कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रविधिमा नयाँ पुस्ता

अचेलका बालबालिका पढाइ–लेखाइका क्रममा केही समस्या पर्ने बित्तिकै गुगलमा खोज्न थालिहाल्छन् ।
संगीता खड्का

काठमाडौँ — मानिसले सायद भोक बिर्सन्छन्, तर सामाजिक सञ्जाल प्रयोग गर्न बिर्संदैनन् । सूचना प्रविधिको उच्चतम विकास हुनु र धेरैको पहुँचमा पुग्नु एक हिसाबले सकारात्मक कुरा हो । तर विकाससँंगै यसलाई सही ढंगले उपयोग नगर्ने हो भने प्रविधिले विकासमात्रै ल्याउँदैन, विनाश पनि लिएर आउँछ ।

प्रविधिमा नयाँ पुस्ता

करिब एक दशकअघि तत्कालीन सञ्चारमन्त्री रहेका हालका सभामुख कृष्णबहादुर महराले हात–हातमा मोबाइल, घर–घरमा इन्टरनेटको नारा ल्याउँदा लाग्थ्यो, यो नारा सम्भव होला र † तर केही वर्षभित्रै प्रविधिको विकासले हाम्रो नेपालजस्तो गरिब र अविकसित मुलुकमा समेत यसरी गति लियो कि एक करोडभन्दा बढी नेपाली इन्टरनेटको पहुँचमा पुगेका छन् ।


समय अनुसार प्रविधिको प्रयोग गर्नु आफैमा सकारात्मक हो । तर प्रयोगकर्ताले प्रविधिको प्रयोग केका लागि गरिरहेका छन्, त्यसले समाजलाई कुन दिशातर्फ लगिरहेको छ भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । बालबालिका, किशोर, वयस्क अवस्थाका देखि वृद्ध उमेर समूहका सबैले कुनै न कुनै रूपमा इन्टरनेटको प्रयोग गरिरहेका छन् । अहिले धेरैको हातमा स्मार्ट मोबाइल छ । रोजगारीका लागि विदेशिएका युवाले परिवारजनलाई महंँगा–महंँगा मोबाइल पठाएका छन् । जुनसुकै कुनामा भए पनि इन्टरनेट डाटामार्फत चलाउन सक्छन् । जतिसुकै टाढा भए पनि सम्बन्ध जोड्न यसले मद्दत पुर्‍याएको छ । अर्कोतर्फ सामाजिक सञ्जाल अम्मल बन्दै गएको छ । यसले समयको बर्बादी गराएको छँदैछ । त्यसमाथि सामाजिक सञ्जालमा जे लेखे पनि र जसका विरुद्ध लेखे पनि हुन्छ, जस्तो भिडियो पनि हाले हुन्छ भन्ने मानसिकताले डरलाग्दो रूप लिँदैछ । सामाजिक सञ्जाल अमर्यादित फोरम बन्दै गएको छ ।


सकारात्मक कामकै लागि पनि प्रविधिको अधिक प्रयोगले मानिसको जीवनलाई यसै पनि यान्त्रिक बनाउँछ । पहिले साथीभाइ, आफन्तकामा जाँदा सन्चो–विसन्चो सोध्ने गरिन्थ्यो भने आजभोलि सुरुमै वाइफाइको पासवर्ड सोध्ने गरिन्छ । कहिलेकाहीं त यस्ता भेटघाटमा उपस्थितमध्ये सबैजना आपसी गफगाफभन्दा आआफ्नो मोबाइलमै झुम्मिएको देख्नु अब कुनै
नौलो दृश्य होइन ।


प्रविधिले मानिसलाई नजिकमात्रै ल्याएको छैन । कुनै व्यक्ति दिनभरिको कामको थकानपछि घर पुग्छ, घर–परिवारबीच गफगाफ गर्नुभन्दा आफ्नै धुनमा इन्टरनेटमा व्यस्त हुन्छ । प्रविधिका कारण घर भित्रकै मानिसबीच आपसमा संवाद कम हुनथालेको छ । प्रविधिलाई मानिसले प्रयोग गर्नेभन्दा पनि कतै प्रविधिले पो मानिसलाई प्रयोग गरेको त छैन भनेर सोच्नुपर्ने भैसकेको छ ।


बच्चा र युवा उमेर समूहका मानिसमा इन्टरनेट प्रयोग अम्मलजस्तै बन्दै गएको छ । प्रविधिलाई निश्चित प्रयोगमा सीमित गर्नसक्दा यसले मानव जीवनलाई धेरै फाइदा पुर्‍याउन सक्छ । तर अम्मलका रूपमा प्रयोग गर्दा ऊर्जाशील समय बर्बाद हुन्छ । बालबालिका, युवा पुस्ता प्रविधिमा यति दख्खल राख्छन् कि एकैछिनमा नयाँ–नयाँ कुरा सिक्छन् । प्रविधिसंँगको उनीहरूको यो निकटता एकातिर सकारात्मक होला, तर यसैमा झुन्डिरहँदा अम्मल बन्छ । पहिले–पहिले जीवन व्यवहारका ज्ञानबाट नयाँ–नयाँ अनुभव प्राप्त हुन्थे । जसले विद्यार्थीलाई सिर्जनात्मक पनि बनाउँथ्यो । अचेलका बालबालिका पढाइ–लेखाइका क्रममा केही समस्या पर्ने बित्तिकै गुगलमा खोज्न थालिहाल्छन् । साना–साना समस्या सुल्झाउन पनि प्रविधिकै भरपर्न थाल्ने हो भने सिर्जनशीलता हराउँछ ।


फेसबुक, युट्युब लगायतमा जसले जस्ता सामग्री पनि हाल्न सक्छन् । त्यसमा समाजमा अराजकता बढाउने खालका सामग्री हुन सक्छन् । अश्लील सामग्री पनि भेटिन्छन् । त्यसैले प्रविधिको प्रयोग सही ढंगले भइरहेको छ कि छैन भनेर राज्य, सरोकारवाला निकाय र अभिभावकले गम्भीरतापूर्वक सोच्न जरुरी हुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयंले
पनि यो प्रविधिको प्रयोग कत्ति गर्ने र कसरी गर्ने भन्नेमा विवेक पुर्‍याउनुपर्छ ।


सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुबै विशेषता छन् । सामाजिक सञ्जालकै कारण कोही पीडितले न्याय पाएका पनि छन्, गलत काम गर्नेको पर्दाफास हुने गरेको छ, कतिपयले कारबाही भोगेका छन् । सामाजिक सञ्जालले मान्छेलाई एकछिनमा हिरो र जिरो बनाएका घटना धेरै छन् । सामाजिक सञ्जाल सार्वजनिक फोरम हो । यसमा कुनै सामग्री राख्नुअघि मान्छेले धेरैपटक सोच्नुपर्ने हुन्छ । यसमा व्यक्त गरिने शब्द र दृश्यले त्यस व्यक्तिको दृष्टिकोण र उसको सोचाइ स्तर देखाउँछ । सामाजिक सञ्जाललाई सदुपयोग कसरी गर्ने भन्नेमा प्रयोगकर्ता सचेत हुनैपर्छ ।

प्रकाशित : श्रावण ९, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?