बलेफीलाई उपाधि

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — यस वर्षको चौथो बलेफी गाउँपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि बलेफी गाउँपालिकाले उचालेको छ । सुनकोसी ७ स्थित वसन्तपुर मैदानमा बलेफीले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पेनाल्टी शुटआउटमा ६–५ ले हराएको थियो ।

सिन्धुपाल्चोक फुटबल संघको प्राविधिक समन्वय र बलेफी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १२ स्थानीय तहबाट १२ टिम प्रतिस्पर्धी थिए । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसमा बलेफीले ६–५ को नतिजा निकाल्यो ।

विजेता बलेफीले १ लाख र उपविजेता पाँचपोखरीले ५० हजार रुपैयाँ पुरस्कार पाए । विजेतालाई बलेफीका अध्यक्ष गंगाबहादुर लामा, सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अमृत श्रेष्ठलगायतका पुरस्कार प्रदान गरे ।

प्रकाशित : चैत्र १२, २०७९ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्

विराट गोल्डकप : लुका सकर सेमिफाइनलमा

विनोद भण्डारी

विराटनगर — कोलकाताको लुका सकर फुटबल क्लब सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आइतबार संकटा क्लब काठमाडौंलाई सडनडेथमा हराउँदै विभागीय टोली साबिक विजेता एपीएफसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित भएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गर्दा सडनडेथमा पुगेको थियो । कोलकाताका गोलकिपर मोहमद सनफेरले संकटाका अनिष मर्हजनको अन्तिम प्रहार बचाउ गर्दै टिमलाई अन्तिम चारको यात्रा गराए । सनफेर म्यान अफ द म्याच भए । नतिजा ८–७ स्कोर बनेको थियो ।

कोलकाताका कार्लेस कुभारको, मोहम्मद आकाश, मोहम्मद राफी, मोहम्मद फासिल, पाउल ओपेरा, हेन्की अफित, मोहम्मद फाइजान र अवु लालाको पेनाल्टी गोलमा परिणत भयो ।

संकटाका जुनियर, कुलदीप कार्की, सुरजज्यू ठकुरी, चन्दन दास, दीपक घिसिङ, नेल्सन र रोशन पहारीको पेनाल्टी गोलमा परिणत हुँदा अनिषको प्रहार विफल भएको हो ।

खेलको तेस्रो मिनेटमा संकटाका गणेश हमालले जुनियरको सटिक पासलाई पेनाल्टी क्षेत्रमा नियन्त्रण गर्न नसक्दा गोलको अवसर गुमाएका थिए । त्यस्तै ३८ औं मिनेटमा जुनियरकै पासमा सुनील श्रेष्ठले कोलकाताका किपर मोहम्मद सनफेर बिट भएको अवस्थामा गरेको हेडिङ पोस्ट बाहिरिँदा दोस्रो अवसर गुमेको थियो ।

कोलकाताले पहिलो हाफमा एक पटकमात्र आक्रमण गर्दा पाउल ओपरेले बल पोस्टलक्षित गर्न चुकेका थिए । खेलको २७ औं मिनेटमा अश्विन लालुले उपलब्ध गराएको पासमा पाउलको हेड संकटाका गोलकिपर विष्णु कुमार बिट भएको अवस्थामा बाहिरिएको थियो ।

विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार पुरस्कार पाउने प्रतियोगिताको पहिलो सेमिफाइनलमा सोमबार आयोजक विराटनगर सिटी र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र १२, २०७९ २२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×