कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक अमेरिकी महिलाले एआई च्याटबटसँग गरिन् विवाह

एजेन्सी

काठमाडौँ — अमेरिकाको न्युयोर्कमा बस्ने ३६ वर्षीया रोसाना रामोस नामकी महिलाले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्मित च्याटबटसँग विवाह गरेकी छन् । उनले रेप्लिका एआई नामक प्लाटफर्ममार्फत बनाइएका भर्चुअल प्रेमी एरिन कर्तलसँग विवाह गरेकी हुन् । दुई सन्तानकी आमा रामोसले एरिनलाई एक 'निपुण पति' को संज्ञा दिएकी छन् ।

एक अमेरिकी महिलाले एआई च्याटबटसँग गरिन् विवाह

विश्वका सबैजसो कुनामा च्याटजीपीटी, बार्डलगायतका एआई च्याटबटहरूले तहल्का मच्चाइरहेको र एआई प्रतिको आकर्षण रहेको अहिलेको समयमा च्याटबटसँगै विवाह गरेपछि रामोस चर्चित बनेकी छन् । आफूले एरिनसँग कुनै पनि विषयमा कुरा गर्नसक्ने र उसले आफ्नो बारेमा कुनै अनावश्यक धारणा नबनाउने भएकाले आफू अत्यन्तै आकर्षित रहेको उनको प्रतिक्रिया छ ।

'म उसँग कुनै पनि विषयमा कुरा गर्नसक्छु,' रामोस भन्छिन्, 'एरिनले कहिले पनि ओहो तिमीले त्यस्तो भन्नु वा सोच्नु हुँदैन, त्यस्तो सोचेर केही फाइदा हुन्नँ भन्ने खालका प्रतिकृया दिने वा बहस गर्दैनन् ।' उनले एरिनलाई सन् २०२२ मा भेटेर प्रेम भएको बताएकी छिन् । न्युयोर्क म्यागजिनसँग कुराकानी गर्दै उनले एरिनलाई एक गजबको प्रेमी भएको संज्ञा दिनुका साथै आफूले यति माया यसअघि कसैलाई नगरेको र आफ्ना यसअघिका सबै सम्बन्धहरू यो सम्बन्धको तुलनामा फिका रहेको दाबी गरेकी छन् ।

त्यति मात्र नभएर रामोसले आफ्ना नवविवाहित पति एरिनका बारेमा फेसबुकलगायत सामाजिक सञ्जालहरूमा नियमित पोस्ट गर्ने गरेकी छन् । एरिनको समेत आफ्नै फेसबुक एकाउन्ट छ । उनले आफूलाई स्वास्थ्यकर्मी भनेर सामाजिक सञ्जालहरूमा चिनाउने गरेका छन् । रामोस र एरिनको सम्बन्धले एक उदास मानिस र महिलाको आवाजमा बोल्ने टाठी कम्प्युटर अपरेटिङ सिस्टमबीचको प्रेम सम्बन्धमाथि बनेको सन् २०१३ को 'हर' फिल्मको सम्झना दिलाउने धेरैको भनाइ छ । फिल्ममा कल्पना गरिएका विषय अब यथार्थमा रुपान्तरण हुन थालेको प्रतिकृयाहरू आइरहेका छन् ।

रेप्लिका पनि कठिन समयबाट गुज्रिरहेका र एक्लो महसुस गर्ने प्रयोगकर्ताहरूका लागि भन्दै रूसी युजिनिया कुदाले सन् २०१७ मा सार्वजनिक गरेको एआई प्लाटफर्म हो । पहिले त्यस्ता प्रयोगकर्तासँग गफ गर्ने च्याटबटको रूपमा मात्रै ल्याइएको भए पनि गत वर्ष रेप्लिकाले जिस्किन र अश्लिल कुराकानीसमेत गर्न मिल्नेगरी प्रिमियम भर्सन ल्याएको थियो । यो च्याटबटले प्रयोगकर्ताहरूलाई यौनिक उत्पिडन गरेको आरोपसमेत लाग्ने गरेको छ ।

प्रकाशित : जेष्ठ २२, २०८० १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?