कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'बोक्सी' यातना कहिलेसम्म ?

-मकर श्रेष्ठ

काठमाडौ — बोक्सी आरोपमा कीर्तिपुर-१५ पाण्डेछापकी ४२ वर्षीया वसन्ती महर्जनको आफ्नै देवर हरिबहादुरले गत शुक्रबार हत्या गरे । उनले भाउजूले बोक्सी भएर दुःख दिएको र आफूलाई मारेर सम्पत्ति खाने योजना बनाएको शंका गर्दै हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

'बोक्सी' यातना कहिलेसम्म ?

मंसिर अन्तिम साता बोक्सीको आरोपमा धादिङ सुनौलाबजार-४ भोर्लेकी चनमती मग्रातीलाई छिमेकी सुन्तली र सीता मग्रातीले अचेत हुने गरी कुटपिट गरे । आक्रमणबाट चनमतीको दायाँ हातका दुइटा औंला काटिएको थियो भने तिघ्रा र ढाडमा नीलडाम थिए । उनको हातमा ७ वटा टाँका लगाएर स्टिल राखिएको छ ।
त्यस्तै मंसिर २२ मा सिन्धुपाल्चोक गोम्बा-५ घर भई काठमाडौंको जोरपाटी बेंसीगाउँ बस्ने एक महिलाई बोक्सीको आरोपमा आर्यघाटमा १ सय ८ बत्ती बाल्न लगाई मृतकको खुट्टा ढोग्न लगाइयो । मकवानपुर मथली-५ घर भई तीनचुली बस्ने ठूली तामाङ र साइँली तामाङले आफ्ना साथीको मृत्यु बोक्सी मन्त्र लगाएर भएको आरोप लगाउँदा ती महिलालाई दुव्र्यवहार गरेका हुन् ।  साउन ३१ मा पर्साको सुपौली-९ की ४५ वर्षीया पार्वतीदेवी चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरियो । छिमेकी जगदीश चौधरीकी छोरी प्रतिमालाई तन्त्रमन्त्र लगाएको भन्दै जगदीशका छोरा अनिल, धनराज, नवीन, विश्वराम र स्वयं प्रतिमासहित गाउँलेको समूहले पार्वतीलाई आक्रमण गरेको थियो ।
काठमाडौं उपत्यका र बाहिरी जिल्लामा भएका यस्ता घटना केही उदाहरण मात्रै हुन् । रुढिवादी सोचाइले गाउँमा मात्रै होइन, राजधानीमा समेत बोक्सीको आरोपमा हत्या गर्नेसम्मको घटना हुने गरेका छन् ।
यस वर्ष साउनदेखि कात्तिक मसान्तसम्म प्रहरीमा २१ वटा यस्ता घटना दर्ता भएका छन् । त्यसमा काठमाडौंमा दुईवटा छन् । प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीका अनुसार बोक्सीको आरोपमा गत आर्थिक वर्षमा २८ वटा घटना भएका छन् । त्यसमा गालीगलौज चार, कुटपिटको दस, बोक्सीको आरोप लगाएको ११, दिसा खुवाएको दुई र गाउँ निकालाको एक घटना रहेका छन् ।
क्षेत्रका आधारमा सबैभन्दा बढी मध्यक्षेत्रमा यस्ता घटना भएको केसीले बताए । उनका अनुसार पूर्वाञ्चलमा ३, मध्यमाञ्चलमा १४, पश्चिमाञ्चलमा ८, मध्यपश्चिममा २, सुदूरपश्चिममा एउटा घटना भएका छन् ।
समाजशास्त्री सुरेन्द्र कोइरालाले समाजको तल्लो तहसम्म अन्धविश्वास नहटाएसम्म बोक्सीको आरोपमा हुने आपराधिक घटना नरोकिने बताए । 'बोक्सीले गर्दा हानि भएको होइन । अरू कारणले भएको हो भन्ने समाजको तल्लो तहसम्म बुझाउन सकेका छैनौं,' उनले भने, 'समाजको संरचनामा पुरानो रीतिरिवाज छ । परम्परावादी भावना तोड्न सकेका छैनौं ।'
सरकारी र गैरसरकारी संस्थाले रुढिवादी प्रथा हटाउन लगानी गरे पनि घर-घरमा पुगेर जनचेतना फैलाउन सकेका छैनन् । अन्धविश्वास हटाउन बूढापाकाले बोक्सी छैन भन्ने समाजमा भावना नभएसम्म परिवर्तन नहुने उनले बताए ।
कतिपय घटना स्थानीयस्तरमै मिलापत्र हुँदा प्रहरी कार्यालयसम्म दर्ता हँुदैनन् । एक वर्षको घटना विश्लेषण गर्ने हो भने बोक्सीको आरोपमा पुरुषको तुलनामा महिलामाथि बढी दुव्र्यहार भएको छ । गत वर्षका २८ पीडितमध्ये २ जना मात्रै पुरुष छन् । त्यस्तै उमेर समूहअनुसार ४६ वर्षभन्दा माथिका महिला र पुरुषमाथि बोक्सीको आरोपमा यातना दिएको पाइएको छ ।
प्रहरीको तथ्यांकअनुसार गत वर्ष १६ देखि २५ उमेर समूहका २ जना, २६ देखि ३५ को ८ जना र ४६ वर्षभन्दा माथिका १३ जना पीडित छन् ।
पाँच वर्षमा १ सय १७ घटना दर्ता भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०६५/६६ मा ११, ०६६/६७ मा ४, ०६७/६८ मा ३९, ०६८/०६९ मा ३५ र गत वर्ष २८ घटना दर्ता भएका छन् । प्रहरीको सक्रियताले यस्ता घटनामा संलग्न व्यक्ति कानुनी दायरामा आउनेको संख्या बढेको केसीले बताए ।
'विगतमा यस्ता घटना समुदायमै मिलेर पीडितले न्याय पाएका थिएनन्,' उनले भने, 'प्रहरीको सक्रियताले यस्ता घटना मिलाउनेतर्फ नगई दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ ।' महिला हिंसाका घटनामा बोक्सीको आरोप लगाउने, कुटपिट पनि पर्ने भएकाले प्रहरीले दोषीलाई कानुनको दायरामा ल्याउन सक्रिय भूमिका खेलेको उनले बताए ।
मुलुकी ऐनअनुसार कसैले कसैलाई बोक्सो वा बोक्सीको आरोप लगाउने वा त्यस्तो आरोपमा बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य कुनै अमानवीय, अपमानजनक व्यवहार गर्न पाइँदैन । यस्ता कार्य गरेमा तीन महिनादेखि २ वर्षसम्म कैद वा पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।


 

प्रकाशित : पुस १३, २०७० ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?