घाँसेबाली खेतीः नगदको साथै बाँदर धपाउन समेत उपयोगी

रामेश्वर सिंह पाण्डे

काठमाडौँ — पशुजन्य पदार्थको माग बढ्दै गएको अवस्थामा व्यावसायिक पशुपालन पनि नेपालमा फस्टाउँदै गएको व्यवसाय हो । कृषिकर्मको पुरक व्यवसायको रूपमा अपनाइने निर्वाहमुखी पशुपालन हाल आधुनिक प्रविधियुक्त पूर्ण व्यावसायिकतातिर अग्रसर भइरहेको छ ।

तर यी व्यावसायिक पशुपालन उद्योगहरूमा सुलभ तथा सजिलै उपलब्ध हुने पशु आहारा जस्तै पराल, छ्वाली तथा दानाको व्यापक प्रयोग हुने गरेको पाइन्छ, जसले गर्दा पशुजन्य पदार्थको उत्पादन लागत बढी हुने भएकोले व्यवसायिक पशुपालकहरूले आशातित लाभ लिन सकिरहेका छैनन्।

व्यावसायिक रूपमा पालिने पशुहरू उग्य्राउने (गाइभैंसी, भेंडाबाख्रा आदि) र नउग्य्राउने (बँगुर, खरायो आदि) हुन्। उग्य्राउने पशुहरूको मुख्य आहारा घाँसपात हो। यिनीहरूले खाएको घाँसपातबाट चाहिने आवश्यक पोषक पदार्थको आपूर्ति हुने गर्दछ। तर उच्च नश्लका बढी दूध दिने पशुहरूका लागि उच्च गुणस्तरको दाना पनि आवश्यक हुन्छ। तर एक औसत दस लिटरसम्म दैनिक दूध दिने गाईभैंसीलाई केवल पोषक हरियो घाँसपात मात्र पनि खुवाएर कम लागतमा दूध उत्पादन लिन सकिन्छ।

प्राकृतिक रूपमा आफैं उम्रिएका धेरै जसो घाँसपातहरू प्रायः चाँडै हुर्कने र छिट्टै छिप्पिने भएकाले यस्ता घाँसमा रेशामा मात्रा बढी हुन्छ जसले गर्दा यस्तो घाँस पचाउन गारो हुन्छ र यस्ता घाँसबाट कममात्रामा पोशक तत्वहरू पाइन्छन्। त्यसैले अचेल अन्नबाली, तरकारी बाली, फलफूल खेती, नगदेबाली जस्तै पशुहरूलाई खुवाउनका लागि घाँसेबाली खेतीका साथै बीउबिजन उत्पादन तथा बिक्रीवितरण समेत लोकप्रिय बन्दै गएको छ र घाँसेबाली खेती नगदेबालीको एक विकल्प भएको छ।

हाल विश्वमा करिब ४ लाख विभिन्न प्रकारका बोटबिरुवाहरू छन्। त्यसमा करिब २०० जातका बिरुवाहरू खाद्यान्य तथा घाँसेबालीको रूपमा उपयोगी मानिन्छन्। विश्वमा खाद्यान्यको रूपमा उपयोग गरिने बिरुवाहरू करिब २० जातका छन्। त्यसमा पनि ३ जातका अन्न बालीहरू जस्तै मकै, धान र गहुँको खेती तथा उत्पादन ६० प्रतिशतभन्दा पनि बढी हुने गर्दछ। यसरी नै विश्वमा व्यापक रूपमा खेती गरिने घाँसेबालीहरू करिब १७ जातका छन्। जसमा लुसर्न, क्लोभर, राइघाँस, कक्सफुट, जई, भेच, बरसिम, टिओसेन्टीरसोरगम, नेपियर, स्टाइलो, मोलासेस आदि हुन्। यी घाँसेबालीहरूको खेती नेपालमा पनि लोकप्रिय बन्दै गएको छ।

घाँसेबालीहरू हिउँदे र वर्षे, बहुवर्षे तथा डाले घाँसको रूपमा हुन्छन्। यिनीहरूको प्रयोग घाँसेबालीको रूपमा काटेर, चराएर, सुकाएर, साइलेज (गुन्द्रुक) बनाएर पशुहरूको आहाराका लागि प्रयोग गरिन्छ भने, घाँसेबालीहरूलाई भूसंरक्षण गर्ने, पहिरो, बाढी नियन्त्रण गर्न पनि प्रयोग गरिन्छन्। बालीको रूपमा प्रयोग हुने घाँसका जातहरूमा हलक्क बढ्ने, बढी उत्पादन दिने, सजिलै बंश वृद्धि गर्न सकिने तथा गाईबस्तुले रूचाउने खालका हुन्छन्। यसैले यस्ता घाँसेबालीहरू एकपटक स्थापित भएपछि सजिलै हटाउन सकिन्न। उदाहरणका लागि क्लोभर, स्टाइलो, मोलासेस आदि।

नेपालमा घाँसखेतीको सुरुवात राणा कालमा बेलायतबाट जर्सी गाई र क्लोभर घाँसको बीउ ल्याएसँगै भएतापनि निजी क्षेत्रमा घाँसखेतीको विस्तार १९८० दशकबाट मात्र भएको हो। हाल नेपालमा विश्वका प्राय सबै उत्कृष्ट जातका घाँसेबालीको परीक्षण भइसकेको छ। यी घाँसेबालीहरू तराईका खेतबारी, पहाडका बारीकान्ला तथा भिरालो जग्गा, नदि किनाराको बगर तथा पहिरो गएको क्षेत्रमा छर्न र उत्पादन लिन सकिन्छ। नेपालमा विदेशबाट १९९ भन्दा बढी जात तथा ४३६ प्रजातीका विभिन्न घाँसेबालीहरूको आयात परीक्षण भइसकेको छ। नेपालमा व्यावसायिक पशुपालनको लोकप्रियताको साथै घाँसेबालीको खेती तथा विस्तार पनि द्रूत गतिमा भइरहेको छ। हाल नेपालमा १५ जातका विभिन्न घाँसेबालीहरू ७० हजार भन्दा बढी हेक्टरमा खेती गरिन्छ।

घाँस खेतीको लोकप्रियताको साथै घाँस खेतीको विस्तारकालागि चाहिने आवश्यक बीउबिजनको उत्पादन तथा बजारीकरणको पनि राम्रै विकास भइरहेको छ। घाँसखेतीको लागि चाहिने बीउबिजन हाल एक नगदे बालीको रूपमा विस्तार भै रहेको छ। नेपालमा उत्पादन हुने घाँसको बीउहरूमा हिउँदे घाँसको बीउ जई, बरसिम र भेच छन् भनें वर्षे घाँसको बीउमा टिओसेन्टी मुख्य रहेको छ र यसको अलावा नेपालमा स्टाइलो, मोलासेस, ज्याइन्टभेच, पस्पालम, कक्सफुट ह्वाइटक्लोभर आदिको बीउ र नेपियर, सेटेरिया, फरेजपीनट आदिको अलैङ्गिक बिरुवा, बेर्नाहरू उत्पादन तथा बजारीकरण भइरहेको छ।

यद्यापी मागको तुलनामा घरेलु उत्पादन केही कम भएकोले सोरगम, बरसिम र अन्य जातका विशेषतः हाइब्रिडं बीउहरू छिमेकी मुलुकहरूबाट आयात पनि गरिन्छन्। घाँसको बीउबिरुवा अन्नबालीको तुलनामा केही महँगो भएकोले बीउबिजन उत्पादन व्यवसायमा सङ्लग्न कृषकहरूले प्रति इकाइ जगाबाट अन्न वालिको तुलनामा दस गुना बढीसम्म मुनाफा लिन सफल भएका छन्। उदाहरणका लागि बरसिम घाँसको मूल्य प्रति किलो ३०० रुपैयैयाँ, मोलासेसको प्रति किलो ४०० रुपैयाँ रहेको छ। यसरी एक रोपनीबाट एकै मौसममा १ लाख रुपैयाँसम्म चोखो नाफा लिन सकिन्छ। हाल नेपालमा बर्सेनि करिब २००० टन विभिन्न घाँसको बीउ उत्पादन हुने गरेको छ जसबाट करिब २० करोड रुपैयाँको कारोबार हुन्छ।

हाल चर्चामा रहेको “बाँदर घाँस” लाई मोलासेस ग्रास भनिन्छ जसको वैज्ञानिक नाम मेलिनिस मिनुटिफ्लोरा हो। यो घाँस मूलतः भूसंरक्षणका लागि पहिरो गएको ठाँउमा माटो बग्नबाट रोक्न नेपालमा ल्याइएको थियो।

यो घाँस खर जस्तो देखिने केही खस्रो र खुदो (मोलासेस) जस्तो गन्हाउँछ पातमा मसिनो झुस र चिचिपे रस पनि पाइने भएकोले यसलाई छोएमा जीउमा टाँसिने पनि गर्दछ। रुखो, सुखा, कमसल माटोमा पनि यो फस्टाउने भएकोले नेपालको खेर गएको खोँच, भिरालो तथा रुखो जग्गामा लगाउनन सकिन्छ।

सुरूसुरूमा बानी नपरुन्जेल गाईबस्तुहरूले त्यति रूचाएर खाँदैनन्। लगाएको दास्रो तेस्रो वर्षमा नै हलक्क बढेर यस जातको घाँसले गाँज हालेर अरू घाँसहरूलाई विस्थापित गर्दछ। यसैले यस घाँसलाई आक्रमक घाँस भनेर धेरै देशहरूमा यस घाँसको बीउ प्रयोगमा ल्याउन प्रतिबन्ध लगाइएको छ। तर नेपालमा आहाराको कमी र भू-क्षयको पनि नियन्त्रण गर्ने भएकोले यो घाँस निकै उपयोगी सावित भएको छ।

गन्हाउने बास्ना र चिपचिपे लाग्ने रसको कारण बाँदरहरू यो घाँसको झाँङ्मा पस्न डराउँछन् त्यसैले यसलाई “बाँदर विरोधी घाँस” भनिएको हो। कलिलो अवस्थामा यो घाँस नरम हुन्छ, वयस्क बिरुवाबाट उत्पादित बीउ अति सानो, मसिनो, हलुँङ्गो तथा हावाबाट टाढाटाढासम्म पुग्ग्ने भएकोले यो घाँसले झार झैं फैलिएर स्थानीय रैथाने घाँस तथा अन्य वानस्पतिक विविधतालाई नोक्सान पुर्‍याउन सक्ने भएकोले नियन्त्रीतरूपमा मात्र यसको प्रयोग गरिनु पर्दछ।

प्रकाशित : भाद्र ५, २०७५ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किशोरी बलात्कार प्रकरण: आरोपी सार्वजनिक पछि झन् चर्कियो आन्दोलन

अपराधी जोगाउन नक्कली अपराधी सार्वजनिक गरिएको आरोप
भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले नक्कली हत्यारा सार्वजनिक गरेको भन्दै महेन्द्रनगरबासी आन्दोलित बनेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी भीमदत्त नगरपालिका-१९ बाग्फाँटाका ४१ वर्षीया दीलिपसिंह विष्टलाई बलात्कारपछि हत्या आरोपमा सार्वजनिक गरेको थियो । 

हत्या आरोपमा पक्राय गरिएका दीलिपसिंह विष्ट ।


प्रहरीको उक्त कदमप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले वास्तविक दोषीलाई जोगाउन मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै मंगलबार बिहानैदेखि स्वतस्फूर्त रुपमा बजार बन्द गराएका छन्। स्थानीयले महेन्द्रनगरमा नारा जुलुस सहित प्रदर्शन गरिरहेका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन्।

नगर क्षेत्रका व्यापारी, विद्यार्थी र सर्वसाधारण सबै आन्दोलनमा उत्रिएका छन्। उनीहरुले यातायात पनि बन्द गराएका छन्।

आइतबारदेखि अपराधी पत्ता लगाउनुपर्ने माग सहित नागरिक समाजका अगुवाहरुले सुरु गरेको रिले अनसन पनि जारी छ। सामाजिक सञ्जालमा समेत प्रहरीले मानसिक अवस्था ठिक नभएकालाई देखाएर अपराधि जोगाउन खोजेका भन्दै व्यापक विरोध भइरहेको छ।

प्रकाशित : भाद्र ५, २०७५ ११:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT