१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी पठनपाठन सुरु

दुर्गालाल केसी

दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एमडी तहको पठनपाठन सुरु भएको छ । प्रतिष्ठानले शुक्रबार घोराहीमा एक कार्यक्रम आयोजना गरी पश्चिम क्षेत्रमै पहिलोपटक एमडी तहको पठनपाठन सुरु गरेको जानकारी गराएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी पठनपाठन सुरु

कार्यक्रममा पोष्ट ग्राजुएट रेसिडेन्सीका रुपमा एमडी तहको ३ वर्षे अध्ययनका लागि भर्ना भएका डाक्टरहरुलाई स्वागत गरिएको थियो ।

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निर्धारण गरेको ४ वटा सीटमा एमबीबीएस अध्ययन गरिसकेका डाक्टरहरु विद्यार्थीका रुपमा भर्ना भएका हुन् । जसअनुसार एमडी जीपीमा २ जना, गाईनोकोलोजीमा १ जना र अर्थोपेडिकमा १ जना भर्ना भएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनमगरले प्रतिष्ठानले पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवाका साथै शैक्षिक कार्यक्रम सञ्चालन गर्नु ठूलो उपलब्धि भएको बताए । पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा विस्तारले आमनागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्माउन यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्यअनुसार प्रतिष्ठान अघि बढेकोमा सन्तुष्टि व्यक्त गरे । प्रतिष्ठानमा गत वर्षदेखि बीएनएस नर्सिङ र बिएससी नर्सिङ तहको पठनपाठन हुँदै आएको छ ।

प्रकाशित : वैशाख ७, २०८१ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?