कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डाक्टर गायक

राजु घिसिङ

यी गीतले दुई वर्षयताका नेपाली पप–रकमा राम्रै छाप छाडेका छन् । यसका गायक विमल मगर पेसाले चाहिँ डाक्टर हुन् । तर उनको मन म्युजिकमै तल्लीन छ । ‘आफूलाई मन परेको काममा करिअर बनाउनजस्तो भाग्यमानी अरू मान्छे संसारमा थोरै मात्र हुन्छन्,’ उनले भने, ‘तर म म्युजिकलाई निरन्तरता दिनेछु । गीत रच्दै जानेछु, गाउँदै गर्नेछु । यो क्रम मेरो जीवनमा चलिरहनेछ ।’

डाक्टर गायक

–‘चियाई हेर’ को म्युजिक भिडियो युट्युबमा अपलोड भएको दुई वर्ष मात्र हुँदैछ तर भ्युअर्स ६ लाख बढी भइसकेको छ ।

–अर्को पप गीत ‘कपुरी कलरव’ को म्युजिक भिडियो अक्टोबर, २०१६ युट्युबमा अपलोड गरिएको थियो, जुन ६० हजार बढीले हेरेका छन् ।

–महाभूकम्पलाई लिएर बनाइएको ‘१२ बज्यो है’ को लिरिकल भिडियोको दर्शक पनि आठ महिनामै हजारौं भइसकेको छ ।

एल्बमको बजार पहिलेजस्तो छैन तर उनी मौका जुरे तत्काल एल्बम सार्वजनिक गर्न तयार छन् । उनले आठ गीत रेकर्ड गराइसकेका छन् । उनी गीत आफैं लेख्छन् । म्युजिक भिडियोको कन्सेप्ट पनि उनकै हो । ‘गीत लेख्दै एउटा घटना वा विषयको इमेज लिएर कन्सेप्टमा रचना गरिएको हुन्छ, त्यसको भाव भिडियोमा बुझाउन गाह्रो हुन्छ,’ उनले भने । आफ्नो गीतमा म्युजिक एरेन्जमेन्ट अर कम्पोजिसन पनि उनले नै गरेका छन् । धेरै इन्स्टु्रमेन्ट आफंै बजाउँछन् ।

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडीएस अगस्ट, २०१६ मा सकाए । बीडीएस उत्तीर्ण गरेपछि उनी प्रतिष्ठानमै कार्यरत थिए । म्युजिकमा समय दिनकै लागि उनले तीन महिनाअघि कामबाट पनि राजीनामा दिए । यसबीच उनले १७ औं कान्तिपुर म्युजिक अनर्समा पनि पर्फरमेन्स दिन भ्याए । त्यसमा उनको गीत वर्षको उत्कृष्ट हट–सटमा परेको थियो ।

‘पढाइमा समय दिँदादिँदै म्युजिकलाई धेरै ढिला भयो भन्ने लागेको थियो । पहिलो म्युजिक भिडियो सार्वजनिक गरेपछि अर्को ल्याउन दुई वर्ष लाग्यो । यसबीच पपको समय पनि फेरियो,’ उनले सुनाए, ‘कम्पोजिसनमा मेलोडी छ भन्ने जहिले पनि गीत चल्छ, जसले पनि सुन्छ भन्ने लाग्छ । मान्छेले सुन्ने मेलोडी नै हो । त्यसैले मैले मेलोडी र म्युजिकलाई बनाउँछु । पप, रक भए पनि मेरा गीतमा नेपालीपन छ । विषयवस्तु नयाँ खालको दिने प्रयास गर्छु ।’
बीडीएस पहिलो वर्षमा रहँदा सन् २००५ मा उनले बीपी प्रतिष्ठानमै पहिलोपल्ट स्टेज पर्फरमेन्स गरेका थिए । ‘त्यसबेला जेम्स ब्लन्टको यु आर ब्युटिफुल, इगलको टेक इट इजी र दीप श्रेष्ठका गीत गाएको थिएँ । रेस्पोन्स राम्रै आयो । प्रतिष्ठानमा म्युजिकल मान्छे भनेर चिन्न थाले,’ उनले सम्झिए । त्यसयता उनले थुप्रै कन्सर्ट भ्याइसकेका छन् तर आफ्नै गीत भने दुई वर्षअघि मात्र गाउन थालेका हुन् ।

‘अझ नै गीत प्रस्तुत गर्दा अझ राम्रो रेस्पोन्स आयो,’ लजालु स्वभावका विमलले भने, ‘मेडिकल साइन्सको विद्यार्थी छँदा धेरैले मलाई यसले त पढ्दैन होला भन्थे । परीक्षाकै बेला पनि मलाई टिचरले गितार बजाएर हिन्छस् हैन भनेर सोध्थे ।’ यी धराने युवा परीक्षाका बेला होस्टेल बस्थे, अरू बेला घर । घरमा हुँदा भने दैनिक अभ्यास गर्थे ।

बीडीएस पढ्दा परीक्षाको तीन महिना अघिदेखि उनी दुईदेखि चार घण्टा मात्र सुत्थे, बाँकी समय पढ्थे । उनी भन्छन्, ‘परीक्षाको तयारी गर्दा तार खोलेर गितार थन्क्याउँथें, तार नभेटिने ठाउँमा फाल्थें । गिटार बजाउन मन लाग्थ्यो तर तार मिलाउन समय लाग्थ्यो अनि बजाइन्नथ्यो । मन लागे पनि नबजाइयोस् भनेरै तार खोलेर गितार राख्थें । परीक्षा सकिएको एक महिना अलि हल्का हुन्थ्यो, गितार समातिहाल्थें ।’

उनको म्युजिक गितारमा आधारित हुन्छ । उनको घरमै पनि म्युजिकल वातावरण छ । बुबा हंसबहादुर दर्लामी सौखका रूपमा हार्मोनियम, सारंगी बजाउँछन्, बाँसुरी फुक्छन् । उनका दाइ निर्मल म्युजिक एरेन्ज गर्छन् । ‘दाइ र बुबाको प्रभावबाटै सानैदेखि म्युजिकप्रति आकर्षित भएँ,’ विमलले भने । उनका औंलाहरू सानैदेखि गितारको स्ट्रिङमा चल्न थालेका थिए । उनले काठमाडौंमा गितार र शास्त्रीय संगीतको कक्षा पनि लिए । उनी पियानो, किबोर्ड, ड्रम्सलगायत अन्य इन्स्ट्रुमेन्ट पनि बजाउँछन् ।

उनी एकदमै कम बोल्ने र रिजर्व स्वभावका छन् । ‘प्लस टु पढेपछि लाइफमा केही गर्नुपर्छ भन्ने लाग्यो । म्युजिक रोज्ने कि अरू भन्नेमा निकै दोधार भएको थियो । म्युजिकले पर्खिन्छ भनेर पढाइतिर लागें,’ उनले भने । उनले एसएलसी सकेपछि नै आफंै गीत रच्न थालेका थिए, जुन अरूले पनि सुन्नुपर्छ भन्ने उनलाई लाग्थ्यो । ‘त्यसैले जहिले र जसरी भए पनि गायक बन्छु भन्ने अठोट गरेको थिएँ,’ उनले भने । तर, उनी आफ्ना गीत घरमा सुनाउँदैनथे । ‘अरूले सुन्यो भने के भन्छ भन्ने लाग्थ्यो । लाज लाग्थ्यो,’ उनले सुनाए ।
गितारको आवाज त आउँथ्यो नै तर उनले गीत पनि गाउँछन् भन्ने घरमा पनि धेरै पछि मात्र थाहा पाएका थिए । उनले तीन वर्षअघि घरमै स्टुडियो सेट गरेका छन् । ‘मन लागेको, मुड चलेका बेला घरमै गीत रेकर्ड गर्छु,’ उनले भने । बोन्जोभीको अलवेज र अरुणा लामाको हे कान्छाबाट प्रभावित उनलाई निकेल ब्याक, अल्बाट्रस, हर्कुलिस बस्नेतका गीत मनपर्छ ।

बिटल्स नि ? ‘खै किन हो उसको गीतले कहिल्यै मन छोएन,’ विमलले भने । तर, उनी सन् १९७५ मोडलको बिटल्स कार चढ्छन् । ‘क्युटनेस र क्लासिक भएकाले बिटल्स (कार) मन परेको हो,’ उनले प्रस्ट पारे, ‘क्लासिक, एन्टिक, भिन्तेज चीजहरूको कलेक्सन मनपर्छ ।’
उनले मास्टर्समा गरेको थेसिस पनि दन्त्य चिकित्सा क्षेत्रमा एउटा इँटा बनेको छ । बच्चादेखि किशोरावस्थासम्मको तल्लो च्यापुको हाड जबडा (म्यान्डिबल) को परिवर्तन प्रक्रिया अध्ययन गरेर उमेर पत्ता लगाउने वा उमेरअनुसार जबडाको परिवर्तन पत्ता लगाउने फर्मूला उनले निकालेका छन् । यसअघि बच्चा र किशोरावस्थाको उमेर बोनम्यारो अध्ययनबाट मात्र पत्ता लगाइन्थ्यो । दाँतको अध्ययनबाट उमेर पत्ता लगाउने वयस्कमा मात्र हो ।

एक वर्षमा पूर्वी नेपालका ३ सय १० जनामा रिसर्च गरेपछि उनले नयाँ फर्मूला पत्ता लगाएका हुन् । ‘उमेर थाहा भएपछि हाडको संरचना कस्तो छ भन्ने थाहा हुन्छ र हाडको संरचना पत्ता लाग्यो भने उमेर पत्ता लाग्छ । यो फर्मूला संसारमै नौलो हो । यो चिकित्सकीय कानुन र शल्यक्रियाहरूमा उपयोग हुनेछ,’ थेसिसलाई जर्नलमा प्रकाशन गर्ने तयारीमा रहेका डाक्टर गायकले भने । 

प्रकाशित : पुस ८, २०७३ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?