कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘नेपाली क्रिकेटरलाई अस्ट्रेलियामा अवसर खोज्नुपर्छ’

विनोद पाण्डे

मेलबर्न — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली खेलाडीलाई अस्ट्रेलियामा लिग खेलका लागि अवसर खोजिनुपर्ने बताए । १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको गुडविल एम्बासडरको रूपमा मेलबर्न आएका उनले नेपाली क्रिकेट जति माथि पुग्यो त्यति एक्सपोजर चाहिने जनाए ।

‘नेपाली क्रिकेटरलाई अस्ट्रेलियामा अवसर खोज्नुपर्छ’

नारे किंग्स र फार वेस्ट हन्टर्स आइतबार न्याभ कप क्रिकेटको फाइनलमा भिड्दै छन् । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजना र म्याक्सिम्याक एजुकेसन एन्ड भिजा सर्भिसेजको प्रायोजनमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नारे किंग्सले माभन क्रिकेट क्लबलाई ५९ रनले र फार वेस्टले एक्सपर्ट सगरमाथा ब्लुजलाई २१ रनले पराजित गरेका थिए ।

दोहामा लिजेन्ड्स कप खेलेर पारस बुधबार राति मेलबर्न आइपुगेका थिए । बिहीबार प्रि–फाइनल प्रेस मिटमा पारसले फाइनलका लागि दुवै टोलीलाई शुभकामना दिँदै मेलबर्नमा रहेका नेपालीहरूलाई मैदानमा गएर खेलाडीको हौसला बढाइदिन अनुरोध गरे । उनले अगाडि भने, ‘मैले पहिला पनि मेलबर्न आउँदा यो प्रतियोगिता हेरेको थिएँ, त्यस हिसाबमा जसरी यस प्रतियोगिताको महत्त्व बढिरहेको छ, यसले अझ ठूलो रूप लिएर नेपाली खेलाडीहरूलाई अस्ट्रेलियामा बोलाएर लिग खेल्ने वातावरण सिर्जना गर्न सकोस्, त्यसका लागि यहाँ भएका सबै सरोकारवालाले पहल गर्नुपर्नेछ ।’

नेपाली समुदायका टोलीहरूबीच टीडब्लू ब्लेक मैदानमा भइरहेको प्रतियोगितामा पारसले फाइनल अवलोकन गर्नेछन् भने उनलाई सम्मान गर्न लागिएको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले जनाए । ‘नेपाली क्रिकेटका लागि गरेको अमूल्य र निःस्वार्थ योगदानको कदर स्वरूप आइतबार हुन लागेको गाला डिनरमा पारसको सम्मान गरिन लागिएको छ,’ न्याभ अध्यक्ष उप्रेतीले भने, ‘मेलबर्नमा बोलाएर नेपाली क्रिकेटका रोल मोडल पारसलाई सम्मान गर्नु न्याभका लागि गर्वको विषय हो ।’

शान्ति, एकता र सद्भावका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको र त्यसैअनुरूप हरेक वर्ष क्रिकेटका एक हस्तीलाई न्याभ कपका दौरान सम्मान गरिने परम्पराको सुरुवात गरिएको उप्रेतीले जनाए ।

म्याक्सिम्याक एजुकेसनका प्रमुख कार्यकारी अधिकृत शंकर धरेलले भिक्टोरिया प्रान्तको नेपाली समुदायको न्याभ कपमा १२ टिमले सहभागिता जनाउनु आफैंमा इतिहास हो, जसका कारण नेपाली क्रिकेटलाई एउटा उचाइ दिएका पारस खड्का यस प्रतियोगितामा ल्याउन सकिएको र अगामी दिन यो अझ उच्चस्तरको हुने अपेक्षा लिएको बताए ।

फार वेस्टका केशव पन्तले सहज रूपमा प्रतियोगिता यहाँसम्म आइपुगेको जनाउँदै भने, ‘हामीले धेरै मिहिनेत गरेका छौं र त्यस हिसाबमा टिमले पनि राम्रो खेलिरहेको छ, त्यसैले फाइनल पनि जित्नेछौं । सुदूरपश्चिमकै खेलाडीहरूको समूह भएकाले तयारी गर्ने गरेका छौं । त्यसैले हाम्रो तयारी राम्रो भएको छ । खेलाडीहरू पनि एकअर्कासँग भिजेका छौं ।’

नारे किंग्सका किरण कँडेल ९ वर्षको उमेरमा मेलबर्न आएका थिए । ‘१४–१५ वर्षको उमेरबाट न्याभ कप खेल्न लागेको र यहाँसम्म आइपुग्दा न्याभ कपले प्रत्येक वर्ष छुट्टै छाप छाडेको छ,’ उनले भने, ‘हामी उपाधिका लागि तयार रहेका छौं । पारस (दाइ) का अगाडि फाइनल खेल्न पाउँदा गौरव लागिरहेको छ । फाइनलसम्म आइपुग्नुको अर्थ अवश्य पनि टिमले केही गरिसकेको हो । अहिले हामी उपलब्ध भएकाहरू फाइनलको तयारीलाई प्रशिक्षण गरिरहेका छौं । फाइनलमा हामी एकता देखाउनेछौं ।’

प्रकाशित : चैत्र १०, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?