सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी
काठमाडौँ — सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् । सिंहदरबारमा बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् । उनकाअनुसार एउटै घटनाको उजुरीहरु धेरै छन् ।
एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरु हुनसक्ने उनले बताए ।
उनले उजुरीभन्दा पनि घटनाका विषयहरुलाई हेरेर जानुपर्नेमा जोड दिए । उनले जिल्लाको तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताए । उनले अछाम र कपिलवस्तुमा ४ हजारभन्दा बढी उजुरी परेको र ३ हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताए ।
उनले एक हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताए । उनले सामान्य प्रकृतिका उजुरीहरु बढी रहेको पनि प्रस्ट पारे । उनले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको समेत बताए ।
उनले भने, ‘हामीसँग ६३ हजार ७१८ वटा उजुरी छन् । एउटै घटनाको उजुरी पनि थुप्रै छन् । व्यक्तिको एउटा एउटा पर्सन भएकाले उजुरीको संख्या बढी हुन्छ । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरी हुनसक्छ । उजुरीभन्दा पनि घटनाका विषयहरुलाई हामीले हेरेर जानुपर्छ,' उनले थपे, 'हामीले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेका छौं । केही तामेलीबाट पुनः जगाउन पाउँ भनेर निवेदन आएको छ । परिचय पत्र वितरण ६१८ वटा गरेका थियौं ।’
उनले घटना हुनुको तात्पर्य के हो भनेर हेर्न उजुरीहरुको निरुपण हुन जरुरी रहेको उनले बताए ।
प्रकाशित : वैशाख २०, २०८१ १६:१३