कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढाइ ठप्प

विराटनगर — बाढी पसेर विद्यालय क्षतिग्रस्त भएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । गत साताको भारी वर्षापछि विभिन्न नदी, खोला र नहरको विद्यालय पसेको हो । कतिपय विद्यालयमा बाढीबाट विस्थापितले आश्रय लिइरहेकाले पठनपाठन हुन सकेको छैन ।


पूर्वाञ्चलका दर्जनौं सामुदायिक विद्यालयमा क्षति पुगेको जानकारी आएको शिक्षा निर्देशनालयले जनाएको छ । निर्देशनालयले क्षतिको विस्तृत विवरण भने आइनसकेको बताएको छ । प्रारम्भिक तथ्यांकअनुसार सप्तरीमा एक–एक विद्यालय र मदरसा खोलाले कटान गरेका कारण पूरै नष्ट भएका छन् । ६५ वटा विद्यालयमा बाढीले आंशिक नोक्सानी पुगेको सप्तरीस्थित शिक्षा कार्यालयले जनाएको छ ।
मोरङका १ सय ६१ वटा विद्यालयमा बाढीले क्षति पुर्‍याएको सहायक शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले बताए । झापाका चार विद्यालय क्षतिग्रस्त बनेका छन् । बाढीले जलमग्न बनेका कतिपय विद्यालय परिसर र कक्षाकोठाको पानी पूरै सुकिसकेको छैन । 
कोठामा पानी पसेका कारण कम्प्युटर, पुस्तकालयका पुस्तक, शैक्षिक सामग्री, विद्यालयका कागजपत्र नष्ट भएका छन् । निर्माणाधीन भवनका बालुवा, गिट्टी, सिमेन्ट र रड जस्ता कच्चा पदार्थमा बाढीले नोक्सान पुर्‍याएको छ । कतिपय विद्यालयका पर्खाल भत्किएको, शौचालय क्षतिग्रस्त बनेको र फर्निचरसमेत बगाएको बुढाथोकीले बताए ।
सप्तरीमा ४, झापाका १० र मोरङका ५० वटा विद्यालयमा बाढीपीडितले आश्रय लिइरहेका छन् । बस्नै नसक्ने गरी भवनमा क्षति पुगेका विद्यालयमा अस्थायी रूपमा पढ्ने स्थानको व्यवस्था गर्ने प्रयास भइरहेको शिक्षा कार्यालयले जनाएका छन् ।
प्याब्सन मोरङका अध्यक्ष वासुदेव न्यौपानेका अनुसार बाढीले जिल्लाका निजी विद्यालय पनि प्रभावित बनेका छन् । अत्यधिक वर्षापछि विद्यालय परिसर जलमग्न बनेपछि एक साताका लागि बन्द गरिएका विद्यालय दुई दिनयता सञ्चालनमा आउन थालेका छन् । ‘मोरङका प्राय: सबै विद्यालय जलमग्न भएकाले समस्या परेको थियो,’ हिसान मोरङ अध्यक्ष बलराम पन्तले भने, ‘यसको प्रभाव कतिपय शिक्षालयमा अझै कायम छ ।’ मोरङमा प्याब्सन र एन प्याब्सनसँग आबद्ध ३ सय ३० निजी विद्यालय छन् । घरमा पानी पस्दा बालबालिकाका पाठ्यपुस्तक, कापी, कलमलगायत शैक्षिक सामग्री र पोसाक नष्ट भएका छन् । मोरङमा मात्र ५ हजार विद्यार्थीको पाठ्यपुस्तक, शैक्षिक सामग्री र पोसाक कामै नलाग्ने भएको शिक्षाले जनायो । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार मुलुकका विभिन्न क्षेत्रमा आएको बाढीबाट विद्यालयहरू क्षतिग्रस्त भएपछि करिब ८० हजार विद्यार्थी पढाइबाट वञ्चित भएका छन् । 

 

प्रकाशित : भाद्र ४, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?