभागमा सजिलै उम्रने र हुर्कने वनस्पति, जीवको मूल्य पहिचान, प्रशोधन र व्यावसायिकीकरणतर्फ हाम्रो ध्यान पुगेन । नीति निर्माता र कृषिविज्ञले आफ्नै नाभीमा रहेको कस्तुरी पहिचान नगरिदिँदा कृषिका उपजसमेत आयात गर्नु परिरहेको छ ।
लेखक खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?