कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरियामा युद्धविराम गर्न सहमत

एएफपी

इस्तानबुल — सिरियाका सबै क्षेत्रमा बुधबार मध्यरातबाट युद्धविराम गर्न टर्की र रूस सहमत भएको टर्कीको सरकारी आनाडोलु समाचार समितिले जनाएको छ । युद्धविराम योजना मुख्यत: सिरियाको अलेप्पो नगरमा जारी युद्धविरामलाई निरन्तरता दिन ल्याइएको छ ।

अलेप्पोलगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्दार गर्न यसै महिनाको सुरुमा नै टर्की रूसको मध्यस्थतामा युद्धविराम गरिएको पनि समाचार समितिले जनाएको छ । तर, रूस र अमेरिकाको मध्यस्थतामा भएका, यसअघिका युद्धविरामहरूमा अवलम्बन गरिएजस्तै, अहिले पनि आतंककारीविरुद्ध प्रतिकार गर्ने कार्य भने रोकिनेछैन ।

यदि योजना सफल भएमा रूस र टर्कीकै पहलमा काजकिस्तानको राजधानी आस्तानामा निकट भविष्यमै हुन गइरहेको सिरियाली सरकार र विपक्षीबीच राजनीतिक सम्झौता हुने बलियो आधारसमेत निर्माण हुने अड्कल गरिएको छ ।

युद्धविराम लागू गर्न टर्की र रूसले गम्भीर सहकार्य गरिरहेको समितिले बताएको तर यसबारे के, कसरी र कहाँ युद्धविराम सहमति भयो भन्ने विस्तृत विवरण खुलाइएको छैन ।

अघिल्ला हप्ताहरूमा टर्की, रूस र सिरियाली विपक्षीका प्रतिनिधिबीच अङ्कारा बैठकमा विस्तृत छलफल भइसकेको पनि जनाइएको छ ।

सिरियामा जारी गृहयुद्धको रूस र टर्की विपरीत पक्षधर हुन् । वर्तमान सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनुपर्छ भन्ने पक्षमा टर्की छ भने रूस र इरान असदका प्रमुख अन्तर्राष्ट्रिय सहयोगीका ज्ञपमा खडा छन् । तर, गत वर्ष रूसको एउटा युद्धक विमान टर्कीका सेनाले खसालिदिएपछि दुई देशबीच बिग्रेको सम्बन्धलाई सुधार गर्न टर्की प्रयासरत छ भने रूसले पनि यसलाई सामान्यीकरण गर्न चासो देखाएको छ ।

प्रकाशित : पुस १४, २०७३ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?