कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४
कान्तिपुर एजुकेसन समिट

'काम गर्ने र सीप भएको मान्छेलाई समाजले हेर्ने दृष्टिकोणका कारण पनि बिदेसिने क्रम बढ्दो छ'

नेपालमा कामका आधारमा वर्गीकरण हुनुपर्ने तर नागरिकका आधारमा वर्गीकरण भइरहेको छ ।
सरकारले व्यायवसायिक शिक्षालाई शब्दमा बाहेक कतै पनि प्राथमिकता दिएको छैन ।

काठमाडौँ — प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तीन दशकअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को स्थापना भएको थियो । सीटीईभीटीले डिप्लोमा तहमा मेडिकल, इन्जिनियरिङ, कृषि, पर्यटनलगायतका जनशक्ति उत्पादन गर्दै आएको छ ।

'काम गर्ने र सीप भएको मान्छेलाई समाजले हेर्ने दृष्टिकोणका कारण पनि बिदेसिने क्रम बढ्दो छ'

तर सीटीईभीटीका कुल सिटमध्ये ५० प्रतिशत सिट पछिल्ला वर्षमा विद्यार्थी भर्ना नभएर खेर जाने गरेको छ । गत मंगलबार (२०८० पुस १७) मा आयोजित कान्तिपुर एजुकेसन समिटमा ‘पिरलोमा डिग्रीधारी, सीप र रोजगारी’ विषयक सत्रमा नेपालको वर्तमान प्राविधिक शिक्षा क्षेत्रको अवस्था, गुणस्तर र रोजगारीको अवसरबारे सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईसँग कान्तिपुरका घनश्याम खड्काले गरेको कुराकानीको सम्पादित अंश :

रोजगारीका लागि जहाँ पनि जाने, जे पनि गर्नुपर्ने अवस्थामा नेपाली पुगेका छन् । कामको खोजीमा गत वर्ष मात्रै ७ लाख ७३ हजार ३२७ जना विदेश गए । सीप नभएको हुनाले यस्तो समस्या आएको भनिन्छ । सबैले राम्रो सीप पाएका हुन् भने यो अवस्था आउँथ्यो र ?

एकातिर सीप नभएर विदेश गएको पनि भन्न सकिन्छ । अर्कातिर हाम्रो शिक्षा केका लागि हो, बुझ्न जरुरी छ । पहिलो शिक्षा जान्नका लागि हो । उसले जानेको छ कि छैन भनेर जाँच गर्ने विद्यालय, विश्वविद्यालय हुन् । दोस्रो शिक्षा काम गर्नका लागि । उसले जानेको कुरा गर्न सक्छ कि सक्दैन भनेर जाँच्ने प्रोफेसनल बडी हो । तेस्रो हुनका लागि । म पाइलट बन्छु, इन्जिनियर, ड्राइभर हुन्छु । पेसा दिने व्यवसाय–उद्योग हो । चौथो शिक्षा बाँच्नका लागि ।

विद्यालय, प्रोफेसनल बडी, व्यवसाय, उद्योग र परिवार हो । हाम्रो शिक्षा प्रणालीमा कुन अवयव संलग्न भएको छ कुन छैन ? हाम्रो शिक्षा प्रणाली परिवारभन्दा बाहिर गएको छैन । फलानोको छोरो सगरमाथा चढ्यो मेरो छोरो पनि चढ्नैपर्छ । हामीले सीप सिकायौं कि सिकाएनौं, यो पक्षबाट सोच्न जरुरी छ । मनोविज्ञानमा इन्ट्रोभट र एक्स्ट्रोभटको प्रिन्सिपलअनुसार मानिसमा १६ वटा सीप/क्षमता हुन्छन् ।

ती १६ वटा स्किलमध्ये जसको जे स्किल हो, त्यही शिक्षा दिनुपर्छ । हामीले करिअर काउन्सिलिङ, करिअर गाइडेन्स बेगर शिक्षा दिइरहेका छौं । एउटा मेकानिकल इन्जिनियर मेकानिकल इन्जिनियर भयो । तर मेसिनसँग काम गर्ने उसको रुचि छैन । तर मान्छेको रुचिभन्दा ठूलो समाज, परिवार पनि केही होइन । त्यसैले हामीले त्यो विचार नगरी शिक्षा दिइरहेका छौं । त्यसकारण हाम्रो शिक्षाबाट सीप पाएका छैनन् ।

नेपालमा कामका आधारमा वर्गीकरण हुनुपर्ने तर नागरिकका आधारमा वर्गीकरण भइरहेको छ । यो स्विपर, कार्पेन्टर, प्लम्बर भन्ने छ । हामीले समयसापेक्ष सीप दिन सकेका छैनौं । तर सीप नभएर मात्रै मान्छे बिदेसिएका भने होइनन् । अहिले पनि प्लम्बिङको बजारमा राम्रो क्षेत्र छ । प्लम्बिङको काम गर्ने मान्छेले मासिक एक लाख कमाउँछन् । प्लम्बरलाई ‘ट्वाइलेट सफा गर्ने’ मान्छे भन्छन् । तर उनीहरूलाई त्यो भनेको मन पर्दैन । हाम्रो समाजले काम गर्ने र सीप भएको मान्छेलाई हेर्ने दृष्टिकोण यस्तो छ । यी कारणले गर्दा सीप नभएका मात्र नभई सीप भएका मानिस पनि बिदेसिने क्रम बढ्दो छ ।

राज्यले प्राविधिक शिक्षा कक्षा ९ देखि सुरु गर्ने भनेको छ । झन्डै १५ सय सिकाउने केन्द्र भएको प्राविधिक शिक्षामा दरबन्दी शून्य छ, किन यस्तो ?

कक्षा ९–१२ सम्ममा शिक्षकको दरबन्दी छैन । व्यावसायिक शिक्षा सरकारको प्राथमिकतामा परेको छैन । २०४५ सालमा स्थापना भएको सीटीईभीटीमा ०५१ सालमा ९३२ दरबन्दी थियो । त्यति बेला ५ वटा विद्यालय थिए । अहिले ६५ वटा विद्यालय पुगे । तर दरबन्दीमा बढोत्तरी भएको छैन । त्यति बेला सीटीईभीटीको ‘सट टर्म ट्रेनिङ’ र टीएसएलसी कार्यक्रम मात्र थियो । ०५५/०५६ सालदेखि डिप्लोमा सुरु गर्‍यौं । तर अझै पनि ९३२ मात्रै दरबन्दी छ ।

अर्थ मन्त्रालयले ३ हजार ७८ जनाका लागि तलबको सुविधा दिएको छ । ९ सय ३२ भन्दा बाहेकका शिक्षकलाई करार सेवामा लिइरहेका छौं । कक्षा ९–१२ सम्मको पाठ्यक्रम र सीटीईभीटीको पाठ्यक्रम फरक हुन् । कक्षा ९–१२ मा ४ सयको भोकेसनल एजुकेसन छ । सीटीईभीटीमा ३६ महिनाको पाठ्यक्रम छ । कक्षा ९–१२ को शिक्षा र सीटीईभीटीको ३६ महिनाको शिक्षा बराबर हुन्छ भने कि सीटीईभीटीलाई पनि त्यतै रूपान्तरण गरे सस्तो हुन्छ । शिक्षा मन्त्रालयले कक्षा ९–१२ का लागि ४० लाख अनुदान दिन्छ ।

तर सीटीईभीटीलाई १० लाखभन्दा कम दिन्छ । सरकारले अन्याय गरिरहेको छ । सीटीईभीटीको सदस्य सचिवका हैसियतले पनि बोल्न मिल्दैनथ्यो । तर म बोल्छु । सरकारले व्यायवसायिक शिक्षालाई शब्दमा बाहेक कतै पनि प्राथमिकता दिएको छैन । सरकारले कक्षा ९–१२ मा पनि दरबन्दी दिएको छैन, सीटीईभीटीमा पनि दरबन्दी थपिएको छैन । शिक्षा मन्त्रालयको पदाधिकारीले करारमा राख्नुपर्छ भन्छन् ।

अहिले सामाजिक सुरक्षा नभएसम्म कसले काम गर्छ ? सामाजिक सुरक्षा प्रत्याभूत भएन भने कि पुग्दो तलब कि त सेवाको ग्यारेन्टी कि बाँच्ने ग्यारेन्टी दिनुपर्‍यो ? बाँच्ने ग्यारेन्टी भनेको १० पास मात्र र ५८ वर्ष मात्रै होइन । ५८ वर्षपछि पनि बाँच्नुपर्छ । शिक्षा जसले दिए पनि एउटै हो । सबैतिर एउटै हुनुपर्छ । शिक्षा मन्त्रालयमा साझा शिक्षामा राहत शिक्षक, दरबन्दीबारे हरेक बैठकमा छलफल हुन्छ । तर व्यावसायिक शिक्षामा हुँदैन ।

सीटीईभीटीमा नेपाल भोकेसनल क्वालिफिकेसन सिस्टम नामक परियोजना छ । आठ वर्षदेखि चलिआएको उक्त परियोजनामा एक अर्ब रुपैयाँ खर्च भयो । यसले अहिलेसम्म आफ्नै ऐन पनि बनाएको छैन ।

विगत ८ वर्षदेखि नेपाल भोकेसनल क्वालिफिकेसन सिस्टम परियोजनाले काम गरिरहेको छ । यो परियोजनाको काम भनेको हाम्रो सीपको वर्गीकरण गर्ने, राष्ट्रिय रूपमा मान्यता प्रदान गर्ने, साधारण शिक्षासँग एकीकरण गर्ने र विदेशी मानकहरूसँग तुलना गर्दै लैजाने हो । सुरुमा साउथ एसिएन क्वालिफिकेसन रिफरेन्स फ्रेमवर्क हो । त्यसपछि युरोपियनतिर जाने हो । अहिले नेसनल स्किल टेस्टिङ बोर्ड सिस्टम चलिरहेको छ । यो परियोजनालाई ऐन आवश्यक छ । विनियमावलीले मात्रै पुग्दैन । यो परियोजनाले काम नै नगरेको भने होइन, पूर्वाधार तयार गरेको छ । कामको परिणाम देखिने गरी काम हुनै बाँकी छ ।

सीटीईभीटीले मझौला किसिमको जनशक्ति उत्पादन गर्ने भनेर ८४/८५ हजार सिट सिर्जना गरेर पढाइ सुरु गर्‍यो । तर आधाआधी मात्रै परीक्षार्थी छन् । पीसीएल नर्सिङमा चाहने जति पढ्न पाउँदैन्, बीएनमा भने भएका सिट पनि खाली हुन्छन् किन ?

हाम्रो क्षमता ८४ हजारभन्दा बढी छ । हाम्रो क्षमता ५५ हजारको हुँदा संस्थाको संख्या तेब्बरले बढायौं । अहिले पनि हाम्रो क्षमता ५० हजारभन्दा माथि छ । ५ हजारभन्दा फरक परेको छैन । अहिले सबै संस्थामा भर्ना घटेको छ । क्षमताअनुसार भर्ना संख्यामा कमी आएको छैन । प्रतिशत कम भएको हो । बीएन मेरो क्षेत्रमा पर्दैन । नर्सिङमा चिकित्सा शिक्षा आयोग, नर्सिङ काउन्सिल, सीटीईभीटीको ऐनबीच विवाद चलिरहेको छ । नर्सिङ एउटा शैक्षिक कार्यक्रम हो भने अस्पताल सेवामूलक व्यवसाय हो ।

नर्सिङ कार्यक्रम सञ्चालनका लागि अस्पताल चाहिन्छ । नर्सिङ कार्यक्रम सञ्चालन गर्न अस्पताल आवश्यक हुनपर्छ कि पर्दैन ? हुनुपर्छ भने जसको अस्पताल छ, उसैलाई नर्सिङ कार्यक्रम दिनुपर्‍यो । व्यावसायिक शिक्षा भर्नादर र विद्यार्थी संख्यामा प्राप्त हुँदैन । साधारणा शिक्षामा कति पास गर्‍यो भन्ने हुन्छ भने व्यावसायिक शिक्षामा उद्योग व्यवसायले कतिलाई रोजगारी दिन सक्छ, कति क्षमता बढाउँछ ? त्यसका आधारमा संख्या बढ्ने हुँदा हाम्रो शैक्षिक संस्थाको संख्या तेब्बर बढ्दा भर्ना नभएको हो । बजारले व्यावसायिक शिक्षा निर्धारण गर्छ । न कि सरकार र नीति निर्माताले गर्छ ।

कान्तिपुर एजुकेसन समिटका सम्पूर्ण बहसका समाचार र विचारहरु यो लिंक https://ekantipur.com/tag/id-1636 मा क्लिक गरेर हेर्न सकिन्छ ।

प्रकाशित : पुस २०, २०८० १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?