२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

इजरायल-हमास युद्ध : रोयटर्सका भिडियोपत्रकारसहित ११ पत्रकारको मृत्यु

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ । मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन् । 
कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो । मिसाइल आक्रमणमा परी  भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ । उनी इजरायल-लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् ।

इजरायल-हमास युद्ध : रोयटर्सका भिडियोपत्रकारसहित ११ पत्रकारको मृत्यु

रोयटर्सका अनुसार अल्मा अल-शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ । इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् । लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हिजबुल्लाह नेताहरूले घटनामा इजरायल जिम्मेवार रहेको बताएका छन् ।

इजरायली सेनाले भने घटना दु:खद् भएको बताएको छ । इजरायली सेनाले मृत्युको जिम्मा भने लिएको छैन । इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् । त्यस्तै राष्ट्र संघका लागि इजरायली राजदूत गिलाड इर्दान युद्धमा यस्ता घटना हुने बताएका छन् । उनले भनेका छन्, 'निश्चय पनि हामी काम गरिरहेका कोही पत्रकारलाई गोली हान्न वा मार्न चाहँदैनौँ । तर तपाईंलाई थाहा नै छ, हामी युद्धमा छौँ घटना हुन सक्छ ।'

गत शनिबारदेखि सुरु भएको हमास-इजरायल युद्धमा सर्वसाधारण मात्र होइन, रिपोर्टिङ गरिरहेका पत्रकारसमेत मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स(सीपीजे)का अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ । मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन् । इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन् । त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ । त्यस्तै इजरायली फोटोपत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।

कमिटीले युद्धमा अरु पत्रकार परे/नपरेकोबारे अनुसन्धान गरिरहेको पनि जनाएको छ । सीपीजेका मध्य पूर्वका संयोजक शरिफ मन्सुरले गाजामा पत्रकारहरू परिवारका सदस्य घाइते र मारिएको अवस्थामा समेत सूचना संकलनमा खटिइरहेको बताएका छन् । उनले भनेका छन्, 'उनीहरू सबैभन्दा जोखिममा छन् तर अहिले तिनीहरूकै बढी खाँचो छ । अहिलेका दृश्य बताउने हाम्रा आँखा उनीहरू नै हुन् ।'

गत शनिबारदेखि चर्किएको युद्धमा ३ हजार ५ सयभन्दा बढी मानिस मारिएका छन् । हमासको आक्रमणमा १ हजार ३ सयभन्दा बढी इजरायली मारिएका छन् भने इजरायली हवाई र बम आक्रमणमा २ हजार २ सयभन्दा प्यालेस्टिनी मारिएका छन् ।

इजरायली सेनाले उत्तरी गाजाका करिब ११ लाख बासिन्दालाई सहर छाड्न आदेश दिएको छ । यतिबेला हजारौँ प्यालेस्टिनीहरू बालबच्चा र सरसामानसहित दक्षिणी गाजातरर्फ गइरहेका छन् । आफ्नो थातथलो छाडेर सुरक्षित स्थानतर्फ गइरहेको प्यालेस्टिनीहरू चढेको गाडीमा इजरायली आक्रमणसमेत भएको छ जसमा २ देखि ५ वर्षका बालबालिका मारिएको बीबीसीले उल्लेख गरेको छ । उत्तरी गाजा र दक्षिणी गाजामा गरी करिब २२ लाख मानिसको बसोबास रहेको छ ।

प्रकाशित : आश्विन २७, २०८० १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?