३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

महिनावारी र मानसिकता

जसरी रुघा लाग्दा रुमालले नाक पुछ्ने गरिन्छ, त्यसैगरी महिनावारी हुँदा प्याड लगाएर सुरक्षित हुन सकिन्छ । यो सामान्य प्रक्रियामा पनि महिलालाई ‘निषेध’ गर्नुपर्ने कस्तो बाध्यता हो ?
मञ्जु भट्ट

एक जना अछामकी बहिनी अहिले काठमाडौं बस्छिन् । कुरैकुरामा उनले महिनावारीको अनुभव सुनाइन् । ‘अछाम हुँदा सासूले महिनावारीका बेला छाउगोठमा सुत्न पठाउनुहुन्थ्यो । आफैं पानी सार्नुपर्दा छिटा पर्‍यो, लसपस भएर बिरामी भएँ, रिँगटा लाग्यो, सन्चो भएन भन्दै गनगन गर्नुहुन्थ्यो ।

महिनावारी र मानसिकता

अहिले उहाँ काठमाडौं आउनुभएको छ । मैले महिनावारी बार्ने गरेकी छैन । मैले नै पकाएको खानुहुन्छ । खै त बिरामी पर्नुभएको छैन । महिनावारी बार है भनेर उहाँले पनि भन्नुभएको छैन । बार्नेवाला कहाँ छु र अब ।’ उनले थप भन्दै गइन्, ‘म गाउँमा हुँदा महिनावारी भएका बेला मन्दिर गएँ, धामीझाँक्रीलाई छोएँ । पूजा कोठा पनि गएँ । घरमा कोही नहुँदा भान्छामा पनि गएँ । कसैलाई केही भएन त ! जसरी चोरी गर्नेले सजाय पाउँछ, त्यसैगरी यदि पाप गरेको भए मैले नै सजाय पाउनुपर्छ । सजाय भोग्न तयार छु । तर मलाई थाहा छ, महिनावारी हुनु कुनै पाप होइन ।’

सुदूरपश्चिमका महिलाले महिनावारी भएका बेला बार्नैपर्ने, छाउगोठ जानैपर्ने जुन चलन छ, त्यो सही या गलत भनेर धेरै बहस भइसके । छाउगोठ भत्काउनेसम्मका क्रियाकलाप भए तैपनि महिनावारी नबारी नहुने महिलाका समस्या ज्युँका त्युँ छन् । महिनावारी बार्नु हुँदैन भन्नेहरूले पनि आफ्नै घरबाट परिवर्तन ल्याउन सकेका छैनन् । गलत कुराको विरुद्ध दह्रो आवाज उठाएर त्यसको प्रतिकार गर्न सकेको देखिँदैन । महिनावारी मानेन भने अरूले के भन्लान् भन्ने डर मनबाट हट्न सकेको छैन । दुई/चार दिन छाउगोठ भत्काउने, त्यसपछि वर्षौंसम्म फर्केर पनि नहेर्ने, छाउगोठ भत्किएपछिका समस्या र परिवर्तनको बेवास्ता गर्ने हो भने छाउपडी प्रथा कहिल्यै हट्ने छैन ।

पाँचचोटि प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको छरछिमेकमा नै यो प्रथा हट्न सकेको छैन । मेरै घर अछाममा छाउगोठ भत्काउने अभियान चलेका बेला घरको पहिलो तलामा बाहिरपट्टि सानो कोठामा सुत्ने अनुमति दिएका थिए । त्यतिखेर छाउगोठ पठाउँदा जरिवाना तथा सजाय हुने हल्ला चलेकाले सबै सतर्क भएका थिए । प्रहरीको डरले त्यतिखेर महिलालाई घरभित्र सुत्न दिए । तर, घरका सदस्य बिरामी परेनन्, गाईभैंसीले दूध दिन छाडेनन्, देउता रिसाएनन्, घरमा कुनै अनिष्ट भएन, सबै ठीकठाक चल्यो । जब प्रहरी सुस्ताए, छाउघर चाहिन्छ, छाउपडी बार्नुपर्छ भन्नेहरू जुर्मुराए । अहिले महिनावारी हुँदा छाउघर जानैपर्ने वा घरबाहिर सुत्नैपर्ने महिलाका बाध्यताहरू एकचोटि फेरि दोहोरिए ।

भारतसहित विदेशमा काम गरेर फर्केका पुरुषले तीसै दिन अरू महिलाले पकाएको खाना खान्छन् । तर श्रीमती, बहिनी, छोरी, बुहारीलाई महिनावारी हुँदा घरभित्र पस्न दिँदैनन् । यदि महिनावारी ठीकै हो भने सबैतिर एउटै हुनुपर्ने होइन ? के सुदूरपश्चिमका महिलाको महिनावारी अन्यको भन्दा फरक हो ? कहिले बुझ्लान् सुदूरपश्चिमेलीहरूले ? देशविदेश डुलेर आएकाहरूले आफ्नै घरबाट परिवर्तन ल्याउनु पर्दैन ?

रातको समयमा घरबाहिर पाल हालेर, कपडाले बेरेर वा छाउघरमा सुत्नु सुदूरका महिलाहरूका लागि अहिले बढी असुरक्षित छ । पहिले गाउँभरि, घरभरि मान्छे हुन्थे, गर्मीको समयमा त घरका सबै सदस्य आँगनमै लहरै ओछ्यान लगाएर सुत्थे । यस्तोमा महिनावारी भएकी महिलाको मनमा डर कम हुन्थ्यो । सर्प, किराफट्यांग्राले टोक्ने, यौनहिंसामा पर्ने डर त पहिले पनि छँदै थिए, अब भने बँदेल, चितुवाजस्ता जंगली जनावरको पनि त्रास बढेको छ ।

मेरै घरछिमेकमा देशविदेश डुलेका शिक्षक, सरकारी कर्मचारी, डाक्टर, इन्जिनियर, प्रहरी, सेना, नेता, मन्त्री अनि महिलाको पक्षमा काम गर्ने एनजीओ, आईएनजीओ, संघसंस्थाका प्रतिनिधि छन् । अरूलाई महिनावारी बार्नु ठीक होइन भन्दै हिँड्नेहरू नै आफ्नो घरमा छोरीचेली, श्रीमतीलाई छाउगोठ पठाउँदा खुसी हुन्छन् । गाउँ अब धेरै सुविधासम्पन्न भइसकेको छ । यातायात, स्कुल, कलेज, अस्पताल, कार्यालय, बैंक तथा वित्तीय संस्था सबै छन् । मानिसका हातहातमा मोबाइल छन् । जसका कारण उनीहरू संसारका परिवर्तनका बारेमा बुझ्न, बोल्न तथा लेख्न सक्नेसमेत भइसकेका छन् । तैपनि महिनावारी भएकी महिलालाई ‘निषेध’ गर्नुपर्ने कस्तो बाध्यता हो ?

जसरी रुघा लाग्दा रुमालले नाक पुछ्ने गरिन्छ, त्यसैगरी महिनावारी हुँदा प्याड लगाएर सुरक्षित हुन सकिन्छ । के यो सामान्य प्रक्रिया होइन र ? आफूलाई केही हुने हो कि भन्ने भ्रम पालेर छाउगोठ पठाउनु महिलामाथिको अन्याय हो । महिनावारी पाप हो भन्ने मानसिकतालाई सबैले मन, मस्तिष्कबाट निकाल्न जरुरी छ । सचेत नागरिक सबैले छाउपडी जस्तो कुप्रथाबाट महिलालाई मुक्त गराउन सक्दो प्रयास गर्नुपर्छ ।

प्रकाशित : जेष्ठ २, २०८१ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?