दुई आयोगसँग विवरण माग

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) तथा बेपत्ता छानबिन आयोगले हालसम्म गरेको कामको विवरण माग गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले संक्रमणकालीन न्याय व्यवस्थापनका लागि बनेका दुवै आयोगका अध्यक्षलाई बुधबार कार्यकक्षमै बोलाएर विवरण लिखित रूपमै माग गरेका हुन् । ‘माघ २६ गते दुवै आयोगको म्याद सकिँदै छ,’ आयोगका अध्यक्ष शर्माले भने, ‘त्यसअघि सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगले के गर्दैछन् ? हालसम्म के गरे ? त्यसको विवरण हामीले माग गरेका हौं ।’
मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकसँग शर्माले गरेको बैठकमा आयोगका तर्फबाट अर्का आयुक्त सुदीप पाठक पनि थिए । शर्माका अनुसार अर्काे साता दुवै आयोगले हालसम्म गरेका कामका विवरण मानव अधिकार आयोगमा बुझाउने छन् । ‘बुधबारको बैठक अनौपचारिक स्तरको थियो,’ मल्लिकले भने, ‘अर्काे बैठक तिनै आयोगका सबै पदाधिकारीसहितको हुनेछ र आउने दिनमा के कसो गर्ने भनेर छलफल परामर्श गरिनेछ ।’ दुवै आयोगमा गरी ६० हजारभन्दा बढी पीडितले उजुरी दिएका छन् । त्यसमाथि के कति छानबिन र अनुसन्धान भयो भन्ने चासो शर्माले राखेका थिए । ‘आयोगको म्याद सकिएपछि ती फाइल कहाँ राखिन्छन् भन्ने विषय निकै संवेदनशील हो,’ मानव अधिकार आयोगका आयुक्त पाठकले भने, ‘किनभने त्यसमा पीडितको गोप्यभन्दा गोप्य विवरण समावेश छन् जो सार्वजनिक भयो भने उनीहरूको सुरक्षामा ठूलो खतरा आइलाग्नेछ ।’ दुवै आयोगका अध्यक्षले म्याद सकिएपछि आफूहरूले निरन्तरता पाउन नसके आफूले संकलन गरेका उजुरीका फाइल शान्ति मन्त्रालयमा बुझाउने आफ्नो तयारीबारे आयोगलाई जानकारी गराएका थिए ।
‘त्यसो भयो भने ठूलो जोखिम उत्पन्न हुनेछ किनभने त्यसको गोपनीयता नष्ट हुनेछ,’ पाठकले भने, ‘त्यसो हुन नदिन के गर्न सकिन्छ भन्नेतर्फ हामीले सोच्नुपर्नेछ ।’
पीडितका उजुरी गोप्य रहने संयन्त्र तयार पारेर लामो समय जोगाउन सकिने प्रविधिमा सुरक्षितसाथ आयोगले राख्नुपर्ने निष्कर्ष अधिकारवादीहरूको छ । आयोगले त्यसमाथि चासो दिनुले ती फाइल सरकारको सट्टा आफैंले राख्दा बढी सुरक्षित र पीडितको सम्मान हुने निष्कर्षमा आयोग पुगेको छ । टीआरसी र बेपत्ता आयोग दुवैको म्याद सकिन लागेकाले संक्रमणकालीन न्याय असफल हुन लागेको टिप्पणी आयोगले हालै सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा गरेको छ ।