यसरी खिचेँ लोकमानलाई कालोमोसो दलेको फोटो

अंगद ढकाल

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको तारिख सुरु आजदेखि हुँदै थियो । लोकमानसिंह अदालत आएपनि समाचार हुने र नआएपनि हुने । यही सोचेर म अदालत करिव २ बजेतिर सर्वोच्च अदालत पुगेँ ।

यसरी खिचेँ लोकमानलाई कालोमोसो दलेको फोटो

त्यहाँ पुग्दा फोटो र रिपोर्टिङका साथीहरु लोकमान कतिखेर आउलान् भनेर कुरेर बसिरहेका थिए । हामी लोकमान सर्वोच्च आउँछन् कि आउँदैनन् भन्ने छलफल गर्दै बसिरहेका थियौं । किनकी यसभन्दाअघि म्याद तामेलीको फोटो खिच्न जाँदा हामी खाली हात फर्कनु परेको थियो ।

त्यसैले अरु पत्रकारहरु यही विषयमा छलफल गर्दै थिए । करिव २ घण्टाको पर्खाइपछि ४ बजेर १५/२० मिनेटतिर उनी सेतो कारमा अदालतभित्र आइपुगे । उनी गार्डसहित कारबाट झरेर सरासर तामेल तारेख बुझ्ने ८ नम्बर शाखामा लागे ।

हामी शाखाअगाडि फोटो खिच्न तयारी अवस्थामा थियौं । उनी तारेखका क्रममा हस्ताक्षर गर्न ८ नम्बर कोठातिर गए । उनले हातमा कलम लिएर हस्ताक्षर गर्नै लाग्दा पछाडिबाट एकजनाले उनको मुखतिर हात बढाए ।

मैले केहोला भनेर हेरेँ । हत्तरपत्त मैले क्यामेराको सटरबटन दबाएँ । लौ केही त भयो भन्ने मलाई लाग्यो । तर यसअघि हामीलाई झ्यालबाट अदालतका कर्मचारीले भित्रको फोटो नखिच्नुस् भनेर आग्रह गरेका थिए । त्यसैले पनि होला फोटोपत्रकार लोकमानसिंह ८ नम्बर कक्षमा पस्नै लाग्दा तस्बिर खिचेपछि सेलाएका थिए । तर मैले भने हस्ताक्षरको फोटो खिच्छु भनेर बसेकोले उनलाई कालोमोसो दलेको फोटो खिच्न भ्याएँ ।

कसैलेपनि यस्तो घटनाहोला भनेर सोचेका थिएनन् । म लोकमानले हस्ताक्षर गर्दै गर्दाको फोटो खिच्न एंगल छान्दै गर्दा झ्याल नेर पुगेको थिएँ ।

त्यसपछि हात अघि बढाउने मान्छे नेकपा माओवादी जिन्दावाद भन्दै गयो। उसलाई समात् समात भन्दै कर्मचारी र सुरक्षाकर्मी कराए । अनि लोकमानलाई चाहिँ झ्याल ढोका सबै बन्द गराएर कोठाभित्र राखियो । उनले कोठामा मुख धोए ।

कालोमोसो दल्नेलाई सुरक्षाकर्मीले पक्राउ गरिसकेपछि लोकमानसिंह बाहिर निस्किए । त्यतिबेला पत्रकार र अरुको बाक्लै उपस्थिति भइसकेको थियो ।

म भने अनलाइनमा काम गर्ने भएकोले बाहिर निस्कँदै गर्दाको केही सट फोटो खिचेर थापाथलीस्थित अफिसमा दगुर्नै हतार भयो ।

प्रकाशित : पुस ७, २०७३ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?