कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसाइँसराइ चुनौती

कान्तिपुर संवाददाता

अर्घाखाँची — स्तरीय जीवनशैलीको खोजीले जिल्लाका पहाडी बस्तीबाट बसाइँ सर्ने क्रम रोकिएको छैन। सबैलाई टोलबस्तीमा मोटरबाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र सञ्चार सुविधा चाहिएको छ।

नगर र गाउँसभाले पहिलो बजेटमा यी पूर्वाधारका योजना आफ्ना नीति तथा कार्यक्रममा पारेका पनि छन्। अब कसरी बसाइँसराइ रोक्न सकिन्छ भन्ने चुनौती जनप्रतिनिधिलाई छ।

खेतबारी बाँझिएपछि खाद्यान्न उत्पादन घट्दो छ। गाउँमा राज्यको उपस्थिति नहुँदा सुविधा खोज्दै सहर झर्नेको लर्काे छ। यतिबेला बसाइँसराइ रोक्ने उपाय खोज्दै जनप्रतिनिधिले योजना बनाउन लागेका छन्। ५ वर्षभित्र उत्पादनमा आत्मनिर्भर गाउँ बनाउने नाराले पाणिनी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट अच्युत गौतम र उपध्यक्षमा एमालेबाट लक्ष्मी गौतमले चुनाव जिते। अच्युतसहित पोखराथोकमा रहेका एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका प्रमुख नेता मिलिजुली सञ्चालित फर्ममा ४ वर्षदेखि तरकारी, गोलभेडा र कुखुरा उत्पादन छ। केहीले रोजगार पाएका छन्। पालिकाको ८ वटै वडामा कृषि र पशुपालन सञ्चालन गरी समृद्ध गाउँ बनाउने लक्ष्य उनको छ। तर, भोट माग्दा गरेका वाचा पूरा गर्न चुनौती उत्तिकै छ। युवा जनशक्ति गाउँमा बर्सेनि घट्दो र बसाइँसराइको भने चिन्ता छ। रेमिट्यान्स र अन्य पेसा र व्यवसाय गर्नेले गाउँको बसाइँ छाडेका छन्। घर र खेतबारी बिक्री नभएपछि यत्तिकै छाडेर सहर झर्नेको लहर 
बढ्दो छ। भत्किनै आँटेका जीर्ण घर र बाँझो खेतबारी छन्। गाउँको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, यातायातभन्दा सहरकै सुविधा राम्रो मान्दै धेरैको ध्यान सहर केन्द्रित छ। ‘गाउँबस्तीमा पनि सहरको जस्तै विकास गर्नु जरुरी छ,’ उनले भने, ‘पशुपालन, कृषि, मसलाबाली र उत्पादन क्षेत्रमा आबद्ध गराएर बसाइँसराइ र बिदेसिने युवा जनशक्तिलाई रोक्न चुनौती छ।’ बाह्रै महिना यातायातको सुविधा, गुणस्तर शिक्षा र घरमै बसेर महिनाको १५/२० हजार रुपैयाँ आम्दानीको उपायसहित पूर्वाधार विकास नगरे गाउँ रित्तिने सम्भावना रहेको लक्ष्मीले बताइन्।
गाउँमा बिजुली, सञ्चार, यातायात, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास नपुगेको होइन। तर, धेरैको मन सहरतिरै लोभिन्छ। बसाइँ सरेका भन्छन्, ‘सहरजस्तो गाउँ हुँदैन।’ ‘भोट माग्न टोलसम्म पुग्दा बस्ती छाडेको देख्दा चिन्तित छु,’ शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘मोटरबाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, सञ्चार र पूर्वाधार विकास राम्ररी पुगेको छैन। बसाइँसराइ रोक्न गाउँ बस्तीमा विकास पुर्‍याउनु चुनौती छ।’ नगरको १४ वडाको सबै बस्तीका सडक वर्षा सुरु भएसँगै बिग्रने र भत्किने गरेकाले कतै पनि गाडी चल्दैनन्। स्कुल पढ्न विद्यार्थीलाई घन्टौं पैदल हिँड्नुपर्छ। बिजुुलीका पोल ठडिएको वर्षौं भयो, तार टाँगिएको छैन। बिरामीलाई स्वास्थ्य संस्थामा लैजान घन्टौं पैदल हिँड्नुपर्ने भएकाले उपचार पाउन कठिन रहेको अधिकारीले बताए। ‘पाँच स्थानीय तहमध्ये विकासमा सबैभन्दा पछाडि परेको छ,’ उनले भने, ‘सडक, खानेपानी, बिजुलीसहित विकास पहिलो प्राथमिकतामा राखेको छु। विकास भएपछि बसाइँसराइ रोकिएला।’ 
जिल्लामा पशुपालन र मसलाबालीको सम्भावना धेरै छ। रुपन्देही, कपिलवस्तु र दाङसँग सिमाना जोडिएकाले पर्यटनको पनि सम्भावना पनि उत्तिकै छ। जटिल भूगोलले विकासमा चुनौती पनि उस्तै छ। युवा विदेश र छोराछोरी राम्रो निजी स्कुलमा पढाउन परिवार सहरमा डेरा गरी बस्ने धेरै छन्। ‘पैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउँ फर्कंदैन,’ पूर्वजनप्रतिनिधि एवं एमाले जिल्ला सचिवालय सदस्य पीताम्बर भुसालले भने, ‘आर्यआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म राज्यको उपस्थिति जनप्रतिनिधिले देखाउनुपर्छ। बसाइँसराइ रोक्ने उपाय यही नै हो।’ सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन्, अनुसन्धान गरी सुविधाको व्यवस्थापन र सेवा उपलब्ध गराउनमा जोड दिनुपर्छ,’ उनले भने। 
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले यत्तिकै खेर गइरहेका सिस्नो, अमला, टिमुर, जडीबुटीलाई आम्दानीको स्रोत बनाएर पढेलेखेका युवा स्वरोजगार दिलाउने बताए। शिक्षित व्यक्तिलाई उत्पादनमूलक व्यवसायमा भुलाउन सके बसाइँसराइ रोकिने उनले दाबी गरे। ‘रेमिट्यान्सको पैसा घरघडेरी र विलासिताका वस्तुमै सकिएको छ,’ उनले भने, ‘उत्पादनमूलक वस्तु, कृषि र पशुपालनमा सेयर लगानीको वातावरण बनाउन योजना बनाउँदै छु। ५ वर्षमा समृद्ध, सहकारीमार्फत आर्यआर्जन आत्मनिर्भर बनाउने र गाउँमै बस्न मन पराउने वातावरण मिलाउने उनले बताए। कहाँ के हुन्छ माटो परीक्षण गर्ने त्यसपछि फलफूल, तरकारी, जडीबुटी, अन्न उत्पादन, पशुपालनमा बिमा गरी आम्दानीको स्रोत बनाएपछि बसाइँसराइ घटाउने उनले बताए। सबै टोलमा बिजुली र सञ्चार सुविधा छ। बाह्रै महिना चल्ने मोटरबाटो, आउँदो शैक्षिक सत्रबाट शिक्षक, कर्मचारी र जनप्रतिनिधिसहित सबै सर्वसाधारणले आफ्ना छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने नियम बनाउने उनले बताए। 
छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेलले सबै स्कुलमा अंग्रेजी माध्यमको पढाइलाई जोड दिएका छन्। भूगोलका हिसाबले मिलेको र विकासमा अगाडि रहेको गापा छत्रदेव हो। सिंहदरबारको अधिकार गाउँमा आयो भनेर नेताले भाषणा गरेका छन्। त्यो व्यवहारमै लागू हुनुपर्नेमा सर्वसाधारणको अपेक्षा छ। 

प्रकाशित : श्रावण १४, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?