कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरी गोल्डकप : उपाधि जित्नेमा दुवै टोली ढुक्क

सुनसरी — इटहरी गोल्डकपमा शनिबार अन्तिम प्रतिस्पर्धा गर्ने सगरमाथा युथ क्लब र चर्च व्बाइजले उपाधि जित्ने दाबी गरेका छन् । इटहरी रंगशालामा शुक्रबार भएको प्रि—म्याच कन्फ्रेन्समा दुवै टोलीले विपक्षी तगडा भए पनि कप लिएरै फर्कने आत्मविश्वास प्रकट गरेका छन् ।

इटहरी गोल्डकप : उपाधि जित्नेमा दुवै टोली ढुक्क

फाइनल खेलमा आफ्नो रणनीति प्रभावकारी रहने दाबी गरेका उनीहरूले विपक्षीलाई कमजोर नआँक्ने बताए । सगरमाथाका प्रशिक्षक याम गुरुङले आफूहरू डिफेन्डिङ च्याम्पियन भएकाले पनि उपाधि जित्नै पर्ने दबाबमा रहेको बताए ।

अर्को टिमको कमजोर र सबल पक्षलाई नजिकैबाट नियालेकाले मैदानमा त्यहीअनुसारको रणनीतिअनुरूप अघि बढ्ने उनले बताए । टिममा केही खेलाडीमा इन्ज्युरी समस्या भए पनि फाइनल खेलमा ठिक हुने उनले विश्वास व्यक्त गरे । नेपाली महिला यू—२० को मुख्य प्रशिक्षकसमेत रहेका गुरुङले चर्च ब्वाइजको शक्तिशाली डिफेन्स लाइन चिर्न रणनीतिहरू परिवर्तन नगर्ने संकेत गरे । कप्तान महेन्द्र कार्कीले फाइनल खेलमा परिचित प्रतिद्वन्द्वी भएकाले केही सहज रूपमा लिए पनि सतर्क भएर खेल्ने बताए ।

यसै वर्ष ‘ए’ डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइज मोफसलको कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पहिलो पटक हो । चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले फाइनल भएकाले स्वाभाविक रूपमै प्रतिस्पर्धात्मक खेल हुने बताए । टिमवर्कले फाइनलमा पुगेको औंल्याउँदै हुमागाईंले सबै खेलाडी तन्दुरुस्त रहेकाले जितप्रति विश्वस्त रहेको बताए । कप्तान मिलन राईले विजय लक्ष्यका साथ मैदानमा उत्रने बताए । उनले खाली समयमा मोफसलको प्रतियोगिता आयोजनाले लिगलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राईले च्याम्पियन बनेर लिगको आउँदो चरणमा फर्किने लक्ष्य रहेको बताए । सगरमाथामा अधिकांश खेलाडी नवप्रवेशी ‘ए’ डिभिजन क्लब खुमलटारबाट छन् । चर्च व्बाइज र खुमलटारले ए डिभिजन लिगको दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल चर्च व्बाइजले आफ्नो पक्षमा पारेको थियो । सगरमाथाले पहिलो खेलमा एभेनियर फुटबल क्लबलाई हराएको थियो भने सेमिफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबविरुद्ध जित निकालेको थियो ।

चर्च ब्वाइजले पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएको थियो भने सेमिफाइनलमा विभागीय टोली आर्मीविरुद्ध जित निकालेको थियो । जम्मा ८ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउनेछन् । प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई प्रतिम्याच नगद २० हजार तयारी खर्चसमेत उपलब्ध गराइएको छ ।

प्रकाशित : चैत्र ११, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?