कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘नेपालमा विकसित प्रविधि विश्वमा विस्तार हुँदै छ’

‘मेरो आफ्नो उद्देश्यमा एकाग्र भएर लागेकैले मैले यो उपलब्धि पाउन सकेको हुँ । त्यसबाहेक यताउतामा मलाई केही रुचि छैन । आफ्नो काममा केन्द्रित छु । मेरो सीमाहरू मैले राम्रोसँग बुझेको छु । ’
तुफान न्यौपाने

काठमाडौँ — ताप्लेजुङको विकट ओलाङचुङगोलामा जन्मिएका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले करिब तीन दशकअघि सुरू गरेको ‘उज्यालो बाँड्ने’ अभियानले अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएको छ । मोतीबिन्दुको शल्यक्रियामा सूक्ष्म पद्धति उपयोग गर्दै उनले नेपालसहित विभिन्न मुलुकका लाखभन्दा बढी मानिसको जीवनमा प्रकाश छरिसकेका छन् ।

‘नेपालमा विकसित प्रविधि विश्वमा विस्तार हुँदै छ’

डा. रूइतको सत्कर्मको सम्मान गर्दै बहराइन सरकारले मंगलबार १० लाख डलर राशिको ‘इसा अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । उनीसँग कान्तिपुरका तुफान न्यौपानेले गरेको कुराकानी :

नेपालमा हजारौं शल्यक्रिया, संसारभर सयौं आँखा शिविर सञ्चालन गरेको तथा इन्ट्राअकुलर लेन्स सुलभ दरमा उपलब्ध हुनेगरी आविस्कार र मोतिबिन्दूको विशिष्ट शल्यक्रिया विधि सुरु गरेकोमा तपाईंले कैंयौं प्रतिष्ठित पुरस्कार पाउनुभएको छ । त्यसको सूचीमा बहराइन सरकारले दिने इसा अवार्ड पनि थपिएको छ, तपाईंको जीवनमा यस्ता पुरस्कार र सम्मानले के माने राख्छन् ?

मेरो सम्पूर्ण जीवनको तपस्याको परिणाम हो । म सँधै एकाग्र भएर आफ्नो काममा तल्लिन रहँदै आएको छु । मेरो जिन्दगीका विभिन्न उतारचढावबारे मलाई मात्रै छ । त्यसको बाबजुद म यो ठाउँमा पुगेको छु । मैले जिन्दगीमा धेरै अवरोधहरु सहेको छु र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको छु । यी दुवै कुराले मलाई अगाडी लैजान्छन् ।

इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार हो । यसका लागि मेरो मिहेनत त छँदै छ, सम्पूर्ण हितैषी र असाध्यै नजिक रहेर अन्तरआत्मासँगै मिलेर बस्ने तिलगंगा आँखा अस्पतालको टिम, अन्तर्राष्ट्रिय संघ संस्था र मेरो परिवारको भूमिका म देख्छु । मेरी श्रीमती मेरो जिन्दगीमा नआएको भए मैले जति काम गर्न सकेको छु, त्यो सक्दिनथें । उहाँले मलाई डोर्‍याएर साथ नदिएको भए म यसखालको सफलता पाउँदिनथें ।

कतिपय काम अझै बाँकी छन् । हाम्रो अभियानलाई विश्वव्यापी बनाउन यो अवार्डले मद्दत गर्नेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा खस्किँदो नेपालको आत्मसम्मानलाई यसले मनोबल दिनेछ । सम्पूर्ण नेपालीको आत्मसम्मान र मनोबलका लागि म अन्तर्राष्ट्रिय क्षेत्रमा लागिरहनेछु । त्यसमा लाग्ने टेवा यसले दिनेछ ।

अस्ट्रेलियाली पत्रकार रे मार्टिनले तपाईंबारे भनेका छन्, ‘रुइत अन्धोपन भएका व्यक्तिहरूको उपचार गरिदिने देवतातुल्य मानिस बनेका छन्‚ जसले ईश्वरले दिएको प्रतिभा र आफूले आर्जन गरेको सीपलाई बडो अनुशासित ढङ्गले प्रयोगमा ल्याएका छन् ।’ तपाईंको प्रतिभा ईश्वरले कति दिएका हुन् ? तपाईंले कति आर्जन गर्नुभएको हो ?

रे मार्टिनको अस्ट्रेलिया महाद्वीप र अंग्रेजी पत्रपत्रिकामा धेरै ठूलो नाम छ । त्यस्तो मानिसले भनेको कुरामा सत्यता अवश्य छ । ईश्वरले दिने अवश्य हुन्छ । तर, मेहनत अगाडि बढ्दै जाँदा ईश्वर पनि पछिपछि आउँछन् ।

वर्षौंसम्मको अन्धोपनबाट पीडित व्यक्तिहरू जीवनको एउटा चरणमा पुगिसक्दा सायद आफ्ना देवतासँग प्रार्थनामासमेत आँखाको ज्योति माग्न छाडिसकेका हुन्छन् । त्यस्तो अवस्थाका व्यक्तिको जीवनलाई अँध्यारोबाट एकाएक उज्यालोतिर मोडिदिने अद्भूत काम गर्दै आउँदा तपाईंले प्राप्त गर्नुभएकोमध्ये सबैभन्दा विशेष प्रतिक्रिया के हो ?

करिब २० वर्ष अगाडि धनकुटाको पाख्रीबासमा शिविर चलाएका थियौं । प्रविधि आजको जस्तो विकसित भइसकेको थिएन । शल्यक्रिया गरेपछि बिरामीलाई टेन्टमा राखेका थियौं । तीमध्ये ४० वर्षको जस्तो देखिने एक महिला हिमालय भेगबाट आएकी थिइन् । उनका श्रीमान् पनि आएका थिए, उनी सुस्तमनस्थिति जस्तो देखिन्थे । उनीहरुको चार वर्षको एक छोरा थियो । ती महिला किमाथाङ्काको छेउबाट धनकुटाको पाख्रीबाससम्म ८ दिन हिँडेर आएकी थिइन् । त्यति लामो समय हिँडेर आउँदा बाटोमा ढुंगामा ठेस लागेर उनका खुट्टा रगतैरगत भएका थिए । आँखामा असाध्यै जटिल र धेरै वर्ष पुरानो मेतियाविन्दु देखिएको थियो, दुवै आँखा ठप्प भएको थियो ।

शल्यक्रिया गर्‍यौं । शिविरमा उनी एउटा कुनामा राखिएकी थिइन् । दोस्रो दिनको रुटिन जाँचमा म उनी भएछेउँ गएँ । उनको आँखाको पट्टी खोली हेरें । भित्र सबै ठीकै थियो । बुढ्यौलीले छोइनसकेका मानिसको एकदम छिटो रिकभर हुन्छ ।

पालको कुनामा उनका श्रीमान्‍ले बच्चालाई लिटो खुवाउँदै थिए । हिँजोसम्म बत्तीबाहेक केही पनि नदेख्नेले अहिले मानिसहरु देख्न थालेसकेपछि अचम्मसँग हेर्न थालिन् । एकछिनमा उनको बच्चा करायो । त्यो बच्चाको आवाज सुन्नेबित्तिकै उनी एकदमै तीव्र गतिमा गएर समातिन् । काखमा राखिन् । सुमसुमाइन् । एकछिन हेरिन् । उनको आँखाबाट तपतप आँसु चुहियो । त्यसपछि उनले धेरैबेर छातीमा टाँसिन् । त्यो एउटा मातृ भावना मेरो स्मृतिमा अहिलेसम्म पनि उत्तिकै ताजा गरिबसेको छ ।

९ महिनासम्म आफ्नो कोखमा राखेर रगत पसिनाको बच्चा पाएकी आमाले कहिल्यै आफ्नो बच्चा देख्न पाएकी थिइनन् । त्यसलाई पहिलोपटक देख्दा के अनुभूति गरिन् होला भनेर हामी अनुमान मात्र गर्न सक्छौं । त्यो घटना मेरा धेरै अविस्मरणीय क्षणहरूमध्ये एउटा क्षण हो ।

प्रविधिले वा उपचारले पनि निको हुन नसक्ने अन्धोपन भएका बिरामीलाई सेवा दिन नसक्दा कस्तो अनुभव हुन्छ ?

धेरै दु:ख लाग्छ । रामेछापको बाम्तीमा शिविर राखेका थियौं । हामीलाई खबर आयो– एक जना वृद्ध वर्षौंदेखि नदेख्ने, सुतेर बस्नुभएको छ, समस्यामा हुनुहुन्छ । त्यसपछि हामीहरू आधा घण्टा हिँडेर गयौं । उहाँले गाह्रो गरी आँखा हेर्न त दिनुभयो । तर, धेरै पहिले इन्फेक्सन भएर ड्यामेज भइसकेको आँखा थियो । त्यस्तो खालको बिरामी हामीले बेलाबेलामा देखिराख्छौं । केही गर्न सकिँदैन । साह्रै दुःख लाग्छ ।

तपाईं कोलम्बो प्लानअन्तर्गत भारतको लखनऊस्थित किङ जर्ज्स मेडिकल युनिभर्सिटीमा सम्भ्रान्त परिवारका छोराछोरीबीच बसेर पढ्दा आफूले एकदमै पराई महसुस गरेको अनुभव ‘दे बेयरफुट सर्जन’ किताबमा उल्लेख गर्नुभएको छ । त्यस्तो अनुभव के कारणले हुन्थ्यो ? पछि नेत्र चिकित्सकका रूपमा संसार घुम्नु भयो, कतिन्जेलसम्म त्यस्तो भावना आइरह्ययो ?

यस्तो अनुभूति स्कुले जीवनबाटै भएकाले मभित्र असाध्यै बलियो गरी बसेछ । तर, यसबाट मैले फाइदा पनि धेरै उठाएको छु । म सुरुमा मेरो गाँउ ओलाङचुङगोलाबाट दार्जीलिङ पढ्न गएँ । हिमाली गाउँबाट १४/१५ दिन हिँडेर दार्जीलिङ पुगेका थियौं । त्यहाँ गएर होस्टेलमा बस्दा मध्यमवर्गीय र उच्चमध्यम वर्गीय मानिसहरूसँग असाध्यै अप्ठ्यारो महसुस गरें ।

त्यो अनुभूतिले मलाई सुरुदेखि नै एउटा के ज्ञान भयो भने, संसारको कुनै पनि कुरा हत्केलामा आउँदैन । मेरो अन्तरआत्मामा नै के बस्यो भने– हरेक कुरा पाउनका लागि मैले अरुले भन्दा बढी मिहेनत गर्नुपर्छ । सुरुमा काठमाडौं आउँदा पनि यहाँका सबै मानिस क्लासका, हामी कहाँ त्यो कुनाको मानिस । एकप्रकारले 'रिभर्स कल्चरल सक्स' जस्तो भएथ्यो ।

लखनउ पढ्न जाँदा भारतका विभिन्न ठाउँबाट आएका एक से एक मानिससँग बस्दा, प्रतिस्पर्धा गर्दा सुरुमा एक वर्ष मलाई धेरै कष्ट भयो । पढाइ सकेर यहाँ काम सुरु गर्दा पनि स्थानीयहरूसँग त्यस्तै अनुभूति भयो । पछि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्दा हामी तलबाट उठेर आउनुपर्छ भन्ने मैले बुझिसकेको थिएँ । अरू भन्दा दुई गुणा बढी हामीले मिहेनत गर्नपर्छ भन्ने कुरो मलाई अझै पनि लाग्छ । हामीजस्तो यस्तो देशको/पृष्ठभूमिको मानिसले यस्तो खालको अवार्ड पाउनलाई अरूले जति मिहेनत गर्छन्, त्यो भन्दा दुई/तीन गुणा मिहेनत नगरेसम्म हुँदैन/पुग्दैन। हामी त्यो ठाउँमा पुग्नै सक्दैनौं ।

काठमाडौं आउँदा सुरुमा एउटा तारे होटमा 'बेल ब्वाय'को रूपमा काम सुरु गर्नु भएको रहेछ । त्यहाँ कसरी आइपुग्नु भएको थियो र त्यहाँबाट कसरी चिकित्सक हुनुभयो ?

दुई वटा कारणले मैले त्यो काम गरेको थिएँ । केही मात्रामा आर्थिक समस्या र अंग्रेजी सिक्ने चाहना । दुवै उद्देश्य पूरा भयो । म कुनै ठूलो अंग्रेजी स्कुलमा पढेको होइन । दार्जीलिङको सामान्य स्कुलमा पढ्दा अंग्रेजी भाषा नजानी अगाडि जान सकिने रैनछ भन्ने बुझें। त्यसैले मैले हरेक तरिकाले अंग्रेजी सिक्ने प्रयास गरें । होटलको काम त्यहीमध्येको एक थियो । त्यहाँबाट आजसम्मको यात्राको कुरा गर्दा जिन्दगीमा सुरुमै उद्देश्य स्पष्ट भयो भने पछि सजिलो हुनेरहेछ ।

आँखाको क्षेत्रमा काम गर्नेबारे म सुरुदेखि नै स्पष्ट थिएँ । चिकित्सक भएपछि उच्चतम आधुनिक आँखा उपचारको सेवा दूरदराजमा पुर्‍याउन कसरी सकिन्छ ? त्यसो गर्दा के कस्ता अवरोध आउनसक्छन् ? र त्यो अवस्थामा कसरी काम गर्ने भन्नेबारे सोचेरै म अगाडि बढेको थिएँ । हामी प्रमुख उद्देश्यमा स्पष्ट भयौं भने त्यो प्राप्त गर्न त्यति नै सजिलो हुनेरहेछ । मेरा भाग्य पनि होला, मेरो उद्देश्यले मानवताको कल्याणका लागि काम गरेको छ ।

हलिउड अभिनेता रिचर्ड गिअरले ‘ज्योतिको उपहार दिँदै गरेको सन्दुक रुइतलाई हेर्नु कसैले दोस्रो जीवन दिइरहेको हेर्नु हो’ भनेका छन् । ज्योतिको उपहार दिँदै गर्दा तपाईं आफैंलाई चाहिँ म कसैलाई दोस्रो जीवन दिइरहेको छु भन्ने लाग्छ कि आफ्नो हरेक दिनको एउटा सामान्य रुटिङ मात्रै ?

काम गरिरहेको बेला कामको चापले पनि होला रुटिन काम जस्तो लाग्छ । तर, केही समयपछि/फर्केर घर आइसकेपछि – यस्ता घटनाहरूले स्मरणमा राम्रो ठाउँ लिएर बस्दा रहेछन् । अलिकति चिन्ता वा संघर्ष गर्नुपर्ने स्थिति आउँदा मैले त्यस्ता घटना याद गर्छु । यसले एकदम ठूलो प्रेरणा दिन्छ ।

सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिनका लागि तपाईंले प्रारम्भिक दिनहरुमा निकै चुनौतीहरू सामना गर्नु भएकोबारे पढ्न पाइन्छ । ती कस्ता चुनौती थिए ?

हामीसँग आर्थिकदेखि लिएर सबै स्रोतको कमि थियो ।सुरुमा सानो टिम थियौं । अहिले ठूलो भइसक्दा पनि त्यो टिमका हामी सबै जना सँगै छौं। अर्को कुरा, हामीलाई मानिसहरुले खासै चिनेका थिएनन् । विश्वसनीयता पनि थिएन । सिस्टममा जान पनि अलिकति गाह्रो थियो।

यीबाहेक, तपाईंहरुले नयाँ काम सुरु गर्दा चिकित्सा क्षेत्रका संस्थापन पक्ष खुसी थिएनन् । उनीहहरुसँग कसरी जुध्नुभयो ?

कहिलेकाहीँ यस्तो लाग्छ– मैले पाए जति चुनौती अरूले पाउँदैन कि ? १९८७/८८ तिर हो, आँखामा लेन्स हाल्ने प्रविधिबाट विभिन्न ठाउँमा पाइलट स्टडीका रूपमा शल्यक्रिया गरिराखेका थियौं । अन्तर्राष्ट्रिय क्षेत्रबाट यसमा ‘क्रिटिकल इन्टेस्ट्र’ व्यक्त भयो ।

त्यतिबेला आँखामा लेन्स हाल्ने प्रविधि विकासोन्मुख देशहरूका ठूलठूला अस्पतालहरूमा पनि फटाफट चलिराखेको थिएन । नेपाल जस्तो देशको कुनाकाप्चामा हामीले गरिराखेको देखेर मानिसहरूलाई टनटन हुने नै भयो। त्यहीबेला आईएपीबीले नेपालमा मोतियाबिन्दुबारे ठूलो मिटिङ गर्‍यो । त्यतिबेलाको विश्वमा आँखाको म्यानेजमेन्टमा संलग्न भएकाहरु सबै आएका थिए । विश्व स्वास्थ्य संघ, अमेरिका, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र नेपालकै बीचमा छलफल र प्रस्तुतिहरू भए ।

भारतको एक जना विज्ञले आफूले लेन्स नराखी गरेको करिब १००० वटा आँखाको अप्रेसनको रिजल्ट देखाउनुभयो । चश्मा लगाइदिनु नै राम्रो हुन्छ भन्ने सारसहित । पाकिस्तानका विज्ञले पनि देखाए । अन्तिममा हाम्रो पालो आयो । म र मेरो गुरु वा साथी जे भनौं, अस्ट्रेलियाको प्रोफेसर फ्रेड होलोजले प्रतिनिधित्व गरेका थियौं । उहाँ पनि आफ्नो देशको क्रान्तिकारी मानिस हो । उक्त छलफलमा हामीले गाउँ गाउँमा आँखामा लेन्स हालेर (चश्मा नदिई) गरेको प्रविधिको रिजल्टहरू १५० वटा केसमा देखायौं । त्यहाँ भयानक विरोध भयो ।

नेसनल आई इन्स्टिच्युट अमेरिका र आईएपीबीका अध्यक्षहरू उपस्थित थिए । उनीहरुले पनि अहिले सायद विश्वमा परीक्षण भइसकेको र चलनचल्तीमा रहेको प्रविधिलाई परिवर्तन गर्ने समय भएको छैन कि भन्नुभयो। हामीलाई इंगित गरिएको थियो। फरक प्रविधिले यस्तो ठाउँमा पनि काम गर्नसक्छौं भनेर हामीले स्थापित गर्दैथियौं। क्लिनिकल ट्रायलबिना गर्न मिल्दैन भन्नुभयो । हाामीले जुन प्रविधि संसारमा स्थापित भइसकेको छ, त्यसका लागि क्लिनिकल ट्रायल सायद जरूरी छैन भन्यौं । हामी त त्यहाँ अल्पमतमा पर्‍यौँ । मेरो साथी जुरुक्क उठ्नुभो र भन्नुभो– विश्व स्वास्थ्य संघले मितियाबिन्दुको अप्रेसन गर्दा चाहिने सामान र मोटो चश्मा दिने जुन काम गर्दै आएको छ, त्यसलाई अब इन्ट्राअक्युलर लेन्सले विस्थापित गर्नुपर्छ । अहिले सुन्दा यो साधारण कुरा लाग्छ, तर त्यो बेला यो एकदम ठूलो कुरा थियो ।

‘दे बेयरफुट सर्जन’ मा उल्लेख गर्नु भएअनुसार त्यही कार्यक्रममा तपाईंले यस्तो भन्नुभएको रहेछ, ‘अस्पतालै पुग्न नसक्ने मानिसलाई यो संसार देख्ने पाउने हक छैन ? अनि बसभाडा तिर्ने क्षमता नभएका मानिस वा लेखपढ गर्न नजान्ने र कतै नेत्रज्योति फर्काउने सहयोग पाइन्छ भन्नेसम्म पनि थाहा नपाएका मानिस नि ? तिनको हेरेचाह गर्नु पनि त हाम्रो कर्तव्य हो । ती हामीकहाँ आउन सक्दैनन् भने हामी नै तिनकहाँ किन नजाने ?’ पछिल्लो तीन दशकमा सीमान्त क्षेत्रका विपन्न बिरामीलाई स्वास्थ्य सेवा दिने सन्दर्भमा सरकारी दृष्टिकोण बदलिएको छ त ?

हामीले त्यस्तो परिस्थिति बदल्न धेरै प्रयास त गरेका छौं । तर अझै परिस्थिति बदलिएको छैन । संसारमा दुई तीन वटा देश नेपाल भन्दा पनि पछाडिको अवस्थामा छन् । नेपालमा केही सुधार आएको छ । तर, अझै पनि सुधार गर्नुपर्ने आवश्यकता उस्तै छ ।

चिकित्सा पेसामा पनि नेत्र चिकित्सा त झन् सम्भ्रान्त परिवारका छोराछोरीहरु मात्रै संलग्न देखिन्छन् । दुर्गम हिमाली गाउँमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा जन्मिनुभएको तपाईं नेत्र चिकित्सक हुनुभएको छ । स्वास्थ्य सेवा सबै क्षेत्रका जनताले समान रूपमा पाउने अवस्था कसरी ल्याउन सकिन्छ जस्तो लाग्छ ?

स्वास्थ्य सेवा भन्नेबित्तिकै पहुँच र गुणस्तर दुवै चाहिन्छ । गुणस्तर र व्यवस्थापनमा सम्झौता गर्नु हुँदैन । आर्थिक रूपमा उपभोग गर्न नसक्नेलाई कसरी उपलब्ध गराउने भन्नेबारे कहाँ गाँठो परेको छ, हेरेर त्यसलाई फुकाउनुपर्छ । उनीहरूका लागि नि:शुल्क वा सब्सिडाइज गर्नैपर्छ । तर, सम्भ्रान्त मानिसहरुलाई भने पैसा तिरेर सेवा लिन प्रोत्साहन गर्नुपर्छ । तर, गरिबहरूलाई एउटा अस्पताल, धनीलाई अर्को अस्पताल भने गर्नै हुँदैन । हामीले तिलगंगाको मोडलमा लैजान सक्छौं । त्यहाँ मन्त्री पनि लाइनमा बस्छन्, माग्ने मानिस पनि लाइनमा बस्छन् ।

केही वर्षअघि मुलुकको प्रधानन्यायाधीश अप्रेसनका लागि कुरिरहेको कुर्सीको छेउमै डोल्पाका एक जना व्यक्ति र वसन्तपुरबाट आएको माग्ने मानिस पनि कुरिरहेका थिए । त्यतिबेलाको सबैभन्दा हुनेखाने उद्योगी हुलासचन्द्र गोल्छा पनि अरु बिरामीसँगै लाइनमा बस्नुभएको थियो । हामीले कल्पना गरेको नेपाल यो हो । यस्तो व्यवस्थापन गर्नसक्ने क्षमता हामीसँग छ । सर्त यही हो, गुणस्तरमा सम्झौता गर्नु हुँदैन । सम्भ्रान्त परिवारलाई शुल्क लिनुपर्छ, गरिबलाई फ्री गर्नुपर्छ ।

तिलगंगा त एउटा उदाहरण मात्रै हो । हाम्रो मुलुकको स्वास्थ्य सेवा प्रवाहको खास तस्बिर त यो होइन । त्यसमा सुधार ल्याउने कसरी हो ?

हामीले सामाजिक उद्यमशीलताको मोडल चलाउन खोज्दैछौँ । हामीकहाँ राज्यबाट सञ्चालित स्वास्थ्य संस्थामा स्रोत छ, कर्मचारीतन्त्र छ, तर, व्यवस्थापनमा समस्या छ । अर्कोतर्फ, निजी क्षेत्रबाट सञ्चालित संस्थामा व्यवस्थापन राम्रो छ, गुणस्तर दिने प्रयास गरिएको छ तर, त्यो महँगो छ । त्यहाँ गरिबीको रेखामुनिका आम मानिसले पाउँदैनन् ।

मैले यसको बीचमा केही सोच्दैछु । संस्था स्वायत्त होस् । गुणस्तरको सुनिश्चितता र व्यवस्थापनमा पारदर्शिता होस् । अनि धनी र गरिबले सेवा पाउन् । धनीले पैसा तिरुन् । गरिबले नि:शुल्क सेवा पाऊन् ।

नेपालमा आँखा उपचारको यो मोडल हामीले विकास गरेका छौं । एक दुई ठाउँमा स्थपना गरेपछि यसलाई अन्त पनि विस्तार गर्न सकिन्छ । अहिले तराई र भित्री मधेसमा सार्वजनिक स्वास्थ्य सेवा असाध्यै तल्लो तहको छ । जनसंख्या धेरै छ । त्यसैले बिरामीको घुइँचो छ । तर, गुणस्तर कमजोर छ । त्यसमा गर्नुपर्ने धेरै छ ।

जम्मा २०० डलरको सिड मनी भएको अवस्थामा तिलगंगा आँखा उपचार केन्द्रको स्थापना गर्नुभएको रहेछ, अहिले सबैका लागि मोडल बन्ने अवस्थासम्म कसरी आइपुग्यो ?

त्यो दुई सय डलरको पनि कथा छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स युनिभर्सिटीमा म र डा. फ्रेड हलोजले सानो पब्लिक टक दिएका थियौं । त्यहाँ उठेको थोरै पैसाबाट सुरु गरेको हो ।

सुरुदेखि नै हामीसँग असाध्यै राम्रो टिम भयो । जगदीश घिमिरेज्यूको नेतृत्वमा शुद्ध रूपमा, प्रतिबद्ध भएर कामै गर्ने र त्यसबाट केही पनि नलिने बोर्ड अफ डिरेक्टर बन्यो । मैले आफ्नो उद्देश्यको खाका कोरें, त्यसमा सात आठ जना सबै समेटिनुभयो । तिलगंगाको प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ लगायतको टिम बनाएर हामी अघि बढ्यौं । यो टिम, बोर्ड र मेरो फोकस सबै सिनर्जी भयो । हामी सबैले एक अर्कालाई अन्तरआत्मादेखि नै विश्वास गर्यौं । आपसी विश्वास जहिले पनि हामीमा रहिरह्यो । समस्या त आए तर सँगै बसेर समावेशी निर्णय गर्ने संस्कृति निर्माण गर्यौं । तपाईंको उद्देश्य स्पष्ट छ र त्यसले जनकल्याणको कुरा गर्छ भने कहिले पनि त्यसले धोका दिने रहनेछ । तिलगंगाले अन्तर्राष्ट्रिय टिमसँग कुरा गर्दा टेबलमा हामीले एउटै तहबाट कुरा गर्छौं । अझ एक तह माथि भएर कुरा गर्छौं । मलाई यो भन्न एकदमै गर्व लाग्छ, किनभने हामीसँग कामले आर्जेको क्षमता र शक्ति छ ।

तिलगंगाबाहेक पनि तपाईंहरूले सामुदायिक आंखा अस्पतालहरूको स्थापना गरिहनुभएको छ । त्यसले समुदायलाई कसरी सेवा दिइरहेको छ ?

नेपालको आँखाको सेवालाई बृहत्तर तराई भेगमा केन्द्रित गरेका छौं । त्यसले भारतबाट आउने बिरामीहरूलाई पनि सेवा दियो । अहिले भारतमै सेवा राम्रो हुन थालेपछि त्यो कम भएको छ । हामीले समुदायको भुइँतहसम्म पुग्ने गरी राम्रो गुणस्तरको आँखा सेवा दिनसक्ने, सुशासन भएको र कर्मचारीले आत्मसम्मान र स्वामित्व लिनसक्ने अस्पतालहरू निर्माण गर्दैछौं । कर्मचारीले आत्मसम्मान र स्वामित्व लिने कुरा सबै क्षेत्रका लागि धेरै नै महत्त्वपूर्ण छ ।

हामीले ५० हजारदेखि २ लाखसम्मको जनसंख्या भएको ठाउँमा एउटा सामुदायिक अस्पतालको कल्पना गरेका छौं । त्यस्तो अस्पताल तीनतले भवनमा बनाउने । तल ओपीडी, बीचमा ओटी, माथि मिटिङ रुमहरू राख्ने । त्यो कल्पनामा सबैभन्दा पहिले हामीले हेटौंडामा स्थापना गर्यौं ।

त्यहाँ रोटरी क्लबका साथीहरूले साथ दिनुभयो । अग्रज समाजसेवी सिद्धिलाल श्रेष्ठले निरन्तर सहयोग गर्नुभएको छ । हामीलाई समुदायका त्यस्ता हिरोहरू अरुतिर पनि चाहिन्छ । ५ देखि ७ वर्षसम्ममा आर्थिक रूपमा सबल हुने यसको उद्देश्य छ ।

त्यसबाट हामीले मकवानपुरको हर कुनामा आँखाको सेवा दिन सकेका छौं । मकवानपुर भनेको काठमाडौंबाट नजिक भए पनि चुनौतीपूर्ण छ । त्यहाँ असाध्यै गरिबी पनि छ । ठाउँठाउँमा पहुँचको कमी छ । त्यस्तो ठाउँमा पनि यसरी आँखाको सेवा पुर्‍याउन सकेका छौं ।

हेटैंडापछि निजगढमा गर्दैछौं । नगरपालिकाले जग्गा दिएको ठाउँमा बनाउने प्रयासमा छौं । भक्तपुर नगरपालिकासँग मिलेर पूरै जिल्लालाई कभर गर्नेगरी गर्दैछौं । कार्यक्रमलाई मात्रै स्थायित्व दिएर हुँदैन, त्यहाँको मानवस्रोतलाई पनि कसरी स्थायित्व दिने भनेर विचार पुर्‍याउनुपर्छ । त्यसको लागि तरिकाहरू छन् । उनीहरूलाई के भन्नुपर्‍यो भने तपाईं एक घण्टा बढी काम गर्नुभयो भने संस्थाले यति पाउँछ, तपाईंले यति पाउनुहुन्छ । अलिकति मार्केट इकोनोमीको तरिका नलगाई हुँदैन । सामाजिक उद्यमशीलताको मोडल भनेको त्यही हो ।

तपाईंको अभियान हेर्दा नेपालभन्दा बाहिर स्वयं आफैं गएर शल्यक्रिया गर्ने र चिकित्सकहरूलाई तालिम दिने, नेपालमा विकास गरेको नवीनतम प्रविधिको विस्तार गर्ने र यस्तो समुदायमा आधारित गुणस्तरीय आँखा अस्पतालहरूको पनि अन्य देशहरूमा विस्तार गर्नेगरी तीन तरिकाले काम गर्नुभएको देखिन्छ । नेपालबाट यसरी बाँकी विश्वलाई के-के उपहार दिँदै हुनुहुन्छ ?

सबैभन्दा महत्त्वपूर्ण कुरा विकाशोन्मुख देशमा यो सिस्टमलाई कसरी सरलीकरण गरेर यही परिधिभित्र चलाउने भन्ने हो । मलाई पहिलेदेखि विश्वास थियो, नेपालमा गर्न सक्यौं भने संसारमा जहाँ पनि गर्न सक्छौं । त्यसले अहिले फल दिइरहेकै छ । नेपालमा हामीले विकास गरेको आँखाको सेवा र विशेषतः मोतियाबिन्दुको शल्यक्रियाको चेन धेरै देशका धेरै मानिसले रुचाए । किनभने धेरै देशको वातावरण, सामाजिक र आर्थिक अवस्था यस्तै छ । धेरै सरकारहरुले यसलाई ‘साउथ टु साउथ कोअपरेसन ’ को राम्रो नमुना भनेका छन् । यो कुनै विकसित देशमा विकास भएर आएको सिस्टम होइन, नेपाल जस्तो ठाउँमा विकास भएर, नेपालजस्तै अर्को विकासोन्मुख देशमा विस्तार भएको हो । अफ्रिकादेखि एसियाका धेरै देशहरूमा विस्तार भइसकेको छ । सामुदायिक आँखा स्पतालहरूले पनि विस्तारै आँखा शिविरहरूलाई विस्थापन गर्दैछन् । चीन, भारत, इन्डोनसिया, भुटान, इथियोपियालगायतमा कतै बनिसकेको छ, राम्रोसँग चलिरहेको छ । कतै बन्ने प्रक्रियामा छ ।

हामीले यी मोडलहरूलाई विदेशमा विस्तार गर्ने भनेको अन्धोपन निवारण्मा टेवा दिन नै हो । धेरै ठाउँमा हाम्रो सिस्टमले धेरै नै परिवर्तन ल्याएको छ । जस्तो, उत्तर कोरियामा मोतियाबिन्दुको गुणस्तर र संख्या धेरै नै बढेको छ । इन्डोनेसियाका धेरै टापूका लागि हामीले ६/७ वटा समूहलाई तालिम दिएका थियौं । उहाँहरूले धेरै ठाउँमा सेवा विस्तार गर्नुभएको छ । घानामा, इथोपिया, कम्बोडिया, म्यानमारलगायतका धेरै देशमा स्थानीय डाक्टर र संस्थाले आफैं काम गर्नसक्ने बनाएका छौं । सबैभन्दा सुरुमा हामीले तालिम दिएको भियतनाममा हो, १९९२ तिर । त्यो बेला तालिम गरेको डाक्टरहरुले अहिले ठाउँठाउँमा अस्पताल स्थापना गरेर धेरै नै सञ्जाल निर्माण गर्नुभएको छ ।

तपाईंको मुख्य भूमिका नेत्र शल्यक्रियालाई सरलीकृत र सर्वसुलभ गराउनमा रहेको देखिन्छ । यसलाई थप सरलीकृत र सर्वसुलभ बनाउने उपायहरु छन् ?

यो त चल्ने प्रक्रिया हो । सबभन्दा ठूलो कुरा गुणस्तरीय सेवामा ध्यान दिएर सुधार गर्ने ठाउँ हुन्छ होला । केही मात्रामा भविष्यको पुस्ताका लागि पनि त्यो जिम्मेवारी छाड्छु । मेरो ध्यान अबको तीनदेखि ५ वर्ष हामी कसरी विश्वव्यापी रुपमा यी सिस्टमहरुलाई विस्तार गर्न सक्छौं भन्नेमा नै छ ।

सुधारका लागि तपाईंले देखेका ठाउँहरू र नयाँ नेत्र शल्यचिकित्सक उत्पादन गर्नेतर्फ सरकारले गरेको काम कत्तिको सन्तोषजनक छ ?

अझै पुगेको छैन । सरकार अलिकति उदार भयो भने धेरै सुधार हुनसक्छ । तिलगंगालाई नै राम्रोसँग जिम्मा दिइयो भने अझ राम्रो भूमिका खेल्न सक्छौं ।

आँखाको उच्च गुणस्तरीय स्याहारसुसार हरेक मानिसको जन्मसिद्ध अधिकार हो । तर, नेपाल र अन्य विकासशील मुलुकका सरकारहरू अति गरिब मानिसहरूको सेवाका लागि पैसा खर्च गर्न किन अनिच्छुक छन् ?

सायद सरकारहरूका लागि स्वास्थ्य क्षेत्रमा यी भन्दा पनि ठूला समस्या छन् होला । ध्यान दिनुपर्ने केरा के छ भने, एउटा राम्रो व्यवस्थापन र सुशासनको सीपमा यी सबै कुरालाई गाभ्न सकियो भने धेरै पैसा खर्च नगरी भएकै स्रोत साधनले यसलाई राम्रोसँग लिएर जान सकिन्छ ।

तपाईंले सन् २००६ मा पिस र इन्टरनेसनल अन्डरस्ट्यान्डिङ विधामा 'रोमन म्यागसेसे अवार्ड' पाउनुभएको थियो । त्यही शीर्षकको म्यागसेसे अवार्ड सन् १९६२ मा मदर टेरेसालाई पनि दिइएको रहेछ । मदर टेरेसाको बाटोमा हिँड्दा उही विधामा पाएको अवार्डले तपाईंलाई कत्तिको रोमाञ्चित बनाउँछ ?

म पारिवारिक जिम्मेवारीसहितको धेरै व्यवहारिक मान्छे । उहाँको तहमा कहिल्यै पुग्नै सक्दिनँ । उहाँको योगदान, प्रतिबद्धता मभन्दा धेरै माथि छ । यस्तो तुलना गर्नै मिल्दैन ।

सन् २००६ मै भारतका अरबिन्द केजरीवालले 'इमर्जेन्ट लिडरसीप' विधामा म्यागसेसे पाएका थिए, उनी अहिले भारतको राजनीतिमा चम्किएका छन् । तपाईंलाई राजनीतिमा कुनै रुचि छैन ?

त्यसै साल म्यागसेसे पाएको अर्को व्यक्ति सिओलको मेयर भएको छ । मैले अहिलेसम्म भन्दै आएको के हो भने – मेरो आफ्नो उद्देश्यमा एकाग्र भएर लागेकैले मैले यो उपलब्धि पाउन सकेको हुँ । त्यसबाहेक यताउतामा मलाई केही रुचि छैन । आफ्नो काममा केन्द्रित छु । मेरो सीमाहरू मैले राम्रोसँग बुझेको छु ।

चश्मा लगाउनु हुँदोरहेछ, तपाईंको आँखामा पनि कुनै समस्या छ र ?

बुढेशकालको आँखा हो, अरु कुनै समस्या छैन । तर, बेलाबेलामा जचाउँछु ।

कसले जाँच्छ तपाईको आँखा ?

डा. रीता, डा. गोविन्दले ।

तपाईं अझै कतिवर्ष सेवामा सक्रिय हुनुहुनेछ ?

६९ वर्ष भएँ । अझै दुई, तीन वर्ष ।

अब आँखाको उपचारको क्षेत्रमा तपाईंले गर्न के बाँकी छ ?

एक जना व्यक्तिगत शुभेच्छुक भेट्याएको छु– तेज कोहली । उहाँसँग मिलेर मोतियाबिन्दु शल्यक्रियालाई विश्वव्यापी अभियान बनाएर हिँड्ने योजना छ ।

आँखामा समस्या आउनुपूर्व नै हेरचाह गर्ने तरिका के छन् ?

हरेक बच्चालाई स्कुलमा भर्ना गर्नुअघि आँखाको परीक्षण गर्ने । छिटो पत्ता लाग्यो भने उपचार गर्न सकिन्छ । ४० वर्षपछि नियमित आँखाको जाँच गर्ने । डायबिटिज, हाइपरटेन्सन, ब्लड प्रेसर यस्ता बिरामीले आँखा नियमित जाँच गर्ने । आँखामा चोटपटक लाग्यो वा कुनै रसायन पर्‍यो भने तत्कालै अस्पताल पुग्ने ।

प्रकाशित : माघ ४, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?