२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

पुलिसलाई १० स्वर्ण, विप्लव र मनीषा उत्कृष्ट

काठमाडौँ — नेपाल पुलिस क्लब १० स्वर्णसहित १५ पदक जितेर दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । अघिल्लो संस्करणमा पनि च्याम्पियन पुलिसले २ रजत र ३ कांस्य जितेको थियो । 

पुलिसलाई १० स्वर्ण, विप्लव र मनीषा उत्कृष्ट

शनिबार सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसाथ नेपाल एपीएफ क्लब दोस्रो तथा १ स्वर्ण, ५ रजत र ७ कांस्यका साथ आर्मी तेस्रो भए । सातै प्रदेश टिम भने स्वर्ण पदकविहीन भए ।

सातदोबाटोस्थित कराते एकेडेमी हलमा भएको प्रतियोगितामा वाग्ममती प्रदेश २ रजत र ५ कांस्य जितेर चौथो भयो । गण्डकीले समान २ रजत र २ कांस्य, लुम्बिनीले १ रजत र ३ कांस्य, सुदूरपश्चिमले १ रजत र १ कांस्य, कर्णालीले १ रजत, प्रदेश १ ले ६ कांस्य र मधेस प्रदेशले २ कांस्य पदक जितेका थिए ।

शनिबार ५ इभेन्टको फाइनल भयो । त्यसमा एपीएफले ३ र पुलिसले २ स्वर्ण जितेका थिए । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी पुलिसकी सुनीता महर्जन (६८ केजी मुनि) तौल र नवीन रसाइलीले ६७ केजी तौल समूहमा स्वर्ण जितेका थिए । वाग्मतीकी विनिता श्रेष्ठलाई हराउँदै सुनीताले स्वर्ण जितिन् । नवीनले फाइनलमा आर्मीका सन्नी चौलागाईंले हराएर स्वर्ण जितेका थिए ।

एपिएफकी मनीषा चौधरीले ५५ केजी, मोहम्मद शेखु आलमले ८४ केजीमुनि र सुवास घतानीले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । लुम्बनीकी वर्षा बुढामगरलाई हराउँदै मनीषाले स्वर्ण जितेकी हुन् । मोहम्मदले गण्डकीका विशाल थापा मगरलाई हराएर स्वर्ण जिते । सुवासले भने गण्डकी प्रदेशका सजोल बुढाथोकीमाथि जित पाए ।

महिलातर्फ एपीएफकी मनीषा चौधरी र पुरुषतर्फ पुलिसका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी भए । उनीहरूले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीलाई सांसद गगन थापा, वाग्मती प्रदेशका सांसद मीनकृष्ण महर्जन, आयोजक गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायत पुरस्कृत गरे ।


प्रकाशित : माघ २८, २०७९ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?