कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

तेस्रो त्रैमासमा ४ वाणिज्य र २ विकास बैंक राष्ट्र बैंकको कारवाहीमा

काठमाडौँ — आफ्नो निर्देशन पालना नभएको भन्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार वटा वाणिज्य बैंक र दुई वटा विकास बैंक गरी ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ ।

तेस्रो त्रैमासमा ४ वाणिज्य र २ विकास बैंक राष्ट्र बैंकको कारवाहीमा

यसरी राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मीसनराइज बैंक छन् । बाँकी दुई वटा लुम्बिनी विकास बैंक र एक्सल डेभलपभेष्ट बैंक हुन् ।

एकीकृत निर्देशन बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, पुँजी पर्याप्तता ढाँचा अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेकोलगायत कैफियत देखाएर राष्ट्र बैंकले प्राइम बैंकलाई कारवाही गरेको हो ।

‘यो बैंकको २०७८ चैत्र महिनाको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकाले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले नसिहत दिइएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘यस बैकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको हुँदा प्राइम कमर्सियल बैंक सचेत गराइएको छ ।’

यस्तै, आफ्नो निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंकलाई पनि कारवाही गरेको छ । यो बैंकलाई नियमाक निकायको निर्देशन अनुसार कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, ०७५ विपरीत ब्याज अनुदान दिएकाले बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

‘यस बैंकबाट जारी “बैंक/वित्तीय सं स्थाका प्रमुख कार्यकारीको तलव भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन” को व्यवस्था भन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख रुपैयाँ भुक्तानी दिने निर्णय गरेकाले कुमारी बैंक लिमिटेडको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराइएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘उक्त रकम ३५ दिनभित्र असुल उपर गर्न सञ्चालक समितिलाई निर्देशन दिइएकोमा सो रकम असुलउपर भइसकेको छ ।’

यस्तै, राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैक कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोवारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसरी नोट जारी गरी लाभदायकबाट बैंकले कुल ४१.३६ करोड बराबरको लिब खरिद गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको परिपक्कोता अवधि बारम्बार थप गरी उक्त कर्जालाई असल देखाइएको भन्दै कारवाही गरेको छ ।

यस्तै, लक्ष्मी सनराइज बैंक लिमिटेड (साविक लक्ष्मी बैंक लिमिटेड) को १ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जा मध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी/गराई उपयोग गरेको राष्ट्र बैकले फेला पारेको छ । उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी/गराई भुक्तानी भएको देखिन्छ,’ राष्ट्र बैंकले भनेको छ, ‘उक्त कारण निज राजेन्द्र कुमार खेतानलाई १० लाख जरिवाना गरिएको छ ।’ यस बैंकबाट प्रवाह भएको कर्जाको सदुपयोगिता अनुगमन नगरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका प्रमुख कार्याकारी अधिकृतलाई सचेत गराएको छ ।यसैगरी आफ्नो निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले लुम्बिनी विकास बैंक र एक्सल डेभलपभेष्ट बैंकलाई सचेत गराएको छ ।

प्रकाशित : वैशाख २०, २०८१ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?