कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जहाँ आफन्तलाई नै जेल हालिन्छ

धरान — एउटा सानो हुलले इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा खोज्दै प्रहरी परिसरमा छिरे । प्रनाउ खतिवडाले सोचे पक्राउ परेका कुनै व्यक्तिलाई छुटाउनका लागि दबाब दिन आएका कोही होलान् ।

जहाँ आफन्तलाई नै जेल हालिन्छ

उनले आफ्नो कार्यकक्षमा बोलाएर गाँठी कुरो भन्न आग्रह गरे । धरान–११ बस्ने एकजना ६० वर्ष कटेकी वृद्धाले दिएको उजुरीको कागज खतिवडाको टेवलमा राख्दै भनिन्, ‘जे छ त्यही कागजमा छ सर । यो उजुरीअनुसार के सजाय हुन्छ तपार्इंले सक्दो पहल गरिदिनु होला ।’ वृद्धाले दिएको उजुरीका अक्षरतिर खतिवडाले आँखा घुमाए प्रत्येक शब्द शब्द र अनुच्छेदहरुमा ।

तीन छक्क पार्ने उजुरी उनले पढे । उनले सोचेको ठीकविपरीत रहेछ उजुरी । अर्थात् पक्राउ परेकालाई छाड्न दबाब होइन, ४० वर्षीय छोरालाई पक्राउ गरेर सुधार्नका लागि जेल सजाय दिन दबाब पो रहेछ । त्यो पनि आफ्नै आमाबाट छोरालाई । प्रनाउ खतिवडाले उजुरीकै भरमा कसैलाई पक्राउ गरेर जेल सजाय दिने अधिकार प्रहरीलाई नभएको बताउँदा पनि ती वृद्धा र उनीसँग आएका सानो हुलले मानेनन् । जसरी हुन्छ पक्राउ गरेर जेल सजाय दिन अडान छाडेनन् ।

ती वृद्धाले आफ्नो ४० वर्षीय छोरालाई जेल सजाय दिन माग गर्नुको कारण अरु केही नभएर लागुपदार्थ प्रयोग रहेछ । लागुपदार्थ सेवन गरेर घर समाजमा लामो समयदेखि खलल पुर्‍याउन थालेपछि वाक्क दिक्क भएपछि छोरालाई जेल सजाय दिलाउन आमा नै अघि सर्नु बाध्य भएको प्रहरीलाई बताएपछि  पक्राउ गरेर सजाय दिने प्रतिबद्धता जनाएपछि उनीहरु प्रनाउ खतिवडाको कार्यकक्षबाट निस्केका थिए ।

ती वृद्धाले दिएको उजुरीअनुसार लागुपदार्थ ती वृद्धाका ४० वर्षीय छोरा जो लागुपदार्थ प्रयोग गर्दै आएका थिए, लाई पक्राउ गरेर २४ दिनका लागि हिरासतमा राखेर सर्वाजनिक ऐनअनुसार कारबाही चलाए । वृद्धा आमाले छोराविरुद्ध दिएको उजुरीको सातापछि पालैपालो धरानका पाँचजना महिलाले आफ्ना श्रीमानविरुद्ध यस्तै ढाँचाको उजुरी लिएर आएको प्रनाउ खतिवडाले बताए ।

उनले भने, ‘जस्तोसुकै अपराध गरे पनि एकाघरका आफन्तले आफन्तविरुद्ध जेलसजाय दिन माग गर्दै उजुरी दिनेहरु मैले अन्त देखेको थिएन । यही धरानमा देखें ।’ आफ्ना छोराछोरी वा आफन्तले जस्तोसुकै अपराध गरे पनि वा लागुपदार्थ प्रयोग र ओसार पसार गरेको अवस्थामा प्रहरीले पक्राउ गर्दा हुल बाँधेर थाना घेर्दै निदोर्ष भएको सावित गर्न तयार हुनु पर्नेमा उल्टै जेल सजाय दिन माग गर्ने आफन्तहरु धरानमै भेटिएको उनले बताए ।

उनले भने, ‘धरानको इलाका प्रहरी कार्यालय मैले सम्हाल्न थाले यता छोराविरुद्ध आमा बाबुबाट एक, भान्जाविरुद्ध मामाबाट एक र श्रीमान्विरुद्ध श्रीमतिबाट पाँच उजुरी परेका छन् । ती सबै लागुपदार्थसँग सम्बन्धित छन् ।’

उनका अनुसार आफन्तले दिएका सबै उजुरीहरु गोप्य रहेकाले मिडियामा नाम नखुलाएको हो । गोप्य उजुरी भएकाले आफन्तको उजुरीअनुसार अनुसन्धान गरेर लागुपदार्थ प्रयोग गरी परिवार र समाजमा खलल पुर्‍याएको आधारमा पक्राउ गरेर कारबाही गरिरहेको उनले बताए । उनकाअनुसार हालसम्म धरान–१३ अमरहाट बस्ने ३० वर्षीया श्रीमतीले ३३ वर्षीय श्रीमान्, धरान–१५ बाझगरा बस्ने २९ वर्षीया श्रीमतीले ३३ वर्षीय श्रीमान्, धरान–८ भोटेपुल बस्ने ३० वर्षीया श्रीमतीले ३५ वर्षीय श्रीमान्, धरान–१५ श्यामचोक बस्ने २५ वर्षीया श्रीमतीले ३० वर्षीय श्रीमान् सोही ठाउँ बस्ने २६ वर्षीया श्रीमतीले २८ वर्षीय श्रीमान्विरुद्ध जेल सजायको उजुरी दिएका छन् ।

उनले भने, ‘उनीहरुका आफन्तले त १५ वर्षैसम्म जेलमा राख्नु भनेर अनुरोध गर्छन् । तर लागुपदार्थको केसमा आरोपित व्यक्तिबाट लागुपदार्थ पनि बरामद हुनु पर्छ अनिमात्र कडा कारबाही गर्न सकिन्छ ।’

लागुपदार्थ प्रयोगमात्र गर्ने तर लागुपदार्थ फेला नपरे लागुपदार्थ ऐनअनुसार कारबाही गर्न नसकिने भएकाले घरपरिवार र समाजमा दिएको दु:खलाई ध्यानमा राख्दै सार्वजनिक अपराध ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा पुर्‍याउने गरिएको उनले बताए ।

आफन्तले आफन्तविरुद्ध दिएको उजुरीमा अधिकांशले लामो समय जेल सजाय पाउन् भनेर लागुपदार्थ सेवन गर्ने, लागुपदार्थ ओसारपसार र बिक्री वितरण गर्ने, घरेलु हिंसा, झैझगडा गर्ने, परिवार र समाजमा अपराधिक गतिविधि गर्ने जस्ता आरोप लगाउने गरेका छन् । लागुपदार्थ सेवन गरेर घर परिवारमा विचलन ल्याएपछि वाक्क भएर आफन्तले नै दिएका त्यस्ता उजुरीमा अन्य आपराधिक कार्य गरेको नदेखिएको तर लागुपदार्थ भने सेवन गरेको फेला परेपछि सार्वजनिक अपराध ऐनअनुसार कारबाही गर्ने गरिएको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयमा त्यस्ता मुद्धा पुर्‍याएपछि धरौटीमा छुट्न सक्ने भए पनि उक्त धरौटी रकम आफन्तले ननिकाल्ने भएकाले केही महिनाका लागि जेल सजाय हुने गरेको छ । धरानमा लागुपदार्थ सेवन गरेर घर परिवार र समाजमा बद्नाम हुनबाट जोगाउन आफन्तलाई सुधार्नका लागि जेल सजाय दिलाउन माग गर्दै उजुरी दिनेहरुको संख्या पछिल्लो समयमा बढ्न थालेको खतिवडाले बताए ।

प्रकाशित : पुस ५, २०७३ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?