कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सोलुखुम्बुको पञ्चनमा डढेलोले १३ घर जले

काठमाडौँ — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३, पञ्चनमा डढेलोबाट १३ वटा घर जलेका छन् । डढेलोले घर छेउका टहरा, ग्वाली र घाँसका टौवा पनि जलेका छन् । ३ वटा चौपाया पनि डढेलोबाट घाइते भएका छन् ।

सोलुखुम्बुको पञ्चनमा डढेलोले १३ घर जले

पालिका कार्यालय मुक्लीबाट दक्षिण भेगमा पर्ने पञ्चनमा बुधबार दिउँसो डढेलो गाउँ पसेको थियो । डढेलो दिउँसो बस्तीमा पसेकाले मानिस भने भागेर ज्यान जोगाएका छन् । पञ्चनको दक्षिणी भागमा पार्ने राखानी जंगलबाट सल्केको डढेलो बुधबार गाउँ पसेको थियो । थुलुङ दुधकोशी–३ (पञ्चन)का वडाअध्यक्ष इन्द्रमणि (राजन) दाहालका अनुसार डढेलोले वडा नम्बर ३ मा पर्ने चिउरीखर्क, रोलिम, खामसेकु, लोस्कु र विदेशीमा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

पूर्णबहादुर अधिकारी, हस्तीमाया राई र बडिसुबा राईको परिवार बसोबास गरेका घर, अन्नपातलगायत सबै जलेका हुन् । दाहालका अनुसार डढेलोले पूर्णबहादुर अधिकारीका २ वटा गाई र एउटा बहर गोरु जलेर घाइते भएका छन् ।

पारसमणि राई, बुद्धिमाया सार्की, निसान राई, जसबहादुर राई, दिलबहादुर राई, उत्तरकुमार राई, सेतीदेवी कार्की, वसन्त राई, लाखधन राई र बुद्धिबहादुर कार्कीका कसैका गाईगोठ/ग्वाली, कसैका घाँसदाउरा राखेका टौवामा डढेलो सल्केर पूर्ण रुपमा धनमालको क्षति भएको छ । जलेका सबै घर खरले छाएका थिए । जंगलमा के कारणले डढेलो लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको दाहालले बताए । डढेलोले खानेपानी र सिँचाइका लागि स्टोर गरिएका करिब ५ किमि लम्बाइका विभिन्न परिमाणका पाइप पनि जलेर नष्ट भएको छ ।

डढेलो लागेको क्षेत्रका छेउछाउ सल्लाघारी र सालको जंगलले घेरेको छ । सल्लीपिर र साललगायत बनस्पतिका पतकरले घाँसलाई छोप्ने भएर त्यसलाई जलाउन स्थानीयले नै लुकिछिपी जंगलमा आगो सल्काउने गरेको पनि आशंका छ । तर, यो घटनाको कारण भने पत्ता लागिसकेको छैन ।

पञ्चनमा डढेलेको धनमालको क्षति पुर्‍याएपछि जिल्ला सदरमुकाम सल्लेरीबाट जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी सितादेवी पाण्डे खत्रीसहित सेना, प्रहरी र सशस्त्रको टोली बुधबार नै घटनास्थल पुगेका थिए । डढेलोबाट पुगेको क्षतिको मूल्यांकन छानबिनबाट पत्ता लगाउने गरी पालिकाले तत्काललाई घर गुमाएका पूर्णबहादुर अधिकारी, हस्तीमाया राई र बडिसुवा राइको परिवारलाई तत्काल अस्थायी आवास बनाउन बिहीबार जस्तापाता उपलब्ध गराएको छ । यस्तै नेचासल्यान गाउपालिकास्थित रेडक्रसले अस्थायी आवासका सामग्री र लत्ताकपडा तथा गाउपालिका कार्यालयले प्रति परिवार १० नगद र राहत सामाग्री उपलब्ध गराएको समन्वय प्रमुख निरौलाले जानकारी दिए । डढेलोले गाउमा धनमाल क्षति पुर्‍याएपछि पालिका प्रमुख असिम राईले घरबार गुमाएका परिवारलाई अस्थायी आवास र गुजाराका लागि प्रवन्ध मिलाइने प्रतिवद्धता जनाएका छन् । डढेलोबाट पीडित परिवारलाई प्रति घरधुरी ५० हजार नगद र राहत सामग्री दिइने उनले बताए ।


प्रकाशित : वैशाख २०, २०८१ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?