कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कार र बलात्कार

महिलालाई सम्मान गर्ने पुरुष भएको समाजमा बलात्कार कल्पना गर्न सकिन्न ।
बसन्त महर्जन

काठमाडौँ — बलात्कारका घटना यतिविधि किन बढेको होला भन्ने प्रश्नलाई सामान्यत: यौनसँग जोडेर बुझ्ने र बुझाउने गरेको पाइन्छ । बलात्कारका अनेक कारणमा यौनजन्य आपराधिकता एक भएको नकार्न मिल्दैन । समाज विज्ञानका विद्यार्थी वा अध्येताले यसलाई यौनिकताको मात्रै चस्मा लगाएर हेर्न मिल्दैन ।

संस्कार र बलात्कार

कुण्ठित यौन भावनाको विस्फोट बलात्कारकै रूपमा हुन्छ भन्ने छैन । मनोविज्ञान अनुसार यस्तो कुण्ठित यौन भावनाको प्रकट व्यक्ति स्वयंमा सीमित सानातिना घटनामा पनि भइरहेको हुन्छ । बलात्कार जस्तो जघन्य अपराधको स्रोत नखोज्नु र त्यसको उपचार नगर्नु, तर बलात्कार विरुद्ध टिप्पणी र सत्तोसराप गर्नु एक खाले भ्रममा रमाउनु मात्रै हुनेछ ।


बलात्कार जस्ता कृत्य अनेक प्रकारबाट हुने गर्छन् । नेपाल र भारतमा प्राय: पुरुषबाट महिला बलात्कृत हुने गर्छ । ती घटना केलाउँदा आर्थिक, सामाजिक, शारीरिक तथा अन्य दृष्टिले सक्षम महिलाप्रति बलात्कारीले आँखा उठाएर पनि हेर्न नसकेको तर नाबालिका, अशक्त तथा सामान्य महिला बढी मात्रामा पीडित हुनुपरेको पाइन्छ । साँच्चैको कमजोर वा मनोवैज्ञानिक रूपमा कमजोर भनिएकाहरू बलात्कृत हुने गरेका छन् । यही स्वभाव हामै्र घरभित्र पनि पाउँछौं ।


सामान्यत: घर व्यवहारमा श्रीमान–श्रीमती वा अन्य नाता सम्बन्धको संरचनाले पनि झल्को दिन्छ । श्रीमती होस् वा छोरी बुहारी, आमा होउन् वा हजुरआमा, पुरुषभन्दा कमजोर र निम्न स्तरका हुन्छन् भन्ने मनोविज्ञान हाम्रो समाजमा छ । यही मनोविज्ञान हाम्रो आदर्श वा मार्गनिर्देश भइदिएको छ । पुरुष हैकमको यो अप्राकृतिक अवधारणा पुरुष स्वयंले बोल्नु पर्दैन, महिलाले बोलिदिन्छन् ।


पुरुष हैकमका साहित्यको आलोचना आजभोलि स्वयं पुरुष र महिलाले गर्छन् । तर पढेलेखेका र महिला अधिकारकै कुरा गरेर पहिचान बनाएका महिला पनि ती महिला विरोधी साहित्य र साहित्यकारको पक्षधर भई बचावटमा लागिरहेको देखिन्छ । यसलाई लय हालेर महिलाले चिर्बिरचिर्बिर गरेर गाइदिएपछि पुरुष अहंता झाङ्गिनु स्वाभाविक हो ।


हाम्रा संस्कार र संस्कृतिको स्रोत विभिन्न धर्मग्रन्थ तथा परम्परागत आख्यान हुने गरेका छन् । रहन–सहन तथा सोचविचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यसैबाट प्रभावित हुन्छन् । ती स्रोत हाम्रो मार्गनिर्देश वा आदर्शका रूपमा ग्रहण गरिरहेका छौं । ती स्रोतमा के कस्ता कुरा छन् र ती जस्ताको तस्तै अनुकरणीय छन् कि छैनन् भन्ने विषयमा हामी प्राय: वास्ता गर्दैनौं । हामीले हाम्रो आदर्श वा आस्थाको चिनो मान्दै आइरहेका ती धार्मिक ग्रन्थमध्ये कतिपयले महिला विरुद्ध विषवमन गरिहेको पाइन्छन् ।


महिलालाई नकारात्मक रूपमा प्रस्तुत गरिएका ग्रन्थको सूची लामै बन्छ । ती आख्यानहरू आफ्नो धारणा स्पष्ट पार्न बनाइएका हुन् । तिनमा न ऐतिहासिकताको झलक पाइन्छ न तार्किकता । बलात्कार लगायतका महिला हिंसाका कतिपय स्वरुप ती आख्यानमा यत्रतत्र पाइन्छन् । तर तिनै आख्यानका महिलाद्वेषी पुरुष पात्रलाई विभिन्न नामका देवता भनी स्तुति गर्छाैं । महिलालाई हेप्ने ग्रन्थ आदर्शका हुन्छन् र बलात्कारी पात्र देवता ठान्छौं भने त्यहाँ शील सदाचारका र भाइचारा स्वत: निमिट्यान्न हुन्छ । हाम्रो परम्परागत आदर्श महिला विरोधी छ, त्यही आदर्श पछ्याउँदा असल हुने शिक्षा दिइन्छ भने जतिसुकै राजनीतिक परिवर्तन भए पनि सामाजिक मूल्य–मान्यतामा खासै असर पर्दैन ।


एक युवतीलाई एक युवकले प्रेम प्रस्ताव राख्दा अस्वीकार गर्नुको परिणाम युवती बलात्कृत हुन्छे । सजायको भागिदार हुनुपर्ने भयले हत्या गरिन्छ । केही दिन अघिमात्रै प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण अनुहारमा तेजाब छ्यापियो, छुरा रोपियो । यस्ता घटनाको फेहरिस्त लामो हुन्छ । फेहरिस्त पुरुष अहंताको विभत्स रूप हो । यस्तो अपराधकर्ममा संलग्न हुने विरुद्ध दण्ड–सजाय सशक्त हुनसकेको भए केही सुधार आउन सक्थ्यो ।


कुनै पुरुषको चाहनामा कुनै महिला समर्पित हुनैपर्छ भन्ने कुनै बेलाको भद्दा आदर्श होला, तर त्यसलाई आज पनि अनुशरण गर्नैपर्छ भन्ने के जरुरी ? समाजमा प्रचलित र परम्परा भनिएको तानी विवाह त्यसैको एउटा अवशेष हो, महिलाप्रतिको हेपाहा दृष्टिकोण हो ।


महिला अधिकार, समानता, स्वतन्त्रता र मानव अधिकारका कुरा गर्नु, तर महिला विरोधी शास्त्र र संस्कार, संस्कृतिमा अलिकति ठेस पुग्दा आपत्ति जनाउनु द्वैध चरित्र हो । द्वैधचरित्रधारीहरूले बलात्कार विरुद्धका गतिविधिमा संलग्न हुने नैतिक हैसियत गुमाइसकेका हुन्छन् । महिला विरुद्ध हुने बलात्कारको स्रोतलाई मलजल गर्नु मानवताको विरोध हो ।


पुरुष र महिलाबीच एकले अर्कालाई कसरी हेर्ने भन्ने मार्गनिर्देश द्वेषपूर्ण, पूर्वाग्रही र असमान छन् । हाम्रा आदर्शहरू महिलालाई कमजोर ठान्छन् । छोरा र छोरीलाई दिइने शिक्षा र संस्कार भिन्न छ । छोरी मान्छे सधैं दबिएरै बस्नुपर्छ र पुरुषको अहंतालाई महिलाले मलजल गर्नुपर्छ भन्ने हाम्रा ग्रन्थहरूको आदर्श हो ।


श्रीमान र श्रीमतीबीच समानार्थी सम्बोधन नहुनु नेपाली समाजको कटु सत्य हो । श्रीमतीबाट ‘तपाई’ वा हजुर’ सम्बोधन पाएको श्रीमानले प्राय: ‘तँ’ वा तिमी’ सम्बोधन गरेको पाइन्छ । उच्च शिक्षा प्राप्त वा सभ्य भनिएको घरमा पनि यही समस्या छ । भाषामै यो विभेद भएपछि व्यवहारमा विभेद हुनु स्वाभाविक हो ।


गलत शिक्षा दिने ग्रन्थहरूको परिवर्तन वा संशोधन गर्न व्यक्तिले नसक्ला, तर आफ्नै प्रियसीलाई समानार्थी सम्बोधन गरेर परिवर्तन आफैबाट सुरु गर्न कसले बाधा पार्ला र ? यहाँ संस्कार, संस्कृति वा धार्मिक ग्रन्थ भनेर कुनै निश्चित जातीय वा धार्मिक सम्प्रदायको नाम नलिनुको कारण विषयान्तरण हुने भय हो । व्यक्तिबाट सुरु हुने यो परिवर्तनले महिला–पुरुष दुबैको मनमस्तिष्कमा तुरुन्तै बहुआयामिक असर पर्छ । महिलालाई हेर्ने गलत दृष्टिकोण स्वत: निष्क्रिय हुनजान्छ ।


महिलाप्रति हेर्ने दृष्टिकोण सम्मानजनक हुने हो भने असमानताको सन्देश दिने तत्तत् ग्रन्थका वाक्य स्वत: निष्प्रभावी हुन जान्छन् र समाजमा नयाँ वातावरण सिर्जना हुन्छ । महिलालाई सम्मान गर्ने पुरुष भएको समाजमा बलात्कार कल्पना गर्न सकिन्न ।


लेखक धर्म–संस्कृतिका अध्येता हुन् ।

प्रकाशित : आश्विन १५, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?