कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पुष्पाको ढाका म्याराथन पदकमा ह्याट्रिक

बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२३
ध्रुव तुलाधर

काठमाडौँ — नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा लगातार पदक जितेर ह्याट्रिक गरेकी छन् । ढाकामा शुक्रबार भएको ढाका म्याराथन २०२३ मा पुष्पाले स्वर्ण पदक जितेकी छन् । प्रतियोगितामो उनको यो तेस्रो पदक हो । यसअघि सन् २०२१ मा स्वर्ण जितेकी पुष्पाले गत वर्ष २०२२ मा कांस्य जितेकी थिइन् ।

पुष्पाको ढाका म्याराथन पदकमा ह्याट्रिक

म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पाले २ घण्टा ४८ मिनेट ०२ सेकेन्डबाट स्वर्ण जितेकी हुन् । अघिल्लो दुई संस्करणमा भन्दा उनको टाइमिङ धेरै राम्रो हो । यद्यपि उनी आफ्नो टाइमिङप्रति भने खुसी भइनन् । किनकि पुष्पाको लक्ष्य २ घण्टा ४६ मिनेटभित्र दुरी पार गर्ने थियो ।

उनले स्वर्ण जितेपछि ढाकाबाट कान्तिपुरसँग भनिन्, स्वर्ण जित्दा एकदमै खुसी छु । त्यो पनि दोस्रोपल्ट जित्न सकें । मेरो २ घण्टा ४६ मिनेटमै दुरी पार गर्ने लक्ष्य थियो । तर, रुट अलि उकालो ओरालो भएकाले लक्ष्य पूरा गर्न सकिनँ ।’

उनले व्यक्तिगत टाइमिङ भने सुधार गरेकी छन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा म्याराथनबाट रजत पदक जित्दा उनले २ घण्टा ५० मिनेट ११ सेकेन्ड लगाएकी थिइन् । जुन राष्ट्रिय कीर्तिमान पनि हो । त्यसलाई सुधार्दै नयाँ कीर्तिमान राखेकामा भने पुष्पाले खुसी व्यक्त गरिन् ।

पहिलोपल्ट ढामा स्वर्ण जित्दा पुष्पाले २ घण्टा ५७ मिनेट ३५ सेकेन्ड लगाएकी थिइन् ।

एपीएफ क्लबबाट खेल्ने पुष्पाले नवौं राष्ट्रिय खेलकुदमा भने चोटका कारण बीचमै म्याराथन दौड छाडेकी थिइन् । नवौं राष्ट्रिय स्वर्ण जितेकी विन्द्राधान्के श्रेष्ठ भने ढाकामा कांस्य पदक जित्न सफल भइन् । ३७ वर्षीया धाविका विन्द्राले २ घण्टा ५२ मिनेट ३२ सेकेन्डमा दुरी पार गरेकी थिइन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

उनीभन्दा अगाडि श्रीलंकाकी मधुमली परेरा २ घण्टा ४८ मिनेट २२ सेकेन्डकी रहिन् । पुष्पाले ५ लाख र विन्द्राले ३ लाख बंगलादेशी टाँका पुरस्कार पाएका छन् ।

पुरुषतर्फ सहभागी नेपाली धावक सन्तोषविक्रम विष्ट भने चौथो स्थानमा रहे । दक्षिण एसियाली प्रतिस्पर्धामा भारतीय धावकले वर्चस्व राख्दा सन्तोषले २ घण्टा २४ मिनेट ०३ सेकेन्डमा दुरी पार गरेका थिए । पहिलो भएका भारतीय धावक विक्रम भरतसिं बंगरियाले २ घण्टा १८ मिनेट २८ सेकेन्डको टाइमिङ लिएका थिए ।

पुरुषतर्फ यसअघि किरणसिंह बोगटीले २०२१ र २०२२ मा प्रतिस्पर्धा गर्दा चौथो र पाँचौं स्थानमै रहेर दूरी टुंग्याएका थिए ।

पुरुष हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कांस्य जितेका छन् । १३ औं सागका स्वर्ण विजेता गोपीचन्द्रले १ घण्टा ६ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै कांस्य जिते । यस इभेन्टमा भारतका अभिषेक पालले १ घन्टा ५ मिनेट २९ सेकेन्डले स्वर्ण र गुल्भर सिंहले १ घन्टा ५ मिनेट ३३ सेकेन्डबाट रजत जितेका थिए । स्वर्ण र रजत जित्नेको भागमा २ र १ लाख ५० हजार टाँका पर्दा गोपीले १ लाख टाँका पुरस्कार जितेका छन् ।

भारतीय खेलाडी हाबी भएको महिला हाफ म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ चौथो भइन् । राजपूरा पछाईं पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहे ।

ढाका म्याराथन र हाफ म्याराथनमा नेपालबाट यसपालि सबैभन्दा धेरै १० खेलाडीले सहभागिता जनाएका थिए ।

प्रकाशित : माघ ६, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?