कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सूचना प्रविधि दिवसमै इन्टरनेट डाउन

काठमाडौँ — बिहीबार विभिन्न कार्यक्रम गरेर सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहँदा देशभर अधिकांश इन्टरनेट सेवा भने अवरुद्ध हुन पुगेका छन् । वर्ल्डलिङ्क, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क स्लो भएको छ भने भायोनेटको नेटवर्क शतप्रतिशत डाउन भएको छ ।

सूचना प्रविधि दिवसमै इन्टरनेट डाउन

‘आजै दिउँसोदेखि इन्टरनेट कट भएको छ,’ इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले भने, ‘कल सेन्टरमा फोन आउन थालेको छ, हामीलाई त ह्यान्डल गर्नै गाह्रो भइसक्यो । यसमा हामीले गर्न सक्ने केही छैन ।’ इन्टरनेट सुस्त र अवरुद्धसमेत भएपछि ग्राहकहरूले खोजीनीति बढाएको उनले बताए ।

इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिद बापतको रकम भारतीय अपस्ट्रिम प्रोभाइडरलाई नबुझाएकाले भारतीय कम्पनीले इन्टरनेट काटिदिएको बताएका छन् । विगत नौ महिनादेखि ब्यान्डविथ खरिदबापतको ३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको आइस्पानले जनाएको छ ।

केही दिनअघि मात्रै आइस्पानले पत्रकार सम्मेलन गरी कुनै पनि समय इन्टरनेट काटिनसक्ने चेतावनी दिएको थियो । भारतीय कम्पनी एयरटेलले ब्यान्डविथ रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनी आफूहरूलाई पत्र पठाएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले कार्यक्रममा बताएका थिए ।

‘नेपालमा एयरटेलबाट ७० प्रतिशत अन्तर्राष्ट्रिय ब्यान्डविथ आउने गरेको छ, त्यसबापत हामीले नौ महिनाको ३ अर्ब रूपैयाँ शुल्क तिर्न पाएका छैनौं,’ पराजुलीले भनेका थिए, ‘भुक्तानी अवज्ञासम्बन्धी सर्तका कारण हाम्रो सम्झौतापत्र नै अमान्य हुन लागेको छ । सरकारले विदेशी मुद्रा सटही सिफारिस नगरिदिएकाले हामीले भुक्तानी गर्न पाएका छैनौं ।’

निजी इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु रकम नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सिफारिस गरेको छैन । सेवा प्रदायकहरूले विदेशी मुद्रा सिफारिस लिन दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार मन्त्रालय र राष्ट्र बैंकबाट स्विकृति लिनुपर्छ ।

प्रकाशित : वैशाख २०, २०८१ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?