कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

साइकल संस्कृति

साइकलले महिलाहरूको सशक्तीकरण गर्छ भने केटाकेटीलाई मानसिक र शारीरिक विकासमा सहयोग ।
रत्नराम श्रेष्ठ

काठमाडौँ — तराईका फराकिलो मैदानका बस्तीहरूमा साइकल सहज यात्राको साधन हो । साइकलको पाउदानीमा खुट्टाको बलले गति र ह्यान्डलमा हातको हँकाइदिन जाने चढ्नेले स्वतन्त्रताको सौन्दर्य र गतिशीलताको शीतल अनुभूति हरेक यात्रामा अनुभव गर्न सक्नेछ ।

साइकल संस्कृति

साइकल महँगो साधन पनि होइन । न यसलाई पेट्रोल, डिजेल नै चाहिन्छ । बिग्रे पनि ३०/४० देखि ३००/४०० रुपैयाँमा बनाउन सकिन्छ ।


तराईको साइकल संस्कृति बुझ्न बिहान र साँझ काम वा स्कुल, कलेज हिँडेका वा फर्किरहेका साइकल यात्रीहरू सडक, बाटाहरूमा दौडिँदै गरेको दृश्य काफी छन् । अझै हाटबजारको दिन साइकल लाम लागेको दृश्य । स्कुल, कलेजहरूमा साइकल स्ट्यान्डहरूमा बिसाइएको साइकलहरू । साइकलको सौन्दर्य त्यतिखेर महसुस हुन्छ, जतिखेर साना केटाकेटी तथा युवतीदेखि पाका महिलाहरूसमेत सडक, बाटाहरूमा स्वतन्त्र र स्वछन्दतापूर्वक साइकल चलाउँदै गन्तव्यतिर लागिरहेका हुन्छन् । साइकलले महिलाहरूको सशक्तीकरण गर्छ भने केटाकेटीलाई मानसिक र शारीरिक विकासमा सहयोग ।


तराई क्षेत्रमा हरेक वर्ष धमाधम सडक बन्दै गएका छन् । भएका सडकलाई चौडा बनाइँदै छ । यी सडकहरूमा आवश्यक साइकल लेन र उपयुक्त फुटपाथ बनाउन सजिलो छ । तर हुन सकिरहेको छैन । सडक चिल्लो र चौडा गर्दैगर्दा बढ्दै गरेको निजी मोटरगाडी, कार, बाइकहरू थपिँदै र गति पनि अधिक हुँदै गर्दा पैदलयात्री, साइकलयात्री र अपांगहरूको लागि सडक असुरक्षित र भयानक हुँदै गएको छ । काठमाडौं उपत्यकाको हालतबाट पनि सबै नेपाली सहर र नगरहरूले सिक्नु जरुरी छ ।


पहिले–पहिलेभन्दा अहिले साइकल चलाउनु ज्यानको जोखिम मोल्नु भइरहेको छ । सहरमा साइकलप्रेमी धेरै हुँदाहुँदै पनि साइकल चलाउनेहरू घट्दै गइरहेका छन् । मोटरसाइकल र कार हाँक्नेहरू बढेपछि सडक साँघुरिँदै गएको छ । यसले गर्दा सहरको भविष्य विकराल प्रदूषण, धुलो, धुवाँ, ध्वनि, गति, रोगीले भरिनेछन् । कुरूप र विकृत भविष्यले हामी र हाम्रा सन्तानलाई जिउँ कि मरुँको हालतमा पुर्‍याउनेछ । सुन्दर र सुरक्षित भविष्यका लागि हरेक सहर/नगर/गाउँले सडक बनाउँदा साइकल लेन निर्माण गर्न ध्यान दिनुपर्छ ।


चौडा सडकहरू सम्पूर्ण विकासका विम्ब होइनन् । चौडा सडकले मात्र नत सहरमा नागरिकहरूलाई सुरक्षित स्थान दिन्छ, न यसले वायु, ध्वनि र दृश्य प्रदूषणलाई कमी गर्छ । प्रजातन्त्रमा उपयुक्त फुटपाथ, साइकल लेन, अपाङ्गमैत्री सडक र राजमार्ग र सार्वजनिक यातायातले मात्र सडक र यात्रामा उपयुक्त विकल्प दिएर सुरक्षाको प्रत्याभूति गर्छ ।


हेटौंडा, प्रमुख औद्योगिक सहर । लगभग ५० हजार मजदुर काम गर्छन्, यो सहरमा । आर्थिक विकासका प्रमुख खम्बा हुन्, ती । यिनको संरक्षण हेटाैंडा नगरको दायित्व हो । मजदुरका निजी सवारी साधनको रूपमा प्राय: साइकल हुने गर्छ । सीमित तलब सुविधामा परिवारको दायित्व बोकेका मजदुरहरूलाई सानोतिनो रकमको पनि ठूलो महत्त्व हुन्छ । उद्योग र घर आउ–जाउ गर्दा बस या गाडीमा उसको २०/२० रुपैयाँले दैनिक ४० रुपैयाँ खर्च हुन्छ । महिनाभरिमा १२०० रुपैयाँ जान्छ । यही खर्च जोगाउन उसले सेकेन्ड ह्यान्ड साइकल किन्छ र जोगिएर सडकमा यात्रा गर्छ । जोगिएको यातायात खर्चबाट उसलाई साँझ–बिहान चलाउन भरथेग हुन्छ ।


तिनका लागि उपयुक्त पैदलमार्ग (फुटपाथ) र साइकल लेनको व्यवस्था अपरिहार्य छ ।


साइकल लेनले साइकलप्रेमी नागरिकहरूको यात्रालाई सुरक्षित बनाउनेछ । सहरको गतिशीलतालाई झनै बढाउनेछ । स्थानीय सरकारको यसमा ध्यान जाओस् ।


हरेकको क्षमता मोटरसाइकल र कार किन्ने हुँदैन । धेरै कार, मोटरसाइकलहरू किन्दा सरकारलाई धेरै कर उठ्छ । सरकारी ढुकुटी भरिन्छ । तर त्यसका लागि चाहिने पेट्रोल, डिजेल र पार्टपुर्जाहरूमा देशको बजेटको लगभग १ तिहाइ हिस्सा खर्च हुने वास्तविकता पनि भुल्नु हुँदैन । मोटरकार, मोटरबाइकहरूको प्रयोगले सहरमा धुवाँ, धुलो र विषाक्त ग्यास उत्सर्जन भइरहेछ । सहरको वायु प्रदूषण, ट्राफिक समस्या, पार्किङ स्थलको समस्या, दैनिक सडक र सवारी दुर्घटना बढाई नागरिकहरूको जीउधनको असुरक्षाका कारक हुन्– कार, मोटरबाइक ।


हाम्रा लागि साइकल यसको प्रमुख विकल्प हो । सस्तो, सहज, सुलभ र यातायातको दिगो साधन हो । यसलाई प्रबद्र्धन गर्दा सबै तप्का तथा वर्गका नागरिकको चासो पुरा हुन्छ ।


हेटौंडामा चौडा सडक र स्थानको अभाव छैन । उपयुक्त फुटपाथ, अपाङ्गमैत्री, साइकलमैत्री सडक बनाउन मेयरले चाहेमा कसैले छेक्ने छैन । तराईमा साइकललाई मोटरसाइकलले विस्थापित गर्दैछ । यसको वातावरणीय, आर्थिक, सांस्कृतिक र जनजीवनको स्वास्थ्यसँगै सहरको स्वास्थ्यसँग जोडिएको विकृत र जटिल पक्षसँग नेतृत्वहरू किन वाकिफ छैनन् ? सहरभित्र हरेक नागरिकले कम र मध्यमदूरीको यात्रा साइकलमा सुरक्षित रूपमा गर्नसक्ने वातावरण अहिलेको आवश्यकता हो ।


लेखक नेपाल साइकल समाजका संस्थापक अध्यक्ष हुन् ।

प्रकाशित : आश्विन १३, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×