कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काँग्रेसलाई 'अफेन्सिभ' बनाउने शर्तहरु

विश्वप्रकाश शर्मा

काठमाडौं — नयाँ संविधान पछिको नेपाल नवीन ढंगले समुन्नतितर्फ अघि बढ्ने आशा र विश्वास आज एक ढंगले खण्डित अवस्थामा पुगेको छ । अत: नेपाली कंग्रेसले आफूलाई निर्णायक नायकत्वको भूमिकामा प्रस्तुत गर्नेतर्फ लाग्नु देश र भावी पुस्ताप्रतिको कर्तव्य हुन आएको छ । अहिले सबैको निष्कर्ष छ– निराशा, अन्यौल, आवेग र असहिष्णुता समाजमा बढ्दै गएको छ ।

काँग्रेसलाई 'अफेन्सिभ' बनाउने शर्तहरु

देशले अनेकौं राजनीतिक जटिलताको निकास नेपाली कंग्रेसको नेतृत्वमा प्राप्त गर्दै आएको तथ्य जगजाहेर छ । आज इतिहासमा फेरि अर्को पटक देशले नेपाली कंग्रेसको प्रखर भूमिका प्रतिक्षा गरिरहेको छ ।

राजनीति सिर्जनात्मक थोरै र प्रतिक्रियात्मक धेरै हुँदै गएपछि यस्तै परिणाम जन्मन्छ । सबैभन्दा जेठो र पाको राजनीतिक दल नेपाली कंग्रेसले यो समयमा दोषको एक हिस्सा र पहिलो हिस्सा आफैले लिएर ‘राजनीतिमा परिवर्तन’को एजेण्डालाई अघि बढाउन जरुरी छ ।

७ माघ २०७४ भित्र तीनवटा तहको निर्वाचन हामीले सम्पन्न गर्नु छ । त्यसका लागि मधेस मुद्दालाई थप सम्बोधन गरेर वातावरण सहज गराउनुपर्ने दायित्व हामीमा छ । एकातर्फ मधेसी मोर्चालाई मनाउनै पर्ने, अर्कातर्फ एमालेलाई संविधान संशोधन लगायत विषयमा विश्वासमा लिनैपर्ने दोहोरो चुनौती छ । संशोधन नभई चुनाव हुन नदिने मोर्चाको चर्को स्वर र संशोधन प्रक्रिया अघि बढ्नै नदिने एमालेको अर्को चर्को स्वरबीच देशले कंग्रेसको स्वर सानो सुनिरहेको छ । दुई आवेगबीच समन्वय गर्न बसेको भद्र आवाज सानो नै सुनिन्छ । राजविराज घटनापछि त्यो सानो स्वरको सान्दर्भिकता झनै बढेको छ । त्यो सानो स्वर जनजनको मनमा पुग्न थालेको छ । निर्वाचनमा जाँदै गर्दा सहिष्णुतापूर्वक समन्वय गरिरहेको त्यो स्वरलाई मात्रात्मक रुपमा उचो बनाउँदै शालिन आक्रामकतासाथ अघि बढाउनु पर्छ । यसका लागि निम्न काम एकसाथ गर्न जरुरी छ :

१) पार्टीको संगठनात्मक कमजोरीको इमानदार समीक्षा केन्द्रीय समिति, जिल्ला, क्षेत्र, गाउँ, नगर तथा वडा समितिसम्म गर्ने । त्यस्ता कमजोरी निदान गर्न कार्ययोजना निर्माण गर्दै पार्टीले हासिल गरेका उपलब्धीको सामाजिक सञ्जालदेखि सडक, चोक र मञ्चहरुसम्म चर्चा, रक्षा र पक्षपोषण गर्ने ।

२) कतिपय राजनीतिक, प्रशासनिक र अन्य सन्दर्भमा हामी ‘डिफेन्सिभ’ किन हुन पुग्यौं ? यसमाथि गहिरो चिन्तन गर्दै सतर्कता र सहमतिपूर्वक पार्टीको उचित ‘पोजिशन’ बनाउन जरुरी छ । जस्तै– (प्रहरी महानिरीक्षक प्रकरण, राजदूत नियुक्ति प्रकरण) । 

३) पार्टीलाई ‘अफेन्सिभ’ ढंगले अघि बढाउन अब पार्टी विस्तार, निर्माण र निर्वाचन परिचालनका लागि एक राष्ट्रव्यापी अभियानमा सिंगो कंग्रेस संगठित ढंगले अघि बढ्न जरुरी छ । अभियानको नामकरण राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अभिव्यक्त गर्ने प्रकृतिको हुन वाञ्छनीय हुनेछ ।

  • अभियानको सम्भाव्य नाम:
  • राष्ट्रिय पुनर्जागरण अभियान
  • हिमाल–पहाड–तराई–मधेस अभियान
  • नवीन राष्ट्रिय जागरण अभियान
  • राष्ट्रिय एकता र मेलमिलापका लागि कंग्रेस अभियान
  • गाउँ जाऔं, सद्भाव जगाऔं अभियान

अभियानको सम्भाव्य मूल नारा:

शान्ति र संविधान जसको नेतृत्वमा
समुन्नतिको अभियान उसैको नेतृत्वमा
अथवा,
जसको नेतृत्वमा शान्ति र संविधान
उसैको नेतृत्वमा समुन्नतिको अभियान
या,
जसको नेतृत्वमा शान्ति र संविधान
उसैको नेतृत्वमा स्थानीय स्वशासनका साथ समुन्नतिको अभियान 

४) अभियानको क्रममा १५ दिनको तयारी पश्चात सात प्रदेशका सात सहरमा पार्टीका सबै मुख्य नेताहरुको सहभागितामा जागरण जनसभा ।

(७४४ गाउँ, नगरपालिकामा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा ‘एक बैठक, एक भेला तथा एक जागरण जनसभा’।  जागरण अभियानअन्तर्गत सबै भातृ संस्थाहरुको आन्तरिक पुनर्गठन र सार्वजनिक प्रस्तुतीकरण । यो विषयमा आवश्यक आन्तरिक तयारी तथा रणनीतिबारे बेग्लै प्रस्तुति राखेको छु )

अभियानमार्फत चार सन्देश:
१) अपनत्वको दायरा विस्तार गर्दै संविधान कार्यान्वयन गर्न सहकार्य गरौं ।
(सरकारमा सँगै रहेर सहकार्य गरेर शान्ति स्थापना तथा संविधान लेखन गरेका छौं । सरकारमा सँगै नरहेर पनि सहकार्य गर्न सकिन्छ, जस्तो: ९ माघ २०७२ मा सहमतिपूर्वक गरिएको संविधान संशोधन )

२) लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न लोकतान्त्रिक संस्कृति विकसित गरौं 
(सडक लोकतन्त्रको अभिन्न अंग हो । तर, संसदीय पद्धतिमा विश्वाश गर्नेले विषयगत जटिलताको समाधान संसदीय प्रक्रियाबाटै खोज्नु र त्यसलाई आत्मसात गर्नु लोकतान्त्रिक संस्कृति हो ।)

३) सामाजिक सद्भावको नेपाली संस्कृति रक्षा र संवर्द्धन गर्दै नेपाली राष्ट्रियतालाई बलियो बनाऔं ।
(नेपालको भविष्य कुनै पनि खालको अतिवादमा होइन, सहिष्णुता र सहकार्यमा छ । )

४) हिंसा र अस्थिरताबीच भएका भौतिक प्रगतिलाई गति दिँदै समुन्नतिका लागि सँगसँगै अघि बढौं ।
(थुप्रै भौतिक प्रगति कंग्रेसको अगुवाइमा जो भएका छन्, तिनको सबिस्तार ब्याख्या ।) 

देशका सामु १० एजेण्डा
१) जिम्मेवार राष्ट्रवाद
२) लोकतन्त्रप्रति अनवरत निष्ठा 
३) संसदीय शासन प्रणाली
४) समावेशीताको प्रारम्भिक जगदेखि ‘कदमजम’सम्म
५) हिंसा र अस्थिरताबीच कैयौं भौतिक प्रगति
६) शान्ति स्थापनामा अगुवाइ
७) आफ्नो प्रधानायकत्वमा संविधान निर्माण
८) उग्रतामुक्त राजनीतिको अठोट
९) राष्ट्रिय पुन:निर्माण अभियानको १५ वर्षे सपना र संकल्प
१०) लक्ष समुन्नत नेपालको, मार्ग सहिष्णुताको

थप पाँच महत्वपूर्ण सन्दर्भ:
अभियान लिएर अघि बढ्दै गर्दा लोकतन्त्रमा विश्वास गर्ने वौद्धिक क्षेत्रलाई आफूसँग एकाकार गर्दै अघि बढौं । तब निम्न पाँच सन्दर्भमा हामी थप सु–स्पष्ट ढंगले अघि बढ्न सक्नेछौं । 

१) संविधानमा उल्लिखित ‘समाजवाद उन्मुख’ को मूर्त व्याख्या ।

२) सुशासनको प्रश्न 
(हामी जान्दछौं– कुनै पनि राजनीतिक प्रणालीको सफलता या असफलता शासनको चरित्र र शैलीमा निर्भर गर्छ ।)

३) चीन र भारतसँगको सम्बन्ध 
(विश्वशक्तिका रुपमा विकसित भईरहेका दुई छिमेकी राष्ट्रसँग कहिले मैत्री र कहिले अमैत्री व्यवहारको अनुभूति हामीले गर्दै आइरहेका छौं । राष्ट्रिय स्वाभिमान, अखण्डता र समुन्नतिको नेपाली स्वार्थलाई केन्द्रमा राखेर भू–राजनीतिलाई ध्यानमा राख्दै वृहत्तर राष्ट्रिय दृष्टिकोण निर्माण र परिपालनाका लागि कंग्रेसले अगुवाइ गर्न जरुरी छ । संगठित राष्ट्रिय मनोबलको विकासबाट मात्रै हालै कञ्चनपुरमा भएका जस्ता स्वाधीनतामाथिको हस्तक्षेपको सम्मानजनक हल खोज्न सकिन्छ । जसरी वीपी कोइरालाको तत्कालीन सरकारले उत्तरी र दक्षिणी दुवै छिमेकीसाग सीमा सन्दर्भका प्रश्नहरुमा राष्ट्रको शीर उच्च बनाएको थियो । )

४) पार्टी र सरकार बीचको सम्बन्ध
(वीपीको एक आलेख बाहेक हामीलाई दिशानिर्देश गर्न सक्ने दृष्टि बोकेको अर्को सामग्री उपलब्ध छैन । यो सम्बन्धलाई सहज तुल्याउन नसक्दा विगतमा भोग्नु परेका जटिलतालाई स्मरण गर्दै यस सम्बन्धी आवश्यक बहस र दृष्टिकोणको खोजी जरुरी छ ।)

५) हिस्ट्री–सेभेन सँगै भिजन–एट्टिसेभेन 
(वीपी कोइरालाले प्रधानमन्त्री छँदा घोषणा गर्नुभएको १५ वर्षे सपनाको आधुनिक संस्करण आजका मितिमा हामीले अघि सार्न जरुरी छ । यो ढंगको जिम्मेवार र दिर्घकालीन संकल्पको नेतृत्व कंग्रेसले गर्न सक्छ र सक्नुपर्छ । हामी अघि आएका छौं, राष्ट्रिय पुन:निर्माण अभियानको १५ वर्षे कार्ययोजना लिएर भन्ने उद्घोष सम्मिलित घोषणापत्र साथ हामी हिमाल, पहाड, तराई, मधेस पुग्नुपर्छ । ०७ सालमा रोपिएको आधुनिकताको जग सदैव मुलुकको स्मरणमा छ । तर, हिस्ट्री सेभेनसँगै अब भिजन–एट्टिसेभेन मुलुकले कंग्रेससँगनै प्रतिक्षा गरिरहेको छ ।)

मेलमिलापको नीति लिएर स्वदेश फर्कदा वीपीले अपिल गर्नुभएको थियो– हरेक राष्ट्रको जीवनमा यस्ता क्षण आउँछन् जुनबेला बिगतका सानातिना विवाद बिर्सिएर सबै राष्ट्रिय एकताको सूत्रमा बाँधिनुपर्छ । नयाँ संविधानपछिको नेपालले वीपी कोइरालाको त्यही मन्त्रलाई स्मरण गर्न जरुरी छ । कंग्रेसको सुस्पष्ट दृष्टि, संगठित अभियान, समन्वयको भूमिकाबाटै हामी सिंगो नेपाललाई गँस्न सक्नेछौं र कंग्रेस विजयको सुनिश्चिततामा पनि पुग्न सक्नेछौं ।


(नेपाली काँग्रेसका केन्द्रीय सदस्य शर्माले २०७३ चैत १४ गते सोमबार केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको प्रस्तावको सम्पादित अंश)

 

प्रकाशित : चैत्र १४, २०७३ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?